१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १७ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १७ शनिबार o७:३५:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दलका घोषणापत्रमा यस्ता छन्  रोजगारी र कृषि प्रवर्द्धनका प्रतिबद्धता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १७ शनिबार o७:३५:oo

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । हरेक पाँच वर्षमा आउने स्थानीय तहको निर्वाचन घोषणापत्रमा धेरै कुरा उल्लेख भए पनि यसको केही भाग पनि कार्यान्वयन हुन नसकेको अनुभव जनतासँग छ । महत्वाकांक्षी घोषणापत्रले नागरिकका आवश्यकता र वास्तविकताबीचको सम्बन्धमा धेरै फरक पार्छ । अघिल्लो घोषणापत्रकै कार्यान्वयन हुन नसकेको अवस्थामा यस वर्षको घोषणापत्रले पनि निरन्तरता पाएको छ ।

घोषणापत्रमा नागरिकका आवश्यकता र चाहनाको परिपूर्तिका लागि राजनीतिक नेतृत्वले कार्यान्वयनयोग्य वाचा–कबुल गर्न सक्नेभन्दा पनि सस्तो लोकप्रियताका लागि पूरा गर्नै नसकिने योजनाहरू अघि सारेका छन् । दलहरूले नागरिकका वास्तविक आकांक्षा र तिनलाई सम्बोधन गर्न नसक्ने प्रकृतिकै घोषणापत्र भएकाले हुन सक्छ, निर्वाचन सकिएपछि यी फगत कागजी खोस्टा बन्दै आएका छन् । चुनाव सकिएपछि दलहरूले घोषणापत्रका बुँदाहरू बिर्सने अनुभव मतदातामा रहेकै छ । 

हुनत राजनीतिक दलहरूले संघीयता कार्यान्वयनको पहिलो अभ्यासका रूपमा २०७४ देखि २०७८ सम्मलाई पहिलो परीक्षणका रूपमा पनि चित्रण गरेका छन् । दलहरूले अघिल्लोपटक सार्वजनिक गरेको घोषणापत्रलाई कार्यान्वयनमा ल्याउन कति सफल भए–भएनन्, त्यसको परीक्षण आगामी चुनावी परिणामले दलहरूलाई प्रस्ट पारिदिने नै छ ।

दलहरूले संघीयता कार्यान्वयनको पहिलो कार्यकाललाई अभ्यासका रूपमा हेरे पनि अबको पाँच वर्ष कुनै पनि दलहरूलाई बाहनाबाजी छुट हुनेछैन । यसअघि जारी गरेको चुनावी घोषणापत्र झुटो र हावादारी साबित भए पनि यसपटकका घोषणापत्रलाई महत्वका साथ हेरिएको छ ।

घोषणापत्रले समेटेका रोजगारी र कृषिका कार्यक्रम

एमाले 
रोजगारी

  • हरेक पालिकाहरूमा रोजगार सूचना केन्द्र स्थापना र बेरोजगारहरूको तथ्यांक संकलन
  • प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम एक सय दिनको रोजगारी वा बेरोजगार भत्ताको सुरुवात
  • पुनर्निर्माणका क्रममा ४० करोड श्रमदिनबराबरको रोजगारी सिर्जना, एक लाख दक्ष र १० हजार अर्धदक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्ने
  • सहुलियतपूर्ण ऋणमार्फत डेढ लाख रोजगारी सिर्जना 

कृषि

  •  कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरण
  •  दुई वर्षभित्र आधारभूत खाद्यान्नमा आत्मनिर्भर, पाँच वर्षभित्र खाद्यान्न निर्यात
  •  प्रदेश सदरमुकाम र पालिकाका केन्द्रमा खाद्यान्न भण्डारण
  •  सबै औद्योगिक क्षेत्र स्थापना अघि बढाइने, १० वर्षभित्र एक लाख व्यक्तिलाई रोजगारी
  •  कृत्रिम मूल्यवृद्धि, सिन्डिकेट, नापतौल ठगीलगायत नियन्त्रण
  •  प्रत्येक पालिकामा अत्यावश्यक वस्तुको मौज्दात तथा भण्डारण

कांग्रेस
रोजगारी

  •  वैदेशिक रोजगारमा संलग्न वा त्यहाँबाट फर्केका व्यक्तिहरूलाई उद्यम सञ्चालन गर्न सहजता गर्ने,
  •  स्थानीय तहमा उपलब्ध हुने वा हुन सक्ने रोजगारीको सूचना तथा तथ्यांकसहितको रोजगार बैंक स्थापना 
  •  उद्यम विकास केन्द्र स्थापना
  •  श्रम बजारमा प्रवेश गर्ने विद्यार्थीलाई सहजता
  •  रोजगार सिर्जना गरेबापतको सुविधा
  •  वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई पहिलो प्राथमिकता
  •  सबै स्थानीय तहमा श्रमिकको न्यूनतम ज्याला, आधारभूत श्रमअधिकार र श्रममापदण्डको कार्यान्वयन

कृषि

  •  किसान र उद्यमीलाई सुलभ ऋणको व्यवस्था
  •  कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा
  •  बाली तथा पशु बिमा कार्यक्रम विस्तार
  •  पालिकामा सुपथ कृषि सामग्री पसल स्थापना
  •  कोल्ड स्टोरेज र कोल्ड मूल्य शृंखला निर्माण
  •  एक वडा एक हाटबजार योजना

एकीकृत समाजवादी 
रोजगारी

  •  श्रम विभाग गठन गरी श्रमिकहरूको पेसागत र वर्गीय हकहित सुरक्षाका लागि विविध योजना बनाई काम गर्ने
  •  वैदेशिक रोजगारीबाट सिकेर आएको सीपलाई  कार्यान्वयनमा लैजाने हरेक पालिकामा तथ्यांक संकलन गरी रोजगार सिर्जना गर्ने
  •  एक घर, एक रोजगारका साथै विपन्न्न नागरिकलाई गरिबीको रेखामुनिबाट माथि उठाउने

कृषि

  •  किसानले पाउनुपर्ने मूल्य र बजारीकरणलाई प्राथमिकता
  •  कृषि उत्पादन संरक्षणका लागि हरेक पालिकामा आवश्यकताअनुसारको शीतभण्डार
  •  आधुनिक कृषि प्रविधिमा जोड र स्थानीय बजारलाई प्रवद्र्धन गर्न हरेक पालिकामा पहल
  •  भूमि बाँझो राख्न नपाउने विषयलाई कडाइका साथ लागू गरिने

जनता समाजवादी 
रोजगारी

  •  कृषि, प्राविधिक, होटेल तथा पर्यटनलगायत क्षेत्रका उत्कृष्ट ५० उद्यमीलाई विदेशमा तालिम 
  •  वैदेशिक रोजगारबाट फर्केका युवालाई प्रोत्साहनमूलक कार्यक्रमहरूको व्यवस्था गरिने

कृषि

  •  कृषिको यान्त्रीकीकरण, आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकतामा राखिने
  •  युवाहरूलाई कृषि पेसामा आकर्षित गर्न र  उत्पादकत्व बढाउन आधुनिक कृषि उपार्जनमा जोड 
  •  व्यवस्थित कृषि फार्म निर्माण, कृषि भण्डारणमा जोड

राप्रपा
रोजगारी

  •  एक पालिका एक स्वरोजगार तालिम केन्द्रको स्थापना र तालिमप्राप्त युवालाई रोजगारको व्यवस्थापन गर्ने
  •  सीप सिकेका युवालाई रोजगारको व्यवस्थापन
  •  आयोजनाहरूमा स्थानीयलाई रोजगारीमा प्राथमिकता

कृषि

  • कृषि उद्योगमा स्थानीय रोजगार प्रवद्र्धनलाई प्रथम प्राथमिकता
  • निर्यातमूलक कृषिजन्य उत्पादनमा प्राथमिकता
  • कृषिउपज बेच्ने सहकारीलाई अनुदान
  • आधुनिक खेती गर्ने समूहलाई अनुदान