१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १५ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ बैशाख १५ बिहीबार o७:३१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

टिकट वितरणप्रति कोइरालाको गम्भीर असन्तुष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ बैशाख १५ बिहीबार o७:३१:oo

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको आरोप, कैयौँ कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्ने प्रयत्न भएको दाबी

कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएका टिकट वितरणको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले टिकट वितरण न्यायपूर्ण नभएको बरु किनबेचसम्मका गतिविधि भएको आरोप लगाएका छन् । 

टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताप्रति समान रूपले न्याय गर्न नसकेको कोइरालाको आरोप छ । शक्तिको आडमा कार्यकर्ताको राजनीतिक हत्या गर्ने षड्यन्त्र भएको उनको आरोप छ । ‘टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरू पनि यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमानदार र निष्ठावान् कार्यकर्ता भोग्दै छन्,’ विज्ञप्तिमा छ, ‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन् साथीहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्न भएका छन् । कैयन् साथीहरूलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षड्यन्त्र पनि भएका छन् ।’ 

कोइरालाले टिकट वितरणमा मापदण्ड बनाएर अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने आवाज केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिक रूपमा उठाएको भए पनि नसुनिएको गुनासो गरेका छन् । टिकट वितरणमा देखिएको असन्तुष्टि र पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुगेका कार्यकर्तालाई कांग्रेसको मूल प्रवाहमा फर्कनसमेत आग्रह गरेका छन् । 

कोइरालाले तत्काललाई असन्तुष्टि छातीभित्र राखेर कांग्रेसको विजयी अभियानमा होमिन कार्यकर्तालाई आग्रह गरेका छन् । ‘साथीहरूलाई राजनीतिक र व्यक्तिगत रूपमा पर्न गएको पीडा र वेदनासँग संवेदनशील छु । पार्टीभित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दछु । हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौँ । तैपनि हामी लड्छौँ । र अन्ततः जित सत्य र न्यायको हुन्छ । हामी निराश हुनेछैनौँ । अहिले हामी सबै मिलेर निर्वाचनमा कांग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्नुपरेको छ,’ कोइरालाले भनेका छन् ।