मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Monday, 23 December, 2024
रोशन जनकपुरी
२o७९ बैशाख १२ सोमबार o६:५६:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पराई होइन भौतिकवाद

अध्यात्मवादीहरूले भौतिकवादलाई पश्चिमी विचार अर्थात् विदेशी विचारको अनुकरण र प्रभावका रूपमा प्रचारित गरे पनि यो पराई विचार भने होइन

Read Time : > 4 मिनेट
रोशन जनकपुरी
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार o६:५६:oo

दुई साता पहिले भारतको पुरी गोबद्र्धन पीठका जगदगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती जनकपुरमा जानकी मन्दिर दर्शन गर्न आएका थिए । आठौँ शताब्दीमा जन्मिएका आदिगुरु शंकराचार्यले वैदिक धर्मको पुनरोत्थानको उद्देश्यले चारवटा पीठ स्थापित गरेका थिए । पुरी तीनैमध्येको एक हो । क्रिस्चियनहरूमा पोपजस्तै हिन्दूमा शंकराचार्य धार्मिक प्राधिकारी मानिन्छन् ।

शंकराचार्यले आफूलाई समकालीन राजनीतिभन्दा पृथक् र मानिसको धार्मिक कल्याणका निम्ति समर्पित भन्ने गर्छन्, तर यथार्थमा उनीहरू शासकवर्गसँग कहिल्यै निरपेक्ष रहन्नन् । वस्तुतः शंकराचार्यको पद आफैँमा एउटा सत्ता हो, जसले अन्य सत्ता र शासकवर्गलाई आफूअनुकूल बनाउन शास्त्र र शस्त्र दुवैको प्रयोग उचित मान्छ । वर्तमानको राजनीतिप्रधान सत्ता पूर्णतः उनले चाहेजस्तो नभए पनि उनीहरू आफ्नो धार्मिक सत्ता कायम राख्न शासकवर्गसँग सहकार्यमै हुने गर्छन् । अर्कातर्फ जनताको धार्मिक मानसिकताका कारण शासकवर्ग पनि शंकराचार्यको आशिष पाउन हमेसा लालायित हुने गर्छन् । अब त यस गठजोडमा धनकुबेरहरूको भूमिका पनि बढ्दै गएको छ ।

आदि शंकराचार्यले वैदिक वाङ्मयविपरीत दार्शनिक परम्परामा भएका तर्क र बहसका परम्परामाथि बलात् रोक लगाए । उनले वेदविपरीतका सबै तर्कलाई असत्य भने र वेदोक्तलाई मात्र प्रमाण माने । आफ्नो सत्य स्थापित गर्न उनले शस्त्र र शास्त्र दुवै प्रयोग गरे । उनको त्रिशूलधारी सन्न्यासी जत्थाबाट उत्पन्न भयका कारण तत्कालीन राज्यहरूले घुँडा टेकेर उनको शरणागत भए । यद्यपि आदि शंकराचार्य आफ्नो समयको अत्यन्त प्रतिभाशाली विचारक थिए, यसमा दुई मत छैन ।
सत्तामाथिको पकड तथा दार्शनिक क्षेत्रमा निषेधात्मक प्रवृत्तिका कारण सामाजिक चिन्तनमा जडता बढ्दै गयो । विगतका वैज्ञानिक खोज, दार्शनिक बहस तथा भौतिकवादी समृद्ध परम्परा स्मृतिबाट हराउँदै गए । जाति, वर्ण र पौरुषेयको महिमामा आधारित अतार्किक–अवैज्ञानिक चलन, परम्परा तथा चिन्तन–व्यवहार नै सत्यजस्तो लाग्न थाल्यो । स्वामी निश्चलानन्दलगायत जगद्गुरु शंकराचार्य आदिगुरुका तिनै ‘नित्य’ ब्रह्मवादी मतलाई प्रचारित गर्छन् ।

स्वामी निश्चलानन्द जनकपुरमा जसरी धर्मनिरपेक्षताको आलोचना गर्दै संविधानविपरीत नेपाललाई हिन्दू राष्ट्रका रूपमा सम्बोधन गरिरहेका थिए र भारत, पाकिस्तान, नेपालसहित अफगानिस्तानसमेत मिलाएर बृहत् हिन्दू राष्ट्रको अपेक्षा व्यक्त गरिरहेका थिए, त्यो एकातिर नेपाली प्रतिगामी र संकीर्ण राष्ट्रवादको समर्थन तथा सँगसँगै भारतको दक्षिणपन्थी संकीर्ण हिन्दूराष्ट्रवादी संगठन राष्ट्रिय स्वयंसेवक संघको दीर्घकालीन लक्ष्यको प्रचारसमेत थियो । यो नेपाली समाजमा विकसित भइरहेको आधुनिक चिन्तनविपरीत अतीतमुखी जड चिन्तनको अभिव्यक्ति पनि थियो । युट्युबमा स्वामी निश्चलानन्दका अनेकौँ प्रवचन छन्, जसमा उनले विधवाविवाहको विरोध गरिरहेका छन्, समाजको जातीय विभाजन, हिन्दू समाजमा वर्ण व्यवस्थाको अनिवार्यता, पौरुषेय बल तथा नारीको दोयमपनालाई समर्थन गरिरहेका छन्, वेदलाई विज्ञानका सबै आविष्कारको स्रोत तथा वैज्ञानिक तर्क र उपलब्धिलाई निरर्थक भनिरहेका छन् । यो अस्वाभाविक होइन । उनले तिनै मतको प्रवद्र्धन गरिरहेका छन्, जो उनका आदिगुरु शंकराचार्यले स्थापित गरे । 

आदिगुरु शंकराचार्यको यस तर्क निषेधी प्रवृत्तिका कारण मध्यकालमा विकसित यी धार्मिक आदर्शवादी चिन्तन, परम्परा र अन्धविश्वास आमजनलाई श्रेष्ठ र आफ्नो र आफ्नै धरातलबाट विकसित भौतिकवादी बहस र चेतना परार्ई लाग्न थाल्यो । विचार र चिन्तनको क्षेत्रमा यो भयानक दुर्घटना थियो, जसले दक्षिण एसियाली समाजलाई आफ्नै भौतिकवादी र वैज्ञानिक अतीतप्रति अपरिचित बनाइदियो । अध्यात्मवादीहरू भौतिकवादलाई पश्चिमी विचार अर्थात् विदेशी विचारको अनुकरण र प्रभावका रूपमा प्रचारित गर्छन् । तर, रसायन शास्त्र, चिकित्सा शास्त्र र गणित ज्योतिषका उपलब्ध ग्रन्थले भौतिकवादविरोधी ती प्रचारलाई झुटा साबित गर्छन् ।
वेदान्ती विद्वान्हरूको एउटा अर्को जमात पनि छ, जसले विज्ञानको विकास उपनिषद्को संरक्षणमा भएको तर्क गर्छन् । यो तर्क गणित ज्योतिषलाई फलित ज्योतिषमा परिवर्तन गरिएको अर्थमा त सत्य हुन सक्छ, तर विज्ञानको अन्य शाखाको हकमा यो कल्पना मात्र हो ।

वस्तुतः आज हामीसँग विज्ञान विषयक जति स्रोत साहित्य उपलब्ध छन्, त्यसमा उपनिषद्कालदेखि नै थपिएका विज्ञानेत्तर विचार विविध तर्क र क्षेपक कथाका कारण यसको मूल स्वर अस्पष्ट र हास्यास्पदसमेत भएका छन् । यी ग्रन्थको सचेत र विवेकपूर्ण अध्ययन गर्दा हाम्रा पुर्खाको प्रकृतिआश्रित वस्तुपरक र भौतिकवादी विचारबारे जानकारी प्राप्त हुन्छ र यो पश्चिमी विचारको अनुकरण होइन, विवेकपूर्ण वैचारिक परम्पराको विकास हो भन्ने जानकारी प्राप्त हुन्छ ।

आमजनमानसलाई मध्यकालमा विकसित धार्मिक आदर्शवादी चिन्तन, परम्परा र अन्धविश्वास श्रेष्ठ तथा आफू र आफ्नै धरातलबाट विकसित भौतिकवादी बहस र चेतना पराई लाग्नु विचार र चिन्तनको क्षेत्रमा भयानक दुर्घटना थियो

पूर्वीय परम्परामा भौतिकताका ठोस आधार चिकित्सा विज्ञानमा हेर्न सकिन्छ । चरक संहिता चिकित्सा पद्धति, द्रव्य र औषध तथा खानपान (प्याथोलोजिकल, मेडिसिन, डायटिङ) विषयक छ भने सुश्रुत शल्य (सर्जरी) विषयक छ । चरक र सुश्रुतका रचनाकार गौ, ब्राह्मण, गुरु, सिद्ध पुरुष तथा आचार्यको पूजा गर्नुपर्छ भनेर अध्यात्मवादीको आदर गरिरहेका देखिन्छन्, तर निरोगी र शक्तिशाली हुनलाई गोमांस भक्षणको उपाय सुझाएर आफ्नो भौतिकवादी प्रवृत्तिको परिचय पनि दिन्छन् । सुश्रुत संहितामा भनिएको छ : ‘ग्वयं केवलवातेषु पीनसे विषमज्वरे । शुष्ककासश्रमत्य अग्निमांसक्षयहितं च तत् ।।’ अर्थात् गौमांस केवल वातजन्य रोग, पिनास रोग, विषम ज्वर, सुक्खा खोकी, परिश्रमजन्य कार्य, भस्मक रोग र मांसक्षयजन्य रोगमा लाभप्रद हुने गर्छ ।

यसरी नै चरक संहितामा एकातिर ब्रह्मचर्यलाई मोक्षको एक मात्र मार्ग भनिएको छ, भने अर्कातिर सम्भोग क्षमता बढाउन बाजीकरणको रसायन सेवन गर्न पनि निर्देश गरिएको छ : ‘प्रकामं च निषेवेत मैथुनं शिशिरागमे...।’ चरक र सुश्रुत संहितामा शरीरलाई स्वस्थ बनाउन यस्ता अनेकौँ विधि सुझाइएका छन् । राज्याश्रित धर्माधिकारी र नीतिकारको भयले यी भौतिकवादी प्राचीन चिकित्सकले भाववाद वा अलौकिकताको समर्थन गरे, तर पनि ब्रह्मवादी तथा अद्वैत वेदान्ती आदर्शवादी दार्शनिकबाट प्राचीन चिकित्सकहरू उपेक्षित र अपमानित भइरहे ।

वेदान्ती अथवा औपनिषदिक आचार्यहरूले आत्मालाई अनश्वर र शरीरभन्दा पृथक् मान्छन् तथा यसैकारण शरीरलाई दोषयुक्त भन्दै यसप्रति अवमाननाको भाव राख्छन् । अर्कातिर चरक तथा सुश्रुत संहितामा शरीर र जीवनको समृद्धिको उपाय बताइएको छ, चरक संहितामा भनिएको छ ः ‘शरीरं ह्यस्य मूलं, शरीर मूलश्व पुरुषे भवती’ अर्थात् पुरुषको शरीर नै मूल हो र शरीर मूल भएको नै पुरुष हो । सुश्रुत संहितामा यस पुरुषलाई पञ्चभूतबाट निर्मित भनिएको छ, जुन प्राचीन आद्यभौतिकवादीसँग मिल्छ ।

प्राचीन बौद्ध र जैनको काल वैदिक भाववादीहरूका निम्ति विपरीत परिस्थिति भए पनि आदि शंकराचार्यको उदयपछि जड भाववादी दर्शन पुनः स्थापित हुन सफल भयो । शंकर कतिसम्म असहिष्णु छन् भने वैदिक वाङ्मयभित्रै विकसित कपिल मुनिको सांख्य दर्शनलाई समेत उनी अवैदिक, निन्दनीय र घृणायोग्य भन्छन् । यसको एक मात्र कारण सांख्य दर्शनले मानवीय अस्तित्व र जगत्को उत्पत्तिको प्रश्नको समाधानमा तर्कको प्रयोग गर्नु हो । पछि सांख्य दर्शनमा पतञ्जलीले ईश्वरको विचार थपेपछि मात्र सेश्ववर सांख्यका रूपमा वेदान्तीले यसलाई मान्यता दिए । कपिलको सांख्यले शरीरभन्दा बाहिर अन्य सत्ताको अस्तित्व अस्वीकार गर्छ । 

यसले अध्यात्मवादीले भनेजस्तै भौतिकवाद र अनिश्वरवाद पश्चिमा विचारको अनुकरण होइन, बरु मानवीय विचारको विकासको क्रममा अभौतिकीय आदर्शवादविरुद्ध संघर्ष गर्दै आएको पूर्वीय समाजकै भौतिकवादी विचार र प्रवृत्ति हो भन्ने बुझिन्छ । वस्तुतः मध्यकालमा शंकराचार्यले भनेको वेदान्त दर्शनको पुनरोत्थान भौतिकवादी विचार तथा वैज्ञानिक सत्यतामाथि राज्यसत्ताको दण्ड र ‘विजेताको सत्य र न्याय’ मात्र हो । यसको नकारात्मक परिणाम नै भन्नुपर्छ कि भौतिकवाद र प्राचीन वैज्ञानिक खोजको श्रेय पूर्वीय चिन्तन परम्परा र व्यवहारले पाउनुपर्नेमा पश्चिमका दार्शनिक र वैज्ञानिकले पाएका छन् । एघारौँ शताब्दीका एकजना इरानी इतिहासकार अल बरुनीले बाराहमिहिर र ब्रह्मगुप्तको चर्चा गर्दै दक्षिण एसियाली गणितज्ञ र ज्योतिष वैज्ञानिकले सूर्यग्रहण र चन्द्रग्रहणको सटिक कारण छैटौँ शताब्दीमै खोजिसकेको बताएका छन् । तर, यो निष्कर्ष थाहा पाउन हामीले पश्चिमा भौतिकशास्त्रीले खोज गरेसम्म थप बाह्रसय वर्ष कुर्नुपर्‍यो ।

यसको एउटा मात्र कारण थियो, ती खोजले आमजनताबीच स्थापित अन्धविश्वासको जालो च्यातिन्थ्यो र पुरोहितवादी पसल बन्द हुन्थ्यो । तत्कालीन राज्यका निम्ति यो पुरोहितवाद (ब्राह्मणवाद) सबैभन्दा बलियो सुरक्षा घेरा थियो, जसले शासकलाई देवप्रतिनिधि घोषित गरेको थियो । यसबाट के बुझिन्छ भने वैज्ञानिक विकासका निम्ति राज्यसत्ताको चरित्र पनि अग्रगामी हुनुपर्छ ।

स्वामी निश्चलानन्द र उनी टाइपका अध्यात्मवादी आदर्शवादी गुरु र आचार्यहरू जब भौतिकवादी विचार र व्यवहारलाई झुटो साबित गरिरहेका हुन्छन्, त्यसको पछाडि एक मात्र कारण अन्धविश्वास र पुरोहितवादी वर्चस्व तथा शोषणमा परेकालाई भाग्यवादी बनाएर सत्ताको दमनलाई औचित्यपूर्ण बनाउने दुष्प्रयत्न मात्र लुकेको हुन्छ । विडम्बना के छ भने हाम्रो समकालीन परिवेशमा अभौतिकीय र दैवीय सत्ताको भ्रम अहिले पनि कायम छ । यसबाट मुक्ति अहिले पनि चुनौतीपूर्ण नै देखिन्छ । समाजका सबै आयाममा यो भ्रमपूर्ण चिन्तनले अहिले पनि गहिरो गरी जरा गाडेको छ । तर, आधुनिक समाजको पंक्तिमा आफूलाई उभ्याउनका निम्ति यो चुनौती स्विकार्नुको विकल्प छैन ।