रोल्पाको माडी गाउँपालिका र सुनिल स्मृति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन्। माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रका अमरसिंह घर्ती गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।
अमरसिंहले ३ हजार ८ सय ३० मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका एमालेका विजय घर्तीमगरले ३ हजार ३ सय ७१ मत प्राप्त गरी पराजय व्यहोरेका छन्।
त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी जयपुरी घर्ती ३ हजार ९ सय ६६ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका कृष्णबहादुर विकले ३ हजार ५० मत प्राप्त गरेका छन्।
त्यसैगरी सुनिल स्मृति गाउँपालिका अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार मनिराम बुढाथोकी ६ हजार ६२ मत प्राप्त गरेर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गन्जबहादुर क्षेत्रीले ३ हजार ८ सय ९३ मत प्राप्त गरी पराजित भएका छन्। उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की मीना थापा ६ हजार ३७ मत प्राप्त गरी विजयी भइन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी तेजकुमारी विष्टले ३ हजार ४ सय मत प्राप्त गरी पराजित भएकी छन्।