१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १७ शनिबार
  • Friday, 05 July, 2024
२o७९ बैशाख १७ शनिबार o८:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

झापामा १३९ जनाले फिर्ता लिए उम्मेदवारी

केन्द्रको निर्देशनविपरीत कचनकवलमा कांग्रेस–एमाले तालमेल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १७ शनिबार o८:२१:oo

झापामा १३९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । स्थानीय तह निर्वाचनमा झापाको १५ वटा स्थानीय तहको १३१ वटा वडामा उम्मेदवारी दिएका मध्ये १३९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिनेमा ११ जना विभिन्न स्थानीय तहका प्रमुख÷अध्यक्ष पनि छन् भने १० जना उपप्रमुख उपाध्यक्ष रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा धेरै अर्जुनधारामा छन् । यहाँ २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैभन्दा थोरै कमल गाउँपालिकामा छन् । कमल गाउँपालिकामा एकजनाले मात्र उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

केन्द्रको निर्देशनविपरीत कचनकवलमा कांग्रेस–एमाले तालमेल

झापाको कचनकवलमा केन्द्रीय गठबन्धनले दिएको निर्देशनविपरीत तालमेल भएको छ । कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका लागि कांग्रेस र एमालेले तालमेल गरेका हुन् । तालमेलका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी एमालेकी दुर्गादेवी नेपाल र उपाध्यक्षमा उम्मेदवारी दिएकी कांग्रेसकी सेलेतुन खातुनले उम्मेदवारी फिर्ता लिएकी हुन् । अब प्रमुखमा एमालेले कांग्रेसका कालेन्द्रप्रसादसिंह राजवंशीलाई सघाउने छ भने कांग्रेसले एमालेका नवराज भट्टराईलाई सघाउनेछ ।

जबकि केन्द्रको पाँच दलीय गठबन्धनले शुक्रबार मात्र पाँचदलीय गठबन्धनभन्दा बाहिर भएको गठबन्धन खारेज गर्ने र बाहिर तालमेल गरे कारबाही गर्ने निर्णय गरेका थिए । तर, कचनकवलमा भने यो निर्देशनविपरीत तालमेलको निर्णय भएको हो । यो गाउँपालिकामा पाँच दलीय गठबन्धन भने कार्यान्वयन भएन , ‘यो स्थानीय मागअनुसार भएको तालमेल हो । यहाँको वस्तुस्थिति अनुगमन गरेर तालमेल भएको हो । यो गठबन्धन हैन । तालमेल भएको हो,’ कांग्रेस कचनकवलका सभापति तुलसीराम अधिकारीले भने, ‘केन्द्रको जस्तै गठबन्धन गर्न कसरत गर्‍यौँ । सकेनौँ । नसकेपछि राप्रपासँग एक्लै लड्न नसकिने भएर एमालेसँग तालमेल गरेका हौँ । वडामा हैन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा तालमेल भएको हो ।’

नेकपा एमाले कचनकवल अध्यक्ष तथा गाउँपालिकामा उपाध्यक्षका उम्मेदवार नवराज भट्टराईले राजतन्त्रको अवशेषलाई अन्त्य गर्न लोकतन्त्रवादी दल एक हुनुपरेको बताए ।

बिर्तामाेड र अर्जुनधारमा नेकपा (एस)का धेरैले फिर्ता लिए उम्मेदवारी

झापामा कमल गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा नेकपा (एकीकृत समाजवादी) गठबन्धनबाट बाहिरिएको छ । उसले अधिकांश स्थानीय तहमा उम्मेदवारी दिएको थियो ।

जिल्लाक विभिन्न स्थानीय तहमा नेकपा (एस)का ३५ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । जसमा एक गाउँपालिका अध्यक्ष, दुई नगर प्रमुख र एक उपप्रमुखका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

अर्जुनधाराम र बिर्तामोडमा सबैभन्दा धेरै नेकपा (एस)का उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । अर्जुनधारामा उम्मेदवारी फिर्ता लिनेमध्ये १५ जना नेकपा (एस)का छन् । बिर्तामोडमा १७ मध्ये सात जना नेकपा(एस)का उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । ‘केही तयारी नपुगेर पनि उम्मेदवारी फिर्ता भएको छ । केही उम्मेदवारको इच्छा आकांक्षाका कारण पनि फिर्ता भएको छ । कतिपय ठाउँमा मिलाउनुपर्ने भएका कारण पनि फिर्ता गरेका हौँ,’ नेकपा (एस) झापाका अध्यक्ष बेदराज रेग्मीले भने ।

कनकाईका बागी थापाले फिर्ता गरेनन् उम्मेदवारी

झापाको कनकाई नगरपालिकाका प्रमुख स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएका छन्, शेरबहादुर थापाले । उनी कांग्रेसका बागी उम्मेदवार हुन् । कनकाई नगरपालिकाको नगरप्रमुखमा आकांक्षी रहेका थापालाई पार्टीले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

कांग्रेस महाधिवेशन प्रतिनिधि थापाले पार्टीबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका हुन् । उनले उम्मेदवारी फिर्ता पनि लिएनन् । नगर प्रमुखका लागि कांग्रेसबाट रुद्रप्रसाद चिमरिया उम्मेदवार छन् । तर, थापाको उम्मेदवारीले कांग्रेसलाई प्रभाव पार्ने देखिन्छ ।

निर्माण व्यवसायी थापा जनतामाझ चिनिएका उम्मेदवार हुन् । कोभिड महामारीले देश नै लकडाउन हुँदा उनी जनताको घर–घरमा राहत लिएर पुगेका थिए । जसको प्रभाव पर्नसक्ने आँकलन छ । ‘मलाई उम्मेदवारी फिर्ता लिन दबाब आएको थियो । तर, फिर्ता गरिनँ,’ उनी भन्छन्, ‘यो जनताको माग हो । त्यही कारण फिर्ता गरिनँ ।’

ad
ad
ad
ad