मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २७ मंगलबार ०७:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्थानीय तहको निर्वाचन अग्रगमन  र पश्चगमनको संघर्ष : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २७ मंगलबार ०७:२४:००

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनबीचको संघर्ष भएको बताएका छन् । सोमबार एक अपिलमार्फत उनले आफ्नो पार्टीको निर्वाचन चिह्न र गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै यस निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा मात्रै नलिन आग्रह गरेका छन् ।

‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकारसम्पन्न भएको नरुचाउने तत्वले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् । निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँका रूपमा लिएका छौँ,’ प्रचण्डको अपिलमा छ । प्रचण्डले सिंहदरबारकेन्द्रित अधिकार जनताको घरदैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोसेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

आफूहरूले खोजेको संघीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझ पनि जनताले अनुभूति गर्न नसकेको उल्लेख गर्दै प्रचण्डले स्थानीय तहलाई अधिकारसम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चिततामार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती रहेको उल्लेख गरेका छन् ।

यसबाहेक कृषिमा अनुदानमार्फत उत्पादन, किसान पेन्सन, औद्योगीकरण तथा ग्रामीण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत–पसिना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने प्रचण्डको भनाइ छ ।