दाङको बबई गाउँपालिकामा कांग्रेसले विजयी हासिल गरेको छ । कांग्रेसका कुलबहादुर खत्री ६ हजार ६ सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका भुवनेश्वर पौडेलले पाँच हजार तीन सय ३८ मत ल्याएका थिए । उनीहरूबीच एक हजार दुई सय २७ मतान्तर रहेको छ ।
त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै बमकुमारी खड्काले ६ हजार चार सय मत ल्याएर विजयी बनेकी छिन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी सावित्रा विकले पाँच हजार चार सय १४ मत प्राप्त गरेकी छिन् । उनीहरबीचको मतान्तर नौ सय ८६ रहेको छ ।
एमालेका अध्यक्ष र उपाध्यक्ष दुवै उम्मेदवार ०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी भएर आफ्नो कार्यकाल पूरा गरेका उम्मेदवार हुन् ।
त्यस्तै, माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार भीमबहादुर वलीले दुई हजार २८ मत ल्याएका थिए भने उपाध्यक्ष पदका उम्मेदवार अञ्जु घर्तीले दुई हजार दुई सय ५६ मत ल्याएकी थिइन् । बबईमा २२ हजार एक सय ४४ मतदाता रहेकोमा १५ हजार चार सय २४ मत खसेको थियो ।
एमालेले वडा पनि गुमायो
बबईका सातवटा वडामध्ये एमाले अघिल्लो चुनावमा पाँचवटा वडा जित्न सफल भएको थियो । १, ३, ४, ५ र ६ नम्बर वडा जितेकोमा अहिले १, ३ र ४ मा जित्न सफल भए पनि ५ र ६ नम्बर वडा गुमाएको छ । ४ नम्बर वडामा एमालेका टेकबहादुर वली दोहोरिएका छन् भने ६ नम्बरमा एमालेका रामबहादुर डाँगी दोहोरिन खोजे पनि उनले हार व्यहोरे । एमालेले गुमाएका ५ र ६ नम्बर वडामा कांग्रेसले कब्जा जमाउन सफल भएको छ ।
अघिल्लो चुनावमा एउटा मात्रै वडा जितेको कांग्रेसले अहिले भने चारवटा वडा जित्न सफल भएको छ । २ नम्बर वडा यसअघि नै कांग्रेसले जितेको हो । त्यस्तै, स्वतन्त्रले जितेको ७ नम्बर वडा पनि कांग्रेसले नै जित्न सफल भएको छ । माओवादीले भने बबईमा कुनै पनि वडा जित्न सकेन ।