मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ बैशाख २५ आइतबार १८:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री पदका लागि देउवाले कांग्रेस सिध्याउन लागे : केपी ओली

Read Time : > 1 मिनेट
२०७९ बैशाख २५ आइतबार १८:३५:००

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गरेका हुन् । आइतबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि कांग्रेस कार्यकर्ताहरू के हेरेर बसेका छन् भन्ने प्रश्न गरे । 

उनले कांग्रेस कार्यकर्ताहरू प्रचण्डकी छोरी रेनु दाहाललाई फेरि पनि भोट हाल्नुपरेकोमा पीडामा रहेको पटक–पटक बताएका थिए । प्रचण्डले सिर्जना सिंहको र देउवाले रेनु दाहालको मत मागेर निर्वाचन आचारसंहिताविपरीत काम गरेको ओलीले दाबी गरे । उनले देउवा र प्रचण्डलाई निर्वाचन आयोगले कारबाही गर्न नसकेको पनि बताए । 

ओलीले निर्वाचन आयोगले सत्तारुढ गठबन्धनबाहेकलाई मात्रै निर्वाचनको आचारसंहिता लगाउने गम्भीर आशंका पनि व्यक्त गरे । ओलीले भने, ‘निर्वाचन आयोगले आदेश जारी गर्यो फेरि । कसलाई गरेको आदेश जारी ? पाँच दलका नेताहरू, ६ दलका नेताहरू सँगसँगै हिँडेर मञ्चमा एउटाले रुख चिह्न बोकेको छ, अर्कोले अर्को चिह्न बोकेको छ । निर्वाचन आयोग के भन्छ–आ–आफ्नो झन्डाबाहेक अरूको बोक्न पाइँदैन । तपाईंहरूले यहाँ देख्नुभयो नि । क–कसले क–कसले झन्डा बोके । अनि कांग्रेसका कार्यकर्तालाई धम्क्याउनका लागि कारबाही गर्छ रे, अर्काको झन्डा बोक्यो भने । प्रचण्डलाई किन कारबाही नगरेको काठमाडौंमा सिर्जना सिंहलाई मत माग्दा ? शेरबहादुर देउवालाई यहाँ आएर रेनु दाहाललाई भोट देऊ भनेर । अनि कार्यकर्ताले मन परेको ठाउँमा भोट दिए कारबाही हुने ? भयरहित वातावरणमा भोट दिन पाउनुपर्छ । जनतालाई धम्क्याउन पाइन्छ ? धम्क्याएर भोट लिन खोज्ने आचारसंहिताविपरीत हो कि होइन ? निर्वाचन आयोग कराइराखेको छ आचारसंहिताको कुरामा । सानातिनालाई पायो भने कारबाही गर्न बेर लाउँदैन । गठबन्धनभन्दा बाहिरका लागि कारबाही गर्न बेर लाउँदैन । तर, गठबन्धनका लागि जे गरे पनि ठीक छ, जसरी नाचे पनि ठीक छ ।’

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेले राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने अवस्था आएकाले चितवनमा राप्रपा र एमालेबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गरेको दाबी गरे ।