विराटनगर महानगरपालिकामा एमालेले युवा नेता सागर थापालाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । आकांक्षीहरू धेरै भएकोले ११ वैशाख राति महानगर अध्यक्ष रहेका युवा सागर थापालाई मेयर पदको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको हो । विराटनगरको उपमेयर पदमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले मोरङ सचिव रूपेश खतिवडाले जानकारी दिए ।
विराटनगर महानगरमा एमालेले मेयर र उपमेयरसहित १९ वटै वडामा एक्लै उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । एमालेले विराटनगर महानगरको प्रमुख पदका लागि यसअघि पर्शुराम बस्नेत, रामलाल साह, बाबुराम कार्कीसहित पाँचजनाको नाम सिफारिस गरेको थियो । तर, बीचमा पूर्वप्रदेशमन्त्री जीवन घिमिरे र केन्द्रीय सदस्य गुरु बरालले पनि मेयर पदमा दाबी गरेपछि एमालेलाई विराटनगर महानगरमा उम्मेदवार छान्न सकस परेको थियो ।
यसैगरी थाँती रहेको मोरङको बेलबारी नगरपालिकामा डिपी राईलाई मेयर पदको उम्मेदवार बनाउने भएको छ । एमालेले मोरङका अन्य सबै पालिकामा एमालेले मेयर मात्र नभएर उपमेयरको पनि टुंगो लगाइसकेको छ ।
मोरङमा गठबन्धन पेचिलो
केन्द्रीय निर्णयअनुसार विराटनगर महानगरको मेयर कांग्रेस र उपमेयर जसपाले पाउने भएका छन् । तर, अन्य पालिकाहरूमा भने गठबन्धनमा रहेका दलहरूले कतै मिनी गठबन्धन बनाएर त कतै एक्लै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।
आइतबार साँझसम्म माओवादी केन्द्रले लेटाङ नगरपालिकामा कांग्रेसलाई मेयर दिएर आफूले उपमेयर लिने अनि सबै वडाहरूको नेतृत्व कांग्रेसलाई दिएर सदस्य मात्रै लिने सहमति गरेको छ । यता दक्षिण क्षेत्रको धनपालथान गाउँपालिका र सुनवर्षी नगरपालिकामा जसपालाई प्रमुख पद दिएर माओवादीले उपप्रमुख लिने गरी सहमति गरेको माओवादी समन्वय समिति मोरङ संयोजक विजय विश्वासले बताए । विराटनगर महानगरसहित अन्य १४ वटा पालिकामा सहमति हुन सकेको छैन ।
गठबन्धनमा रहेको अर्को दल जसपाले पनि धनपालथान गाप र सुनवर्षी नगरपालिकाको प्रमुखबाहेक अन्य कतै पनि उम्मेदवार टुंगो लगाएको छैन । भागबन्डामा उपमेयर परेको विराटनगर महानगरमा पनि उम्मेदवार टुंगो लागिनसकेको जसपा मोरङ अध्यक्ष राजकुमार यादवले बताए । यसैगरी राप्रपाले पनि मोरङमा कतै पनि उम्मेदवार टुंगो लगाएको छैन । विराटनगरमा आकांक्षी धेरै भएकाले उम्मेदवार टुंगो लाउन सकस भइरहेको राप्रपा मोरङले जनाएको छ ।