१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ बैशाख २६ सोमबार १३:५७:००
Read Time : > 2 मिनेट
निर्वाचन डिजिटल संस्करण

धनगढीमा उम्मेदवारका एजेन्डा : प्राथमिकतामा भ्रष्टाचार नियन्त्रण 

स्थानीय तहमा भ्रष्टाचार मौलाएपछि मतदाता आकर्षित गर्न भ्रष्टाचार अन्त्य गर्ने एजेन्डा प्राथमिकतामा

Read Time : > 2 मिनेट
२०७९ बैशाख २६ सोमबार १३:५७:००

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा उम्मेदवारहरू भ्रष्टाचार नगर्ने र हुन नदिने एजेन्डालाई प्राथमिकतामा राखेर मत मागिरहेका छन् । मतदाता रिझाउन अघिल्लो स्थानीय तहको निर्वाचनमा पूर्वाधार निर्माणका योजनालाई प्राथमिकतामा राखेका दलहरूले यसपालि भने भ्रष्टाचार नियन्त्रणलाई पनि प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन् । 

सत्तारुढ गठबन्धनको घोषणापत्रमा ‘हामी भ्रष्टाचार गर्नेछैनौँ र गर्न दिने पनि छैनौँ’ भन्ने प्रण गरिएको छ । घोषणापत्र सार्वजनिक गर्दै गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका उम्मेदवार नृपबहादुर वडले धनगढीको विकास र सुशासनलाई आफूले प्राथमिकता दिने बताए । ०७४ को निर्वाचनमा धनगढीको मेयरमा निर्वाचित वड दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन् । वडले धनगढीलाई महानगरपालिका बनाउने, यहाँका खोलानाला अतिक्रमण हटाउने, खोलानालाको छेउछाउमा साइकल लेन निर्माण गर्ने, लालपुर्जा वितरण गर्ने, पार्किङ स्थल र सार्वजनिक शौचालयहरू निर्माण योजनालाई प्राथमिकता दिएका छन् । यी  एजेन्डा उनको अघिल्लो निर्वाचनको घोषणापत्रमा पनि प्राथमिकतामा थिए । 

सबै नागरिकलाई खानेपानीको सुविधा पुर्‍याउन एक घर एक धाराको व्यवस्था गर्ने, धनगढीको ग्रामीण बस्ती उर्मालाई सहरी सुविधासम्पन्न र सबैले गर्व गर्न लायक नमुना बस्ती बनाइने, वडा नम्बर १४, १८ र १९ मा टाउन प्लानिङ सुरु गर्ने योजना पनि गठबन्धनका उम्मेदवार वडले अघि सारेका छन् । आफू मेयरमा निर्वाचित भएपछि धनगढीको क्याम्पचोक, चौराहा र चटकपुरमा आकाशे पुल निर्माण, सबै वडामा कृषि हाटबजारको व्यवस्था, वडा नम्बर १५ र १६ मा औद्योगिक क्षेत्र स्थापना तथा धनगढीमा अत्याधुनिक टर्मिनलसहितको बसपार्क निर्माणलाई अगाडि बढाउने वडले बताए ।

त्यसैगरी एमालेका उम्मेदवार रणबहादुर चन्दले पनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धतासहित मत मागिरहेका छन् । नगर क्षेत्रमा बढी आवागमन हुने प्रत्येक सडकलाई कालोपत्रे गर्ने, व्यवस्थित बसपार्क र बजारमा पार्किङ स्थलहरू निर्माण गर्ने, विपन्नका घरमा निःशुल्क विद्युतीकरणसँगै खानेपानी सुविधा पुर्‍याउने आफ्नो योजना रहेको चन्दको भनाइ छ । मुख्य सडकमा रहेका विद्युतीय तारहरूलाई भूमिगत गर्ने, प्रत्येक वडामा एउटा नमुना प्राविधिक विद्यालय बनाउने, ग्रामीण क्षेत्रमा पर्ने उर्मा र फूलबारीमा १५ शय्याको अस्पताल बनाउने योजना उनले अघि सारेका छन् ।     

किसानलाई सुविधाका लागि कृषक परिचयपत्र दिने, सडक तथा अन्य आवश्यक स्थानमा सौर्यबत्ती जडान गर्ने, एक वडा एक खेलमैदान निर्माणलाई पनि आफू मेयरमा निर्वाचित भएपछि अगाडि बढाउने उनले बताए । भौतिक र मानवीय विकास गरेर धनगढीलाई सुन्दर र समृद्ध नगर बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ । ‘धनगढी उपमहानगरपालिकामा जनताले विकासको अनुभूति गर्न पाएनन्,’ चन्दले भने, ‘भ्रष्टाचार हुन नदिनु मेरो पहिलो काम हुनेछ । मेरो तीन दशकको राजनीतिक यात्रामा म निष्कलंकित छु । मेयरको रूपमा पनि यही छवि कायम राखेर काम गर्नेछु ।’
 
धनगढीमा गठबन्धन र एमालेका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले कडा टक्कर दिँदै छन् । मेयरमा निर्वाचित भएपछि विकासमा ‘धनगढी मोडेल’ स्थापित गर्ने र भ्रष्टाचार हुन नदिने संकल्पसहित हमालले मतदातालाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन् । नगरमा भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने एजेन्डालाई उनले पनि प्राथमिकताका साथ उठाएका छन् । उनले आफू निर्वाचित भए मेयरका रूपमा पाउने कुनै पनि सेवा सुविधा र गाडी नलिने घोषणासमेत गरेका छन् । 

घरघरै गएर सामाजिक सुरक्षाभत्ता वितरणको व्यवस्था मिलाउने, फोहोरमैला व्यवस्थापनमा वैज्ञानिक विधि अपनाउने, वृक्षारोपण गरेर धनगढीलाई सुन्दर र हराभरा बनाउने, पार्किङ र खेलमैदानको व्यवस्था गर्ने, खोलानालाको अतिक्रमण हटाएर साइकल लेन निर्माण गर्नेजस्ता विकासका योजना हमालले अघि सारेका छन् । ‘स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना कार्यकर्ता पोस्ने काम मात्र गरे, जुन रूपमा विकास हुनुपर्थ्याे, त्यो हुन सकेन,’ हमालले भने, ‘स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न र धनगढीलाई नमुना सहरको रूपमा विकास गर्न मैले उम्मेदवारी दिएको हुँ ।’

धनगढीको मेयर र उपमेयरका अन्य उम्मेदवारले पनि भ्रष्टाचारलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन् । धनगढीको मेयरमा नाै र उपमेयरमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । जनप्रतिनिधिले जनताको चाहनाअनुसार काम गर्न नसक्नु र स्थानीय तहमा भ्रष्टाचार चरम रूपमा बढ्नुले उम्मेदवारहरूले मतदाता आकर्षित गर्न भ्रष्टाचार अन्त्यलाई प्रमुख प्राथमिकता दिएका यहाँका नागरिक अगुवाहरू बताउँछन् । 

मेयरमा जनता समाजवादी पार्टीका कविन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीका मीनकुमार चौधरी, सचेत नेपाली पार्टीका भारती थापा तथा मदनकृष्ण भट्ट र उद्धवराज पन्त स्वतन्त्र उम्मेदवार छन् । मेयरका नाै उम्मेदवारमध्ये वड, चन्द र हमालबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।  

त्यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट माओवादीका शान्ति अधिकारी, एमालेका कन्दकला राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्रीदेवी चौधरी र स्वतन्त्रबाट प्रभाकर भण्डारी उम्मेदवार छन् ।