मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Thursday, 19 December, 2024
२o७९ जेठ २ सोमबार o७:o९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला टोली युगान्डाविरुद्ध आज सिरिज खेल्दै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार o७:o९:oo

तीन वर्षपछि घरेलु भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खेलाडी उत्साहित

नेपाली महिला क्रिकेट टोलीको इतिहास त्यति लामो छैन । सन् २००७ मा मलेसियामा भएको एसिसी महिला च्याम्पियनसिपमा नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय क्षेत्रमा पाइला राखेको हो । १५ वर्षको इतिहासमा नेपालले धेरै विदेशी भूमिमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलिसकेको छ । यसबीचमा नेपाली महिला टोलीले एकपटक पनि घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज खेलेको छैन । नेपाली महिला टोलीले सोमबारदेखि पहिलोपटक घरेलु मैदानमा युगान्डाविरुद्ध सिरिज खेल्दै छ । 

नेपालले सन् २०१९ मा टेस्ट मान्यताप्राप्त बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो । सन् २०१९ मा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत क्रिकेट स्पर्धामा नेपालले पोखरामा टी–२० खेल खेलेको थियो । सागमा नेपालले कांस्य पदक जितेको थियो । नेपालले माल्दिभ्सलाई १० विकेटले हराउँदै कांस्य हात पारेको हो । नेपाली महिला टोलीले विदेशी टोलीलाई निमन्त्रण दिँदै घरेलु भूमिमा सिरिज भने खेलेको थिएन ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाली महिला खेलाडी अन्तर्राष्ट्रिय टी–२० सिरिजमा सहभागी हुँदै छन् । दक्षिण अफ्रिकी मुलुक युगान्डाविरुद्धको टी–२० सिरिज महिला टोलीका लागि ऐतिहासिक सिरिज हुनेछ । नेपालले युगान्डाविरुद्ध पाँच टी–२० सिरिज खेल्न लागेको हो । 

तीन वर्षपछि घरेलु भूमिमा अन्तर्राष्ट्रिय खेल खेल्न खेलाडी निकै उत्साहित छन् । युगान्डाविरुद्धको टी–२० सिरिज नेपाली खेलाडीको दोस्रो अन्तर्राष्ट्रिय सिरिज हुनेछ । गत मंसिरमा नेपालले कतारविरुद्ध सिरिज खेलेको थियो । सो सिरिज नेपालले ‘क्लिन स्विप’ गरेको थियो । 

सो सिरिजमा प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा नेपाली टोलीले प्रतिस्पर्धा गरेको थियो । नेपालले कतारलाई पहिलो टी–२० खेलमा ११९, दोस्रोमा ६१ तथा तेस्रो खेलमा १०९ रनको अन्तरले  हराएको थियो । 

वरीयतामा नेपाल माथि
आइसिसी टी–२० महिला वरीयतामा नेपाल युगान्डाभन्दा माथि छ । आइसिसीको पछिल्लो वरीयताअनुसार नेपाल १६औँ स्थानमा छ । युगान्डा भने १९औँ स्थानमा छ । नेपालको १२६ तथा युगान्डाको १०४ रेटिङ अंक छ । युगान्डा महिला क्रिकेट टोलीले नेपालभन्दा एक वर्षअघि अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो । सन् २००६ मा युगान्डाको राष्ट्रिय महिला टोलीले केन्याको ए टोलीविरुद्ध अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । 

एकै वर्ष टी–२० मान्यता
आइसिसीले सन् २०१८ मा नेपाल र युगान्डालाई अन्तर्राष्ट्रिय टी–२० राष्ट्रको मान्यता प्रदान गरेको थियो । सन् २०१९ मा नेपालले चीनमा अन्तर्राष्ट्रिय टी–२० खेलमा ‘डेब्यु’ गरेको थियो । टी–२० मान्यता प्राप्त गरेपछि नेपालले सन् २०१९ मा थाइल्यान्ड महिला टी–२० स्म्यासमा सहभागिता जनायो । प्रतियोगिताको फाइनलमा नेपाल थाइल्यान्डसँग ७० रनले पराजित भयो । 

नेपाली महिला टोलीले अहिलेसम्म २२ अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा नेपालले १७ जित तथा पाँचमा हारको सामना गरेको छ । अन्तर्राष्ट्रिय टी–२० नेपाल चीन, इन्डोनेसिया, कुवेत, माल्दिभ्स र कतारसँग अपराजित छ । सन् २०१८ मा युगान्डाले पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० सिरिज स्कटल्यान्डविरुद्ध खेल्यो । युगान्डा महिला टोलीले मालीविरुद्ध कीर्तिमानी रूपमा तीन सय १४ रन खडा गरेको थियो । नेपालको तुलनामा युगान्डा निकै अनुभवी देखिन्छ । सन् २०१८ मा दक्षिण अफ्रिकी विश्वकप छनोटमा शीर्ष स्थानमा रहँदै युगान्डा विश्वकपमा छनोट भएको थियो । युगान्डाले अहिलेसम्म ३१ अन्तर्राष्ट्रिय खेल्दा १३ मा जित निकालेको छ । युगान्डा १८ अन्तर्राष्ट्रिय टी–२० खेलमा पराजित भएको छ । युगान्डाले सन् २०२२ को अप्रिलमा अन्तिमपटक नामिबियाविरुद्ध टी–२० खेल खेलेको थियो । 

इन्दु उपकप्तानमा नियुक्त
क्यानले आइतबार विज्ञप्ति जारी गर्दै इन्दु बर्मालाई उपकप्तानमा नियुक्त गरेको जनाएको छ । लामो टी–२० सिरिज खेल्दै छ । अलराउन्डर खेलाडी सीता रानामगरले नेपालको उपकप्तानी गर्दै आएकी थिइन् । अहिले सीता फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिताका लागि दुबईमा छिन् । सीता आबद्ध टोर्नाडोस फाइनल पुगिसकेको छ । 

नेपाली टोली
रुबिना क्षत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, सरिता रानामगर, कविता कुँवर, अप्सरी बेगम, अस्मिना कर्माचार्य, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, डोली भट्ट, हिरणमायी रोय, बिन्दु रावल

अस्मिमा र हिरणमायी पहिलोपटक टोलीमा
नेपाल क्रिकेट संघ (क्यान)ले युगान्डाविरुद्धको घोषणा गरेको टोलीमा अस्मिमा कर्माचार्य र हिरणमायी रोयलाई पहिलोपटक राष्ट्रिय टोलीमा समावेश गरेको छ । क्यानले रुबिना क्षत्रीको कप्तानीमा यसअघि नै टोली घोषणा गरिसकेको थियो । नेपालको टोलीमा अनुभवी खेलाडीको बाहुल्यता छ । नियमित खेलाडी रुबिना क्षत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, सरिता रानामगर, कविता कुँवर, अप्सरी बेगम तथा ज्योति पाण्डेले आफ्नो अनुभव युगान्डाविरुद्ध देखाउने अपेक्षा छ । 

नेपाली टोलीमा सीता रानामगर सफल ब्याट्सम्यानका रूपमा रहेकी छिन् । उनले सन् २०१९–०२१ सम्म २७.४३ औसतमा साथ ४३९ रन बनाएकी छिन् । यसैगरी, नयाँ उपकप्तान इन्दुले २६० रन तथा कप्तान रुबिनाले २२७ रन जोडेका छन् । ओपनर काजल श्रेष्ठले ९.८७ औसतमा १५८ रन बनाएकी छिन् । 

नेपाली टोलीमा सीता अलराउन्डर खेलाडीमा पर्छिन् । उनले तीन वर्षको अवधिमा सर्वाधिक २१ विकेट लिएकी छिन् । अन्तर्राष्ट्रिय टी–२० खेलमा रुबिनाले १९ विकेट हात पारेकी छिन् । नेरी थापा र करुणा भण्डारीले समान १७ विकेट लिएका छन् ।