पत्रकार किशोर पन्थीको पुस्तक ‘जिरो माइल’माथि बुटवलमा चर्चा गरिएको छ । अमेरिकी अध्यागमनसहित एक सय ११ टिप्स समेटिएको जिरो माइल पुस्तकमाथि बुटवलका लेखक, पत्रकार, कानुन व्यवसायी तथा शिक्षण पेसामा संलग्न व्यक्तिबीच चर्चा गरिएको हो ।
गुल्मीमा जन्मिएका पन्थी १२ वर्षदेखि अमेरिकामा बसोवास गर्दै आएका छन् । उनी खसोखास मिडियाका प्रधान सम्पादक पनि हुन् । उनले यो पुस्तक अमेरिकामा जान चाहनेदेखि अमेरिकामा बसोवास गर्नेहरूका लागि धेरै उपयोगी रहेको बताए । पन्थीले पुस्तक लेख्दाका अनुभव तथा पुस्तकमा समेटिएका विषयबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा लेखक मनिकर कार्कीले पुस्तकमा अमेरिकी भिसा प्रणाली र आप्रवासन नीतिबारे विवरणात्मक र सूचनात्मक जानकारी रहेको बताए । पुस्तक अमेरिकी प्रशासन र आप्रवासन नीति बुझ्न उपयोगी हुने उनले बताए । पन्थीका अनुसार उनको पुस्तक नेपाल तथा अमेरिकाका विभिन्न सहरका अतिरिक्त गुगल बुक्समार्फत ६६ देशमा उपलब्ध छ । गुगल प्ले बुक्समार्फत विश्वका ६६ देशमा रहेका पाठकले यो पुस्तक अनलाइनमा पढ्न सक्नेछन् ।