स्वतन्त्र र बागी उम्मेदवारी दिएर वडाध्यक्षमा जित्नेको संख्या बढ्दो
स्थानीय तहको निर्वाचनको सुरुवाती रुझानमा स्वतन्त्र उम्मेदवारप्रति पनि आकर्षण देखिएको छ । राजधानीसमेत रहेको काठमाडौं महानगरमा बालेन्द्र शाह (बालेन) र धनगढी उपमहानगरमा गोपाल हमालले अग्रता कायमै राखेका छन् । मनोजकुमार साह सुडीले जनकपुरधाम उपमहानगरमा अग्रता लिइरहेका छन् । सत्तागठबन्धनले जसपाका लालकिशोर साहलाई उम्मेदवार बनाएपछि असन्तुष्ट उनले पार्टी परित्याग गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
महोत्तरीको बर्दिवास नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्रीले अग्रता लिएका छन् । गठबन्धनले कांग्रेसका चिरञ्जीवी हमाललाई प्रमुखको उम्मेदवार बनाएपछि क्षेत्रीले बागी उम्मेदवारी दिएका हुन् । उनले मतगणनामा अग्रता लिइरहेका छन् । महानगर र उपमहानगरको नतिजा आउन बाँकी नै रहेको र अन्य पालिकामा (हालसम्म प्राप्त नतिजा)मा स्वतन्त्र र बागीले जित हासिल गरिनसके पनि वडाध्यक्ष र सदस्यमा भने जितेका छन् ।
जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा धनबहादुर कामी तथा वडा सदस्यमा गोल दमाई र कर्णजित सार्की निर्वाचित भएका हुन् । महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्लेले जितिन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजयी भइन् । धनबहादुर दुई सय ८८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका कप्तानबहादुर शाहीले दुई सय २० मत मात्र पाए । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रूपमा धनबहादुरलाई अघि सारेका थिए । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । संघीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्वविना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरूले दलको टिकट लिएनन् ।
ललितपुर : ललितपुर महानगरपालिका–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन् । तण्डुकार ६ सय ६१ मतसहित विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका ध्रुव तण्डुकारले चार सय २५ मत मात्र पाए । महानगरपालिकामा २९ वडा छन् ।
रुकुम पश्चिम : त्रिवेणी गाउँपालिका–१ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुन्दर ओली निर्वाचित भएका छन् । ओलीले पाँच सय ७७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका लक्ष्मण ओलीले चार सय १७ मतमा चित्त बुझाए ।
कैलाली : गोदावरी नगरपालिका–११ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला विजयी भएका छन् । उनी एक हजार ७० मतसहित विजयी हुँदा प्रतिस्पर्धी एकीकृत समाजवादीका शिव विकले पाँच सय ६९ मत मात्र पाए । बडैलाले खरायो चुनावचिह्न लिएर चुनाव लडेका थिए ।
दैलेख : भैरवी गाउँपालिका–४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार चक्रप्रसाद शर्मा विजयी भएका छन् । उनी पाँच सय ८० मतसहित विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका कमलबहादुर थापाले चार सय ३८ मत मात्र पाए ।
डडेल्धुरा : भागेश्वर गाउँपालिका–१ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट निर्वाचित भएका छन् । उनी तीन सय ५४ मतसहित विजयी भएका हुन् ।
बझाङ : बुङ्गल नगरपालिका–५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दीपक कुँवर विजयी भएका छन् । कुँवर ६ सय तीन मतसहित विजयी हुँदा एमालेका प्रयागराज धामीले दुई सय ७० मत मात्र पाए ।
लमजुङ : दूधपोखरी गाउँपालिका–३ मा स्वतन्त्र उम्मेदवार श्याम गुरुङ विजयी भएका छन् । उनी दुई सय २८ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा माओवादी केन्द्रका औतराम तामाङले दुई सय २४ मत ल्याएर पराजित भए ।
दोलखा : तामाकोसी गाउँपालिका–२ झुलेको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ईश्वरराज कार्की विजयी भएका छन् । उनले पाँच सय ५२ मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका मीनबहादुर तामाङले तीन सय ६४ मत ल्याए । कार्कीसहित स्वतन्त्रबाट उम्मेदवारी दिएका वडा सदस्य नानीकाजी तामाङ, महिला सदस्य इन्दिरा कार्की, दलित महिला सदस्य संगीता विक निर्वाचित भएका छन् । एमालेबाट वडा सदस्यमा नरबहादुर कार्की निर्वाचित भएका छन् ।
जहाँ दलका बागी उम्मेदवारले जिते
काठमाडौं : बुढानीलकण्ठ नगरपालिका–३ को वडाध्यक्षमा कांग्रेसका बागीले जितेका छन् । आकाश धिताल पाँच सय १२ मतसहित विजयी हुँदा एमालेका राजेन्द्र खड्काले चार सय ७४ मत पाए । कांग्रेसका नवराज भण्डारीले तीन सय १२ मत मात्र पाए ।
काभ्रे : नमोबुद्ध नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका बागी उम्मेदवार प्रेम लामा निर्वाचित भएका छन् । उनी पाँच सय ५६ मतसहित विजयी हुँदा एमालेका निरोज पाण्डेले चार सय ४७ मत पाए । कांग्रेसले टिकट नदिएपछि लामा पार्टी परित्याग गरेर वडाध्यक्षमा लडेका थिए । तर, कांग्रेसका उम्मेदवार गणबज्र लामाले जम्मा दुई सय आठ मत पाएर तेस्रो बने । प्रेम प्यानलसहित चुनावमा होमिएका थिए ।
दाङ : शान्तिनगर गाउँपालिका–२ को वडाध्यक्षमा २७ वर्षीय सुनील वली विजयी भएका छन् । उनी ६ सय २९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी माओवादीका ठाकुरप्रसाद केसीले पाँच सय ९७ र कांग्रेसका टोपेन्द्रकुमारी खड्काले तीन सय ५१ मत पाइन् । बागी उम्मेदवारी दिएको भन्दै वलीलाई कांग्रेसले कारबाही गरेको थियो ।
हुम्ला : चंखेली गाँउपालिका–५ को वडाध्यक्षमा माओवादी केन्द्रका बागी उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रबाट असन्तुष्ट भएर बागी उम्मेदवारी दिएका हर्कधन तामाङ ९५ मत ल्याएर विजयी भएका हुन् ।
महोत्तरी : बर्दिबास नगरपालिका–७ मा गठबन्धनलाई हराएर कांग्रेसका बागी विजयी भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रले टिकट पाएपछि बागी बनेका राम स्वगारथ यादव ‘भोरिल’ एक मतान्तरले विजयी भएका हुन् । यादव सात सय २७ मतसहित विजयी हुँदा गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार सिंहले सात सय २६ मत मात्र पाए ।
रुपन्देही : बुटवल उपमहानगरपालिका–१ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । गठबन्धनबाट एकीकृत समाजवादीले टिकट पाएपछि स्वतन्त्र उम्मेदवारी दिएका बस्नेत विजयी भएका हुन् । एमालेका महेन्द्र लिगल दोस्रो र गठबन्धनका आधिकारिक उम्मेदवार माधव प्रधान तेस्रो बने ।
अछाम : कमलबजार नगरपालिका–१ को वडाध्यक्षमा भक्तबहादुर बोहरा विजयी भएका छन् । कांग्रेसको टिकट वितरणमा असन्तुष्ट समूहबाट उम्मेदवारी दिएका बोहरा तीन सय २९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका तेजबहादुर विष्टले दुई सय ८४ मत मात्र पाए ।