मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २८ बुधबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख २८ बुधबार o७:५६:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अस्ताइन् सागकी स्वर्ण विजेता सञ्जु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २८ बुधबार o७:५६:oo

नेपालगन्जकी सञ्जु चौधरीले ०७६ मा पोखरामा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा दुर्लभ इतिहास रचेकी थिइन् । ३५ वर्षको साग इतिहासमा सन्जुले पहिलो नेपाली महिला खेलाडीका रूपमा ५९ केजी तौल समूहमा स्वर्ण पदक दिलाएकी थिइन् ।

फाइनलमा उनले श्रीलंकाली खेलाडीलाई हराएकी थिइन् । सागमा इतिहास रचेपछि सञ्जुले पछाडि फर्केर हेर्नुपरेन । राष्ट्रिय भारोत्तोलन खेलमा उनले लगातारजसो राष्ट्रिय कीर्तिमान आफ्नो नाममा राख्दै गइन् । यसपटक सञ्जुले चीनमा हुने १९औँ एसियन खेलकुद प्रतियोगितामा पनि राम्रो नतिजा निकाल्ने योनजाका साथ तयारी गरिहेकी थिइन् । एसियाडको बन्द प्रशिक्षणमा छानिएकी सन्जुले यसका लागि कडा मिहिनेत पनि गरिरहेकी थिइन् । 

‘चीनमा हुने एसियाडमा उत्कृष्ट नतिजा दिलाउने प्रयास हुनेछ,’ अक्सर बन्द प्रशिक्षणमा सन्जु आफ्ना साथीहरूलाई भन्ने गर्थिन् । अझ एसियाडको माध्यमबाट बुबालाई ‘सरप्राइज’ दिने योजनामा उनी थिइन् । बन्द प्रशिक्षणमा रहेकै अवस्थामा अक्सर उनी बुबालाई एसियाडमा इतिहास कोर्ने बताउँथिइन् । अब सन्जु स्वयं र उनका बुबाले देखेको यो सुन्दर सपना कहिल्यै पूरा नहुने भएको छ । मंगलबार बिहान यिनै नेपाली भारोत्तोलनकी कीर्तिमानी खेलाडी सञ्जुले आत्महत्या गरिन् । ललितपुरको महालक्ष्मीस्थान नगरपालिका– ८ लुभुमा भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा सिलिङको फ्यानमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा सञ्जुको शव फेला पर्‍यो । 

१६ वैशाखमा एसियाडका लागि छनोट भएपछि सन्जु प्रशिक्षणका लागि गुरुसँगै रंगशाला जाने गर्थिन् । सञ्जु एसियाडको तयारीका लागि प्रशिक्षक महर्जनकै घरमा बसिरहेकी थिइन् । घरको सिलिङमा झुन्डिएरको अवस्थामा सञ्जुको आत्महत्याको समाचारले सिंगो खेलकुद क्षेत्र नै स्तब्ध बनेको छ । खेलक्षेत्रमा आबद्ध सबै व्यक्तिले केही समय सञ्जुले आत्महत्या गरेको पत्याउन सकेनन् । भारोत्तोलनकै उदीयमानी खेलाडी सञ्जुले अचानक यस किसिमको अप्रत्याशित निर्णय लिने विश्वास कसैलाई थिएन । 

कल्पनै नगरेको घटनाको सामना गरेका छौँ । सञ्जुले यस्तो निर्णय लिने विश्वास नै थिएन । पछिल्लो १५–२० दिनदेखि उनी मेरै घरमा थिइन् ।
 सञ्जय महर्जन, भारोत्तोलन प्रशिक्षक

भारोत्तोनलकै एक ‘नक्षत्र’ले आत्महत्या गरेको विश्वासै लागेको छैन् । उनको निधनसँगै समग्रमा भारोत्तोनलमा मात्र नभएर सिंगो नेपाली खेलकुदमा ठूलो क्षति पुगेको छ । 
 रामकृष्ण श्रेष्ठ, अध्यक्ष, नेपाल भारोत्तोलन संघ
 

सोमबार अबेर रातिसम्म पनि सञ्जु ‘फ्रेस मुड’मा थिइन् । प्रशिक्षक महर्जनको घरमा जात्राका अवसरमा भोज भइरहेको थियो । सञ्जु स्वयंले आएका पाहुनाहरूलाई ‘सर्भ’ गरेकी थिइन् । भोजमा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ पनि उपस्थित थिए । भारोत्तोनलकै एक ‘नक्षत्र’ले आत्महत्या गरेको विश्वासै नलागेको संघका अध्यक्ष श्रेष्ठले बताए । 

अबेर रातिसम्म पनि सन्जुको अनुहारमा कुनै दुःख वा पीडामा नभएको आफूले अनुभव गरेको उनको भनाइ छ । ‘सोमबार लुभुमा जात्राका अवसरमा हामी गुरुको घरमा पाहुना बनेर पुगेका थियौँ, सँगै अरू साथीहरू पनि थिए, सञ्जु बहिनीले हामीलाई खुवाउन सहयोग पनि गरिरहेकी थिइन्,’ श्रेष्ठले भने, ‘हामीले उनलाई खुसी नै देखेका थियौँ ।’ हँसिलो अनुहार तथा सबैसँग मिलनसार सन्जु वेला–वेलामा आफ्ना साथीहरूलाई कुनै दिन ‘सुसाइड गर्छु’ भन्ने गर्थिन् । तर, साथीहरूले सञ्जुको अस्वाभाविक शब्दलाई केवल ठट्टाकै रूपमा लिए । संघका अध्यक्ष श्रेष्ठले सञ्जुले ख्यालख्यालमै साथीहरूलाई ‘सुसाइड गर्छु’ भन्ने गरेको आफूले पनि थाहा पाएको बताए ।

‘सञ्जु बहिनीले साथीलाई ख्यालठट्टा गरेरै सुइसाइड गर्छु भनेकी रहिछिन्, हामीले पनि पहिला पनि ठट्टा गरेजस्तो लागेको थियो,’ श्रेष्ठले भने, ‘ठट्टा भविष्यमा सत्यका रूपमा परिणत हुन्छ भनी कल्पना गर्न सक्ने अवस्था नै भएन ।’

अपूरणीय क्षति
कलियो उमेरमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा दरिलो उपस्थिति जनाएकी सञ्जु नेपाली भारोत्तोलनले पाएको महिला खेलाडीमध्ये असाध्यै राम्रो रहेको संघका अध्यक्ष श्रेष्ठको भनाइ छ । उनको अकल्पनीय निधनसँगै समग्रमा भारोत्तोनलमा मात्र नभएर सिंगो नेपाली खेलकुदमा ठूलो क्षति पुगेको श्रेष्ठ बताउँछन् । ‘हामीले सन्जुबाट धेरै आशा गरेका थियौँ, एक किसिमले भन्दा सञ्जु भारोत्तोलनाकी खम्बा थिइन् । 

तर, कसैले सोच्न नसक्ने घटना भयो ।’यसैगरी, प्रशिक्षक सञ्जयले कल्पनै नगरेको घटनाको सामना गरेको बताए । ‘सञ्जुले यस्तो निर्णय लिने विश्वास नै थिएन,’ प्रशिक्षक सञ्जयले भने, ‘पछिल्लो १५–२० दिनदेखि मेरै घरमा उनी थिइन्, अचानक यस्तो भयो ।’ सन्जुले आत्महत्या गरेको समाचार बाहिर आएपछि सामाजिक सञ्जालमा सबैजसोले अप्रत्याशित र अप्रिय घटनाकै रूपमा उल्लेख गरेका छन् । तीन वर्षअघि पुलिसमा आबद्ध हुँदै भारोत्तोलन खेल्ने गरेकी सञ्जुले तीन महिनाअघि मात्र जागिर छाडेकी थिइन् । 

क्रिकेट, एथलेटिक्सपछि भारोत्तोलन
सञ्जुले सुरुका दिनमा क्रिकेट र एथलेटिक्स खेलेकी थिइन् । पाँच वर्षअघि मात्र उनले भारोत्तोलन खेल्न सुरु गरेकी थिइन् । ०६८ सालमै उनले क्रिकेट र एथलेटिक्सका राष्ट्रिय प्रतियोगिता खेल्न भ्याइन् । नेपालगन्जमा क्याम्पस पढ्न थालेपछि उनी जिमखाना जान थालिन् । राम्ररी जिम गर्ने भएपछि सञ्जुलाई नेपालगन्जका भारोत्तोलन प्रशिक्षक सकिल अहमदले भारोत्तोलनमा भविष्य देखाए ।राष्ट्रिय खेलकुद परिषद्मा मंगलबारै उनलाई अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

 सञ्जुको मोबाइल फोरेन्सी ल्याबमा
मंगलबार बिहान ५:३० बजे सन्जु मृत अवस्थामा भेटिएको महानगरीय परिसर, ललितपुरका प्रवक्ता तथा एसपी सिद्धिविक्रम शाहले नयाँ पत्रिकालाई बताए ।उनका अनुसार सन्जु सुतेको ढोकाभित्रबाट चुक्कुल लगाइएको थियो । झ्यालमा ग्रिल लगाइएको छ । प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिएको शाहले बताए । सञ्जुले प्रयोग गरेको मोबाइल ‘अफ’ थियो । थप अनुसन्धानका लागि उनको मोबाइल फोरेन्सी ल्याबमा पठाएको उनले बताए । बिहान कोठामै मृत अवस्थामा भेटिनुअघि सञ्जुले अबेर राति सामाजिक सञ्जालमा ‘मिसिङ यु लभ’ भनी पोस्ट गरेकी थिइन् ।