![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/chitwan-congress2022-04-27-08-11-29.jpeg)
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका कांग्रेसले नपाएपछि असन्तुष्ट बनेको समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । असन्तुष्ट पक्षबाट कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले महानगरको मेयरमा स्वतन्त्र रूपमा सोमबार उम्मेदवारी मनोनयन गराएका हुन् ।
दुईपटकसम्म भरतपुर महानगरको मेयरको उम्मेदवार बन्न नपाएपछि कांग्रेस नेता तथा कार्यकर्ताले विद्रोह गर्दै उम्मेदवारी घोषणा गरेका थिए । कांग्रेस नेता तथा तरुण दल चितवनका सहसचिव मोहित पाण्डेले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । वडाहरूमा पनि कांग्रेसका केही नेताहरूले बागी उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको झन्डा र बाजागाजासहित उनीहरू मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेका थिए ।
भरतपुर महानगरको प्रमुखमा माओवादीकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको उम्मेदवारी परेको छ । बागी उम्मेदवारी घोषणा गरेका पौडेलसँग जिल्ला पार्टीले मंगलबार दुई घन्टाभन्दा लामो समय छलफल गरेको थियो । कांग्रेस उपसभापति राजीव न्यौपानेले पौडेललगायतसँग लगातार छलफल गरिने जानकारी दिए । ‘मनोनयन दर्ता गराउनेहरू पार्टीको अभिभावक पनि हुनुहुन्छ । उहाँहरूले कांग्रेस निर्माणमा ठूलो भूमिका निर्वाह गर्नुभएको छ । त्यसैले हामीभन्दा उहाँहरू पार्टीप्रति गम्भीर हुनुहुन्छ । एकै भेटमा विषय टुंगिने कुरा भएन, हामी सबै पक्षसँग छलफलमा छौँ,’ न्यौपानेले भने ।
जनता समाजवादी पार्टी (जसपा) भने भरतपुरमा चुनावी गठबन्धनबाट बाहिरिएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनको भावना र मर्मविपरीत गएकाले गठबन्धनबाट बाहिरिएको जसपाले घोषणा गरेको छ ।
जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले मंगलबार विज्ञप्ति निकाली गठबन्धनबाट बाहिरिएको घोषणा गरेका हुन् । गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत वडाध्यक्षमा बाँडफाँट गरेको जसपाले अरोप लगाएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीद्वारा जसपालाई गठबन्धनको बैठकमा नबोलाइएको, सबै वडामा अध्यक्षसहित सदस्यहरूमा एकलौटी रूपमा बाँडफाँट गरिएको आरोप जसपाको छ ।