१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १४ बुधबार
  • Wednesday, 02 July, 2025
पत्रकार उमाकान्त पाण्डे
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १४ बुधबार o६:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पत्रकार पाण्डेले  पाए सफाइ, जेलमुक्त हुँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १४ बुधबार o६:५o:oo

रिहाइपछि पाण्डे सपरिवार अबुधावीमा बस्न पाउने

युएईको दुबईस्थित जेलमा रहेका पत्रकार उमाकान्त पाण्डे जेलमुक्त हुने भएका छन् । युएईका राजकुमार मोहम्मद बिन जायेद अल नह्यानले पाण्डेको पुनरावेदनअनुसार माफी दिएको जानकारी नेपाली दूतावास अबुधावी हुँदै परराष्ट्र मन्त्रालय आइपुगेको छ । 

अबुधावीस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल र दूतावासका स्थानीय कर्मचारीको उजुरीका आधारमा पाण्डेलाई अबुधावी प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । राजदूत ढकालले दिएको निवेदनका आधारमा युएई प्रहरीको छानबिनपछि पत्रकार पाण्डेलाई अदालतले पाँचवटा सजाय तोकेको थियो । अदालतले पाण्डेको युएईमा भएको सम्पत्ति जफत गर्ने, फेसबुक अकाउन्ट बन्द गर्ने, तीन महिना जेल, २० हजार दिराम जरिवाना र युएईबाट निकाला गर्ने फैसला सुनाएको थियो । सबै मुद्दामा राजकुमारका तर्फबाट सफाइ दिइएको छ ।

राजदूत ढकालको संलग्नता पुष्टि भएपछि अबुधावीस्थित उपनियोग प्रमुख विशाल भट्टराईसहितका कर्मचारीले परराष्ट्र मन्त्रालय र राजपरिवारका सदस्यसँग पाण्डेलाई रिहाइका लागि प्रयास गरेका थिए । ‘राजकुमारको कार्यालयबाट मुद्दामा सफाइ दिएको औपचारिक जानकारी आएको छ, अब रिहाइपूर्व केही प्रक्रिया पुर्‍याउनुपर्छ भनिएको छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘अब चाँडै नै उहाँ रिहा हुनुहुन्छ ।’ 

राजदूत ढकालको झुटो विवरणले ढिलाइ
पाण्डे पक्राउ परेपछि परराष्ट्र मन्त्रालयले राजदूत कृष्णप्रसाद ढकाललाई विस्तृत विवरण सोधेको थियो । ढकालले सुरुमा साइबर क्राइममा पाण्डे पक्राउ परेको र आफ्नो संलग्नता नभएको जवाफ दिएका थिए । तर, पत्रकार महासंघले विस्तृत विवरण सार्वजनिक गरेपछि ढकालले आफैँले उजुरी दिएको स्वीकार गरेका थिए ।

उनले दूतावासका कर्मचारीलाई पनि सुरुमा ढाँटेका थिए भने पछि आफूले उजुरी दिएको स्वीकार गरेका थिए । ‘राजदूतले सुरुमै साँचो कुरा बोलिदिएका थिए भने रिहाइका लागि धेरै अघि प्रयास हुन्थ्यो । उनको दोहोरो चरित्रका कारण रिहाइको प्रक्रियामा पनि समस्या भयो,’ परराष्ट्र स्रोतले भन्यो । 

फेसबुकमा दूतावासलाई आलोचना गरेर स्टाटस लेखेका आधारमा पत्रकार पाण्डेविरुद्ध ढकालले युएई प्रहरीमा निवेदन दिएका थिए । त्यही आधारमा अदालतले पाण्डेविरुद्ध फैसला सुनाएको थियो । रिहाइपछि पाण्डेले अबुधावीमा बस्न पाउनेछन् ।

‘उनीविरुद्ध लागेका सबै मुद्दा सकिएको छ । राजकुमारले माफी दिएपछि अब उनी गिरफ्तार हुनुपूर्वको कानुनी अवस्थामा हुनेछन्,’ परराष्ट्र स्रोतले भन्यो । सुरुमा आबुधावीको कोर्ट अफ फर्स्ट इन्स्टान्सले उनको युएईमा रहेको सम्पत्ति जफत गर्ने, फेसबुक एकाउन्ट बन्द गर्ने, तीन महिना जेल सजाय, २० हजार दिराम (करिब ६ लाख नेपाली रुपैयाँ) जरिवाना र युएईबाट देशनिकालाको फैसला गरेको थियो । पाण्डेले दिएको पहिलो पुनरावेदन निवेदनपछि जेलसजाय माफी भएको थियो भने बाँकी मुद्दा यथावत् थिए ।