रोल्पा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार सुरेन्द्र थापा (घर्ती) सात हजार ६ सय तीन मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६ सय ५८ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा माओवादीकै गीता आचार्य सात हजार सात सय ४१ मत प्राप्त गरी विजयी भएकी छिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पा श्रेष्ठले तीन हजार सात सय १९ मत प्राप्त गरी पराजय व्यहोरेकी छिन् ।
१० वटा वडा रहेको रोल्पा नगरपालिकाका नाैवटामा माओवादीको प्यानलै विजयी भएको छ भने वडा नम्बर ३ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । माओवादी केन्द्रले जितेका वडाहरुमा क्रमशः १ मा खुमबहादुर थापा, २ मा प्रकाश डाँगी, ४ मा मित्रलाल गुरुङ, ५ मा टोपबहादुर नेपाली, ६ मा तुलबहादुर घर्तीमगर, ७ मा लालबहादुर घर्तीमगर, ८ मा हर्कबहादुर डाँगी, ९ मा मीमबहादुर घर्तीमगर र १० मा मतिलाल डाँगी रहेका छन् ।
नगरपालिकाको मेयरमा नेकपा एमालेका घनश्याम आचार्यले पाँच सय २४, राप्रपाका गन्जबहादुर शाहीले एक सय ७८ र स्वतन्त्रबाट विर्षमन रोका २४ मत प्राप्त गरी पराजय भएका छन् भने उपमेयरमा एमालेबाट कृष्णीकुमारी गौतम चार सय १९ र राप्रपाका खुशमाली डाँगी एक सय १४ मत प्राप्त गरी पराजित भएका छन् ।