
गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनमा भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ शनिबार गृह मन्त्रालयमा भएको सुरक्षा गोष्ठीमा गृहमन्त्री खाँणले सुरक्षा निकायका प्रमुखहरूलाई यस्तो निर्देशन दिएका हुन्।
गोष्ठीमा निर्वाचन सुरक्षा सम्बन्धमा देखापरेका चुनौती र त्यसकाे समाधान गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
गोष्ठीमा प्रदेशगत रूपमा एउटा प्रदेशबाट एक जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रस्तुति दिएका थिए। प्रदेशगत प्रस्तुतिपछि तीनै सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न निर्देशन दिए।
गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल तथा गृह मन्त्रालयका सहसचिवहरू फणिन्द्रमणि पोखरेल, टेकबहादुर केसी, प्रदीप कोइराला भौतिक रूपमा सहभागी थिए।