१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ बैशाख १६ शुक्रबार १६:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आचारसंहिताविपरीत हेटौँडाका मेयर चुनावी प्रचारप्रसारमा

Read Time : < 1 मिनेट
२०७९ बैशाख १६ शुक्रबार १६:२५:००

हेटौँडा उपमहानगरपालिकाका वर्तमान मेयर हरिबहादुर महत निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा खटिएका छन्। निर्वाचन आचारसंहितामा स्थानीय तहको जनप्रतिनिधि कुनै पनि दल वा उम्मेदवारको पक्ष, विपक्षमा चुनाव प्रचारप्रसारमा संलग्न हुन नपाउने उल्लेख छ। तर, महत  एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेको चुनावी प्रचारप्रसारमा खटिएका हुन्।

एमालेबाट मेयरको उम्मेदवार बन्न जिल्लाबाट प्रदेश र प्रदेशबाट केन्द्रमा सिफारिस भए पनि टिकट नपाएपछि महतले मेयरबाट राजीनामा दिएका छैनन्। राजीनामा नदिएका महत उपमहानगरपालिका कार्यालयमा उपस्थित हुन भने छाडिसकेका छन्। उपमहानगरपालिकामा मेयर रहेकै अवस्थामा कार्यालय जान छाडेर महत प्रचारप्रसारका लागि बिहानदेखि साँझसम्म वडावडा र घरदैलोमा जुटिरहेका छन्।

‘बहालवाला मेयर नै आचारसंहिताविपरीत पार्टीको चुनावी अभियानमा भाषण गरेर हिँडिरहेका छन्। यसलाई सम्बन्धित निकायले रोक्नुपर्छ,’ हेटौँडा– ५ का एक स्थानीयले भने। महत पछिल्ला दिन नियमित रूपमा चुनावी अभियानमा गएर आश्वासन र प्रतिबद्धतासमेत जनाइरहेका गुनासो विपक्षी दलका नेता कार्यकर्ताले मात्र नभई स्थानीयले समेत गरिरहेका छन्।

महत आफू दुई दिन प्रचारप्रसारमा सरिक भएको र सभालाई सम्बोधन गरेको स्विकार्छन्। ‘दुई दिन प्रचारप्रसारमा केही वडामा गएको थिएँ। भाषण पनि गरेँ। अबबाट कतै जान्नँ, चुनावी प्रचारप्रसारमा सरिक हुँदिनँ,’ उनले भने। मन्त्री, राज्यमन्त्रीहरू र स्थानीय तहका जनप्रतिनिधिभन्दा माथिल्लो तहकाहरू पनि प्रचारप्रसारमा देखिएका भन्दै महतले उनीहरूलाई पनि रोक्न जरुरी रहेको बताए।