ट्रान्सफर स्टेसनमा फोहोर जम्मा गर्न नदिन टेकुवासीको अवरोध
एक महिनादेखि काठमाडौंका मुख्य सडकमा थुप्रिएको फोहोर उठ्न अझै एक साता लाग्ने भएको छ । पछिल्लो चार सातादेखि काठमाडौंका मुख्य सडक कलंकी, कालीमाटी, सोल्टीमोड, बानेश्वर, बागबजार, पुतलीसडक, रत्नपार्क क्षेत्रका सडकमै फोहोर थुप्र्रिएका छन् । ती फोहोर उठ्न एक साता लाग्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
हाल उपत्यकाका विभिन्न ठाउँमा थुप्रिएको फोहोर सोमबारदेखि उठ्न थालेको छ । तर, झन्डै दुई साताअघिदेखि थुप्रिएको फोहोर उठ्न एक साता लाग्ने भएको हो । ‘उपत्यकाको फोहोर उठ्न थालेको तीन दिन भयो । अहिले कुनै पनि समस्या छैन । तर, दुई साताभन्दा धेरै दिन सडकमा थुप्रिएको फोहोर उठ्न कम्तीमा एक हप्ता लाग्छ,’ महानगरअन्तर्गत वातावरण विभागका प्रमुख सरिता राईले भनिन् ।
ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले काम गर्न आलटाल गरेपछि स्थानीयले पासाङल्हामु राजमार्ग अवरोध गरेका कारण सिसडोलसम्म फोहोर लैजान नसक्दा उपत्यकाका सडकमा फोहोर थुिप्रएको हो । पछिल्लोपटक ११ वैशाखदेखि फोहोर उठ्न सकेको छैन । ठेकेदार कम्पनीले आठ वर्षअघि सम्बन्धित निकायको ठेक्का सम्झौता गरी कार्य सुरु गरे पनि सम्झौता अवधिमा कार्य सम्पन्न नगरी कार्य अधुरो राखेको, बाटोमा सामान्य हिँडडुल गर्नसमेत कठिन भएको, दैनिकजसो मोटरसाइकल दुर्घटनामा पर्ने गरेको र बाटो स्तरोन्नतिको कार्य गर्न भनी सम्बन्धित पीडित पक्ष र सरोकारवाला निकायसँग पटक–पटक समाधानका लागि वार्ता गरे पनि समाधान नगरेको भन्दै स्थानीयले सडक अवरोध गरेका थिए ।
उपत्यकाको फोहोर नुवाकोटको ककनी गाउँपालिका–२, सिसडोल पु¥याउन यही राजमार्ग प्रयोग गर्नुपर्छ । ठेकेदारको बदमासीविरुद्ध १ फागुनदेखि आन्दोलनमा उत्रिएका स्थानीयले सडक अवरुद्ध गरेका थिए । जसकारण काठमाडौंको फोहोर उठ्न बारम्बार अवरोध पुग्ने गरेको छ । काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । काठमाडौं महानगरका अनुसार एकै दिन हजारदेखि १२ सय टनसम्म फोहोर उत्पादन हुन्छ ।
टेकुमा अवरोध
मुख्य सडकका फोहोर तीन दिनदेखि उठ्न थाले पनि टेकु ट्रान्सफर स्टेसनवरपरका स्थानीयले फेरि अवरोध गर्न थालेका छन् । ट्रान्सफर स्टेसनवरपरका स्थानीयले स्टेसनमा फोहोर थुपार्दा वरपर दुर्गन्ध फैलिएको भन्दै १ जेठदेखि ट्रान्सफर स्टेसनमा फोहोर लैजान अवरोध गरेका छन् । ट्रान्सफर स्टेसनमा काठमाडौंका विभिन्न गल्लीमा थुप्रिएका फोहोरलाई केही समयका लागि व्यवस्थापन गरिन्छ । ‘टेकुका स्थानीयले फोहोरका कारण दुर्गन्ध फैलियो भनेर १ जेठदेखि साना सवारीलाई ट्रान्सफर स्टेसन जान दिएका छैनन् । हामीले स्थानीयसँग छलफल गरिरहेका छौँ,’ प्रमुख राईले भनिन्, ‘ट्रान्सफर स्टेसनमा फोहोर जम्मा गर्न नपाउँदा सडकमा धेरै फोहोर देखिएको हो । आजकल फोहोर अवरोध गर्ने पनि फेसनजस्तै भइसक्यो ।’
अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नै नउठ्ने
महानगरपालिकाभित्र बसोवास गर्नेले अबदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । फोहोरमैला व्यवस्थापनका लागि भन्दै महानगरपालिकाले फोहोर नछुट्याए घर वा कार्यालयको फोहोर नउठाइने र कानुनबमोजिम कारबाही पनि गरिने जनाएको छ । ‘हामीले १ वैशाखदेखि नै घर, कार्यालयको फोहोर छुट्याउनका लागि सूचना जारी गरिसकेका छौँ । यो योजनालाई अगाडि बढाउन हामी अहिले थप छलफलमा छौँ,’ विभागकी प्रमुख राईले भनिन् । फोहोर वर्गीकरण गर्नाले वेलावेलामा देखिने फोहोर नउठ्ने समस्यामा कमी आउने महानगरले आकलन गरेको छ ।
महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२, १ र २ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ को १ र २ को व्यवस्थाअनुसार १ वैशाखदेखि स्रोतमै फोहोरको पृथकीकरण गर्न भनेको हो । उक्त व्यवस्थाअनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरण गरी जैविक फोहोर संकलन गर्न आउने दिन जैविक र नकुहिने फोहोर मात्रै संकलन गर्न आउने दिन नकुहिने फोहोर मात्रै संकलन गर्ने भएको छ ।
‘घरमै वा कार्यालयमै फोहोर नछुट्याए र महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ को थ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना हुनेछ,’ राईले भनिन्, ‘कुन दिन कुहिने र कुन दिन नकुहिने फोहोर लिन आउँछौँ भन्ने सूचना केही दिनमै जारी गर्नेछौँ । यसका लागि उपत्यकाका अरू स्थानीय तहसँग पनि छलफल गरिरहेका छौँ ।’