मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २० मंगलबार
  • Tuesday, 17 December, 2024
पश्चिम चितवनस्थित पटिहानी क्षेत्रमा पर्ने राप्ती नदीमा हात्तीसँग रमाउँदै पर्यटक । कोभिड संक्रमण दर घटेसँगै विदेशी पर्यटक भित्रिने क्रम पनि बढेको छ । तस्बिर : विवेक पोख्रेल/नयाँ पत्रिका
नवीन अर्याल काठमाडाैं
२o७९ बैशाख २० मंगलबार ११:१८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटक आगमन १६० प्रतिशतले बढ्यो, दैनिक औसत दुई हजार पर्यटक भित्रिँदै

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २० मंगलबार ११:१८:oo

गत वर्षको अप्रिलमा २२ हजार चार सय पर्यटक भित्रिएकामा यो अप्रिलमा ५८ हजार तीन सय आए

कोभिडले थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फर्किने संकेत देखिएको छ । अप्रिल २०२२ मा दैनिक औसतमा दुई हजार विदेशी पर्यटक नेपाल भित्रिएसँगै पर्यटन क्षेत्रमा आशा पलाएको पर्यटन व्यवसायीहरूले बताएका छन् । अप्रिलमा विभिन्न मुलुकबाट ५८ हजार तीन सय ४८ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या अप्रिल २०२१ को तुलनामा १६० प्रतिशतले बढी हो । 

गत वर्षको अप्रिलमा २२ हजार चार सय ५० पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ । कोभिडअघि अप्रिल २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक भित्रिएकामा कोभिड संक्रमण फैलिन थालेपछि अप्रिल २०२० मा १४ जना मात्र पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसताका नेपालसहित विश्वका धेरै मुलुकमा लकडाउन गरिएको थियो । 

सन् २०२२ को सुरुवातसँगै कोभिड महामारी फैलिन कम हुँदै गएपछि पर्यटक आगमन बढ्दै गइरहेको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । यस वर्षको जनवरीमा १६ हजार नौ सय ७५ पर्यटक आएका छन् भने फेबु्रअरीमा १९ हजार सात सय ६६ र मार्चमा ४२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डको तथ्यांक हेर्दा हरेक महिना पर्यटक आगमन बढ्दै गइरहेको देखिन्छ । ‘यस सिजनमा पर्यटक आगमन उत्साहजनक नै रह्यो,’ नेपाल वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले भने, ‘अब कुनै भवितव्य नआए अक्टोबरदेखि सुरु हुने सिजनमा पनि पर्यटक आगमनमा उत्साहजनक रह्यो भने पर्यटन क्षेत्र लयमा फर्किन्छ ।’ 

पर्यटक आगमन बढेसँगै हेलिकोप्टरको बिजनेस पनि फस्टाउन थालेको छ । नेपालमा हिमाल आरोहण गर्न आउने पर्यटकहरू बढेसँगै हेलिकोप्टर, होटेल व्यवसाय, ट्रेकिङलगायतका पर्यटन क्षेत्रमा उत्साह छाउन लागेको छ । वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७४ देशका आठ सय ९९ आरोहीले अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ । यस वर्ष आरोहणका लागि २५ हिमाल खुला गरिएका छन् । आरोहणको सिजन सुरु भएसँगै तारे होटेल र बेस क्याम्पहरू पर्यटकले भरिभराउ छन् । यस्तै, ट्रेकिङ, कल्चरल, वाइल्ड लाइफमा रुचि राख्ने पर्यटक पनि नेपाल आइरहेको पर्यटन व्यवसायी बताउँछन् । 

भारतबाट मात्रै ३८.५२ प्रतिशत पर्यटक
नेपालमा सबैभन्दा धेरै पर्यटक छिमेकी मुलुक भारतबाट आइरहेका छन् । अप्रिलमा भारतबाट २२ हजार चार सय ७७ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ, जुन संख्या कुल पर्यटक आगमनको ३८.५२ प्रतिशत हुन आउँछ । भारतमा गर्मी चढेसँगै ‘स्कुल होली डे’ सुरु भएको हुँदा धेरै भारतीय गर्मी छल्न नेपाल आएका होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । अर्को छिमेकी मुलुक चीनले आफ्ना नागरिकलाई घुमफिरमा निस्कन कडाइ कायमै राखेपछि त्यति पर्यटक आएका छैनन् । अप्रिलमा चीनबाट दुई सय ८१ पर्यटक आएका छन्, जबकि चीन भारतपछि सबैभन्दा बढी पर्यटक आउने देश हो ।   

अमेरिकाबाट ६ हजार नौ सय ५४, बंगलादेशबाट एक हजार पाँच सय ३७, बेलायतबाट पाँच हजार दुई सय ५२, अस्ट्रेलियाबाट दुई हजार सात सय २६, क्यानडाबाट एक हजार २८, जर्मनीबाट दुई हजार ९७, फ्रान्सबाट एक हजार नौ सय २२ पर्यटक भ्रमणमा आएको बोर्डका निर्देशक लामिछानेले बताए ।

अप्रिलमा नेपाल भ्रमणमा आएका कुल पर्यटकमध्ये सार्क मुलुकका मात्रै ४२.०७ प्रतिशत हिस्सा रहेको छ । सार्कका भारत, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाबाट अप्रिलमा २४ हजार पाँच सय ४८ पर्यटक आएका छन् । यस्तै, अन्य एसियन मुलुकबाट दुई हजार एक सय ३० पर्यटक आएका छन्, जुन कुल पर्यटक संख्याको ३.६५ प्रतिशत हो । युरोपेली मुलुकबाट १६ हजार तीन सय (२७.९४ प्रतिशत), अस्ट्रेलिया र न्युजिल्यान्डबाट दुई हजार आठ सय २४ (४.४८ प्रतिशत) र अमेरिका र क्यानडाबाट चार हजार नौ सय ८२ (१३.६८ प्रतिशत) पर्यटक आएको बोर्डले जनाएको छ । पछिल्लो समय बाह्य पर्यटकले तारे होटेलहरू ७० प्रतिशतसम्म भरिएका छन् । 

काठमाडौं उपत्यकाका छेउछाउ र बाहिरका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकले होटेल भरिभराउ छन् । पोखरामा भारतीय पर्यटकको संख्या धेरै देखिन थालेको बाराही होटेलका सञ्चालक विप्लव पौडेलको भनाइ छ । ‘आन्तरिक पर्यटक छँदै छन्, भारतीय र तेस्रो मुलुकका पर्यटक पनि बढ्दै गइरहेका छन्,’ उनले भने, ‘यही उत्साह कायम रहिरहे आगामी सिजनदेखि पर्यटन लयमा फर्किन थाल्छ ।’

कोभिडअघिको तुलनामा ५३ प्रतिशत रिकभरी :  मणिराज लामिछाने, निर्देशक, नेपाल पर्यटन बोर्ड
पछिल्लो समय पर्यटक आगमन बढ्दै गइरहेको छ । हरेक महिना पर्यटक बढ्दा पर्यटन क्षेत्रमा आशा पलाएको छ । कोभिडअघि सन् २०१९ अप्रिलको तुलनामा २०२२ अप्रिलमा पर्यटक आगमन ५३ प्रतिशत रिकभर भइसकेको छ । गत महिना मार्चमा ४५ प्रतिशत हाराहारी रिकभरी भएको थियो । यसको मतलब, रिकभरी रेट बढ्दै गइरहेको छ, जुन उत्साहप्रद छ ।

पर्यटन लयमा फर्किन थालेको देखिन्छ । अरू मुलुकको तुलनामा नेपालको रिकभरी चाँडै हुने प्रवृत्ति छ । भूकम्पका वेलामा पनि चाँडै रिकभर भएका थियौँ । अहिले पनि अरू मुलुकको तुलनामा नेपालको रिकभरी रेट बढी नै छ । यसवेला राज्य र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढेमा अझ बढी सफलता मिल्थ्यो ।

दुवै पक्ष सहकार्य गरेर अगाडि बढ्नैपर्छ । सन् २०२० का लागि प्याकेज किनेर बसेका कतिपय पर्यटकले कोभिड चाँडै हराउला भन्ने आशाले प्याकेज रद्द गरेका थिएनन् । उनीहरू अहिले अवस्था सहज हुँदै गएपछि आउन थालेका छन् । हामीसँग घुम्न जाने ठाउँहरू पनि सुरक्षित छन् । पर्यटन व्यवसायीले पनि सुरक्षित रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन् ।