१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नौ महिनामा सवा पाँच खर्बको उपभोग्य वस्तु आयात 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५४:oo

साढे १४ खर्बको कुल आयातमा उपभोग्य वस्तुको हिस्सा ३६ प्रतिशत, पुँजी निर्माण गर्नेको १० प्रतिशत मात्रै, आवधिक योजनाको लक्ष्यविपरीत उपभोग्य वस्तुमा परनिर्भरता अझ बढ्दो

उपभोग्य वस्तुमा नेपालको परनिर्भरता झन्–झन् बढ्दै गएको देखिएको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सरकारी नीति तथा घोषणाविपरीत उपभोग्य वस्तुको आयात बढ्न थालेको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो नौ महिनामा नेपालमा १४ खर्ब ६६ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ, जसमा उपभोग्य वस्तुको हिस्सा ३६.३ प्रतिशत रहेको देखिएको छ । यो नौ महिनामा नेपालमा पाँच खर्ब ३२ अर्ब रुपैयाँबराबरका उपभोग्य वस्तु आयात भएका छन् । जुन गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा एक खर्ब ४४ अर्ब ९२ करोड रुपैयाँले बढी हो । त्यस्तै, कुल आयातमा उपभोग्य वस्तुको हिस्साको दरसमेत १.५ प्रतिशत बिन्दुले बढी हो ।  

नौ महिनामा भएको कुल आयातमा कच्चा तथा अर्धतयारी वस्तुको हिस्सा ५३.२ प्रतिशत रहेको देखिन्छ । यो हिस्सा गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२ प्रतिशत बिन्दुले कमी हो । समीक्षा अवधिमा नेपालमा सात खर्ब ७९ अर्ब ९२ करोड रुपैयाँबराबरको कच्चा तथा अर्धतयारी वस्तुको आयात भएको छ । जुन गएको वर्षको सोही अवधिको तुलनामा ३१.३ प्रतिशत अर्थात् एक खर्ब ८५ अर्ब रुपैयाँले बढी हो । 

कुल आयातमा उपभोग्य वस्तुको हिस्सा बढ्दै जाँदा पुँजी निर्माण गर्ने वस्तुको हिस्सा भने घट्दै गएको देखिन्छ । यो नौ महिनामा एक खर्ब ५४ अर्ब ६७ करोड रुपैयाँबराबरको पुँजीगत वस्तु आयात भएको छ । यो कुल आयातको १०.५ प्रतिशतबराबर हो । कुल आयातमा पुँजी निर्माण गर्ने वस्तुको हिस्सा गएको वर्षको तुलनामा १.२ प्रतिशत बिन्दुले कमी हो । गएको वर्षमा कुल आयातमा पुँजीगत वस्तुको हिस्सा ११.७ प्रतिशत रहेको थियो । 

उपभोग्य वस्तु आयातकै वृद्धिदर सबैभन्दा बढी 
नेपालले उत्पादन वृद्धि गर्दै आयात विस्थापन गर्ने नीति लिएको छ । आयातमा उपभोग्य वस्तुको हिस्सा घटाउँदै लैजाने सरकारको नीति छ । तर, त्यसको ठीकविपरीत कुल आयातमा उपभोग्य वस्तुको हिस्सा भने अझ बढ्दै गइरहेको सरकारी तथ्यांकले नै देखाउँछ । कुल आयातको बढ्दो ग्राफमा उपभोग्य वस्तुको वृद्धिदर उच्च रहेको देखिन्छ । राष्ट्र बैंकका अनुसार उपभोग्य वस्तुको आयात वृद्धिदर ३७.४ प्रतिशत रहेको छ । जबकि पुँजीगत वस्तुको आयात वृद्धिदर १८.९ प्रतिशत मात्रै रहेको छ । कच्चा तथा अर्धतयारी वस्तुको आयात वृद्धिदर भने ३१.३ प्रतिशत रहेको छ । 

सवा तीन खर्बको कृषि वस्तु आयात, वृद्धिदर उच्च
चालू आर्थिक वर्षको नौ महिनामा नेपालमा तीन खर्ब ३० अर्ब ५१ करोड रुपैयाँबराबरको कृषिजन्य वस्तु (कृषि, वन, माछा, खाद्यान्न, पेय पदार्थ, चुरोटलगायत) आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.९ प्रतिशतले बढी हो । गएको वर्षको नौ महिनामा दुई खर्ब ६० अर्ब ३५ करोड रुपैयाँबराबरका कृषि वस्तु आयात भएका थिए । त्यसअघि आर्थिक वर्ष ०७६/७७ को आठ महिनामा नेपालमा दुई खर्ब ६ अर्ब ८० करोड रुपैयाँबराबरका कृषि वस्तु आयात भएका थिए । 

पन्ध्रौँ पञ्चवर्षीय योजना (०७६/७७–०८१/८१) भित्र खाद्यान्न, तरकारी र अत्यावश्यक उपभोग्य वस्तुको आयात १४.४ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । तर, लक्ष्यविपरीत आयातमा उपभोग्य वस्तुको हिस्सा अझ बढेको छ । 

ad
ad