मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Wednesday, 18 December, 2024
नवदीप अजनवी नुवाकोट
२o७९ जेठ ४ बुधबार o६:५३:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

नुवाकोटका तीन पालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार o६:५३:oo

नुवाकोटका तीन स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा दुप्चेश्वर, पञ्चकन्या र ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन् । मंगलबार राति सम्पन्न मतगणनामा पञ्चकन्या गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । यसअघि अध्यक्ष मात्र माओवादीबाट निर्वाचित भएका थिए ।
 
नेकपा माओवादी केन्द्रका तेजबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । उनी दोस्रोपटक अध्यक्ष भएका हुन् । तामाङ चार हजार तीन सय ५४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका माधवप्रसाद खनालले तीन हजार नौ सय ७४ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका विमला केसी चार हजार सात मत ल्याएर निर्वाचित भएकी छिन् । उनकी निटकतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सलिना केसीले तीन हजार सात सय ४९ मत ल्याएकी छिन् । यो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । 

यस्तै, ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रले जित निकालेको छ । ०७४ सालमा जिल्लामा एक मात्र अध्यक्ष उपाध्यक्ष माओवादीबाट जितेको पालिका ककनीमा यसपटक पनि दुवै पदमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका सुमन तामाङ चार हजार नौ सय नौ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज घिमिरेले चार हजार ९८ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मिठुमाया तामाङले चार हजार एक सय ७४ मत ल्याएर निर्वाचित भएकी छिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी प्रमिशा तामाङले तीन हजार आठसय ३० मत ल्याएकी छिन् । ककनीमा पनि नेकपा माओवादी केन्द्र र नेकपा एसबीच चुनावी गठबन्धन भएको थियो ।     

यस्तै, दुप्चेश्वर गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका शंकर थापामा चार हजार चार सय ७३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले तीन हजार चार सय ५० मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी माकुरी तामाङले चार हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अञ्जु आचार्यले तीन हजार ६ सय ३५ मत ल्याएकी छिन् ।

हालसम्म नौ स्थानीय तहको परिणाम आइसकेको छ । माओवादी केन्द्रका उपाध्यक्षमा उम्मेदवारहरू थप तीन पालिकामा निर्वाचित भएका छन् । किस्पाङको उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन न्यौपाने, तादीको उपाध्यक्षमा माओवादी केन्द्रकी सञ्जुप्याकुरेल र तारकेश्वरको उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल निर्वाचित भएका छन् ।