१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २० मंगलबार
  • Saturday, 28 September, 2024
मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका– ११ स्थित जितपुरमा भएको दुर्घटना
२o७९ बैशाख २० मंगलबार o६:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मकवानपुर र गोरखामा भएका दुर्घटनामा ६ को मृत्यु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २० मंगलबार o६:१५:oo

मकवानपुर र गोरखामा छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)मा लोडर पल्टिँदा तीन चिनियाँ मजदुरको मृत्यु भएको छ । दुर्घटनामा दुई चिनियाँ र एकजना नेपाली घाइते भएका छन् । फास्ट ट्रयाकअन्तर्गत पर्ने मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका–११ स्थित जितपुर भञ्ज्याङनजिकै भएको दुर्घटना भएको हो । 

पोली च्याङ्ग्दा इन्जिनियर कम्पनी प्रालिले ठेक्का पाएको फास्ट ट्रयाकअन्तर्गत जितपुर भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि उत्खनन गरिएको माटो फाल्ने क्रममा लोडर चिप्लिएर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुने र घाइते भएका चिनियाँ मजदुरहरू पोली च्याङ्ग्दासँग आबद्ध छन् । दुर्घटनामा एकजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले मृत्यु भएकाको सनाखत र घाइतेको नाम नखुलेको बताए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । दुईजना सामान्य छन् । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

जन्ती बोकेको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु
गोरखा/ गोरखाबाट बेहुली लिएर चितवन जाने क्रममा जिप दुर्घटना हुँदा तीनजना जन्तीको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटेको फिरफिरेभिरमा सोमबार साँझ साढे ४ बजे भएको बा.१४च ७८१ नम्बरको स्कार्पियो जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले बताए । 

मृत्यु हुनेमा बारपाक सुलिकोट गाउँपालिका– ६ चनौटेका ५० वर्षका देवीप्रसाद पोखरेल, लमजुङ दुराडाँडा घर भई हाल काठमाडौं महानगरपालिका– १६ बस्ने ५१ वर्षका कमल न्यौपाने र कावासोती–१४ का ८० वर्षका उत्तरकुमार सिग्देल रहेको एसपी खनालले जानकारी दिए । चालकले ओरालोमा जिप स्टार्टमा राखेर यात्रु चढाउन थालेको, तर आफूभित्र नबस्दा जिप गुडेर भिरबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । साँझ अबेर जिल्ला प्रहरी कार्यालयबाट डिएसपी लीलाराज लामिछाने नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । चालक घनश्याम काफ्ले प्रहरी नियन्त्रणमा छन् ।