मतदानमा ४१ महिला र ४९ पुरुष गरी ९० जनाले मतदान गरे, जसमा १२ मत बदर
जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा धुर्कोट गाउँपालिकामा नमुना मतदान भएको छ । बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो । निर्वाचन कार्यालयले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बिहीबार नमुना मतदान गराएको हो । दुई घण्टासम्म भएको नमुना मतदानमा ४१ महिला र ४९ पुरुष गरेर ९० जनाले मतदान गरेका थिए । जसमा १२ मत बदर भएका छन् ।
स्थानीय ८५ वर्षीय वृद्ध ढुण्डीराज भण्डारीले पहिलो मत खसालेको धुर्कोट गाउँपालिकाको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् । स्थानीय सबै उमेर समूहका विद्यार्थी, क्लब, रेडक्रम, दल र नागरिक समाजका प्रतिनिधिले मतदान गरेका थिए ।
कुल मतको १३.३३ प्रतिशत बदर हुनु दुःखको विषय भएको बताउँदै मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्नेमा पौडेलले जोड दिइन् । प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेल, निर्वाचन अधिकृत माया कुँवर, सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिहरूले नमुना मतदान कार्यक्रममा सहभागिता जनाएका थिए ।
गत स्थानीय तहको निर्वाचनमा कहाँ कति मत बदर
जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गत ०७४ सालको स्थानीय तहको निर्वाचनमा धुर्कोट गाउँपालिकामा ६.३९, इस्मा गाउँपालिकामा ६, कालीगण्डकीमा ५.९८, गुल्मीदरबारमा ३, चन्द्रकोटमा ७.९७, छत्रकोटमा ५.०८, मदानेमा ९.१६, मालिकामा ५.०४, मुसिकोट नगरपालिकामा ३.३७, रुरू गाउँपालिकामा ५.३१, रेसुंगा नगरपालिकामा २.५३ र सत्यवती गाउँपालिकामा ५.९४ प्रतिशत मत बदर भएको थियो ।
१५ मतदानस्थल अति संवेदनशील
गुल्मीमा १५ मतदानस्थल अति संवेदनशील छन् । अति संवेदनशील मतदानस्थल कालीगण्डकी, मालिका, मदाने, सत्यवती र चन्द्रकोट गाउँपालिकामा पर्छन् । ४१ वटा मतदानस्थलहरू संवेदनशील र ८६ वटा मतदानस्थलहरू सामान्य रहेको प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले जानकारी दिए । संवेदनशील स्थलमा सुरक्षा र अन्य व्यवस्थापन राम्रोसँग गरिएको पौडेलले बताए । भौगोलिक अवस्था, यातायातको पहुँच र सीमाका आधारमा मतदान स्थलको वर्गीकरण गरिएको छ ।
चार मतदानस्थल र २८ वटा मतदान केन्द्र थप
स्थानीय निर्वाचन ०७४ मा भन्दा अहिले चार मतदानस्थल र २८ वटा मतदान केन्द्र थप गरिएको छ । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा कुल एक सय ४२ मतदानस्थल रहेका छन् । दुई सय ७९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेयले जानकारी दिए ।
जिल्लामा सबैभन्दा कम इस्मा गाउँपालिकामा आठ र सबैभन्दा बढी सत्यवती गाउँपालिकामा १६ मतदानस्थल रहेका छन् । गुल्मीमा महिला एक लाख १४ हजार दुई सय ५१ र पुरुष एक लाख १० हजार ५९ गरेर कुल दुई लाख २४ हजार दुई सय ७६ मतदाता रहेका छन् भने दुई दुईजना अन्य मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।