मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Thursday, 19 December, 2024
रोशन जनकपुरी
२o७८ चैत २८ सोमबार o७:४o:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आहुति, जात र नवमार्क्सवाद

मार्क्सलाई ‘जात’ व्यवस्थाबारे थाहा थिएन भन्नु उनको लेखनप्रतिको अज्ञानता मात्र हो मार्क्सवाद

Read Time : > 4 मिनेट
रोशन जनकपुरी
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार o७:४o:oo

‘याे वर्गसंघर्ष हो ! यो वर्गसंघर्ष नै हो !’ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति पार्टीको पहिलो राष्ट्रिय भेलाको उद्घाटन सत्रमा आफ्नो राजनीतिक लाइनको दृढतापूर्वक वकालत गरिरहेका थिए । तर, भेलाको ब्यानरमा मार्क्सवाद लेनिनवाद माओवाद लेखिए पनि उनले गरेको व्याख्या भने नयाँ थियो । यसबारे उनको पार्टीको राजनीतिक दस्ताबेजहरूमा विषद रूपमा व्याख्या गरिएको छ । 

आहुतिले नेपाली समाजको ऐतिहासिक विश्लेषण गर्दा मार्क्सवादको सर्वहारावादी दृष्टिकोणप्रति सहमति जनाए पनि उनी नेपाल र दक्षिण एसियामा उत्पीडित ‘जात’ समुदाय मुख्य श्रमजीवी समुदाय भएकाले वर्गमुक्तिको प्रश्नमा ‘जात’ व्यवस्थाको उन्मूलनलाई प्रधान प्रश्नको रूपमा खडा गर्छन् ।  आहुतिको अर्को महत्‍वपूर्ण धारणाअनुसार वर्तमान समयमा विज्ञानको अभूतपूर्व विकासका कारण मानवीय श्रमको भूमिका घट्दै गएको तथा मेसिनका कारण मानवीय श्रमभन्दा धेरै–धेरै उत्पादन हुनुले विज्ञान अर्थात् मेसिनलाई मुख्य उत्पादक शक्तिमा प्रतिस्थापित गर्नु हो । त्यसरी नै उनको अर्को महत्‍वपूर्ण विचारमा सूचना, सञ्चार र विज्ञानको अभूतपूर्व विकासका कारण एक्काइसौँ शताब्दीमा साम्राज्यवादको चरित्र लेनिनले व्याख्या गरेको भन्दा फरक भएको छ । आहुतिका विचारमा एक्काइसौँ शताब्दीमा साम्राज्यवादको चरित्रमा जुन नयाँ खाले वित्तीय सम्बन्धहरूको विकास भएको छ, त्यो लेनिनले साम्राज्यवादबारे गरेको व्याख्याभन्दा फरक छ । उनको विचारमा यस स्थितिसम्म लेनिनको दृष्टि पुगेन र त्यसैले वर्तमान युगमा साम्राज्यवादविरुद्धको संघर्षमा विचार र व्यवहार दुवैमा नयाँ अवधारणा विकास गर्नुपर्ने आवश्यकता छ । 

विशिष्ट रूपमा लेनिनले भविष्य नजान्नु त मानवीय स्वभाव नै भयो, तर उनको समयमा बैंक र बिमा कम्पनी तथा वित्तीय संस्थाहरूको भूमिका जसरी बढ्दै गएको थियो, लेनिनले साम्राज्यवादको मूल चरित्र वित्तीय हुने तथ्य उनले त्यतिवेलै ठम्याइसकेका थिए । ‘साम्राज्यवाद पुँजीवादको चरम अवस्था’ नामक प्रसिद्ध कृतिमा साम्राज्यवादको एकाधिकारी चरित्रका कारण साम्राज्यवादी शक्तिबीच वर्चस्वका निम्ति हुने प्रतिस्पर्धा र विश्वको विभाजनबारे लेनिनका प्रस्थापनाहरू बीसौँ शताब्दीमा दोस्रो विश्वयुद्धमा सटिक त थिए नै, एक्काइसौँ शताब्दीमा पनि जसरी विश्व महामन्दीबाट गुज्रिँदै नयाँ विभाजन र साम्राज्यवादी शक्तिबीच युद्धको स्थिति घनीभूत हुँदै छ, त्यसले उनको दूरदर्शिता र सान्दर्भिकता दर्साउँछ । यसले वर्तमानमा लेनिनको साम्राज्यवादविरुद्धको सर्वहारावादी क्रान्तिको औचित्य पनि पुष्टि गर्छ ।

विगत केही वर्षदेखि मार्क्सवादी आन्दोलनभित्र दक्षिण एसिया (विशेषगरी नेपाल र भारत) मा वर्गीय प्रश्नलाई वर्ण वा जात र जातीय प्रश्नहरूको समानान्तर अथवा वर्गभन्दा पनि प्रमुख प्रश्नका रूपमा व्याख्या गर्ने प्रवृत्ति विकसित हुँदै गएको देखिन्छ । भारत र नेपालमा सबैभन्दा बढी श्रमिक उत्पीडित ‘जात’ समुदायभित्र रहेको र यसबारे मार्क्स अनभिज्ञ रहेकाले उनको वर्गीय मुक्तिको सिद्धान्तले जातीय शोषणबाट मुक्तिको प्रश्नलाई उचित रूपमा सम्बोधन नगर्ने धारणा गैरमार्क्सवादीले मात्र होइन, स्वयं मार्क्सवादीले समेत व्यक्त गर्छन् । तर, यथार्थ यसभन्दा भिन्न छ । 

मार्क्स भारत र नेपाल आएनन् । तर, दक्षिण एसियाली समाजमा रहेको वर्ण व्यवस्था र जात व्यवस्थाबाट उनी परिचित रहेको उनका रचनाबाट बुझिन्छ । यस क्षेत्रबारे प्रारम्भमा उनको बुझाइ गलत थियो, तर आफ्ना पछिल्ला लेखनमा उनले आफ्ना गलत बुझाइलाई सच्याए । मार्क्सलाई ‘जात’ व्यवस्थाबारे थाहा थिएन भन्नु उनको लेखनप्रतिको अज्ञानता मात्र हो । भारतमा बुर्जुवा समाजवादका चिन्तक मानिने राममनोहर लोहियाले ‘मार्क्स भारतमा जन्मेको भए वर्गीय होइन, वर्णवादी हुन्थे’ भन्नु यस्तै खाले चिन्तन थियो । भारतमा दलित चिन्तक तथा राजनीतिज्ञ डा. भीमराव अम्बेडकरले पनि यसै धारणालाई दलित मुक्तिको विचारका रूपमा अगाडि बढाए । यस वैचारिक मिथको भ्रमले अब त मार्क्सवादी आन्दोलनभित्र पनि भ्रम सिर्जना गरिरहेको छ । 

मार्क्सले दक्षिण एसिया (उनको रचनामा इन्डिया) मा रहेको जात (कास्ट) व्यवस्थाबारे आफ्ना रचनामा कम्तीमा आठ ठाउँमा उल्लेख गरेका छन् । प्रसिद्ध पुस्तक ‘जर्मन विचारधारा’मा दक्षिण एसियामा रहेका जात प्रथालाई उनले ‘अपरिष्कृत र अशिष्ट सामाजिक व्यवस्था’ र ‘विशिष्ट प्रकारको श्रम विभाजन’ भनेका छन् । त्यस्तै सन् १८४६ मा ‘दर्शनको दरिद्रता’ नामक कृतिमा उनले लेखेका छन्, ‘के जात प्रथा पनि विशेष प्रकारको श्रम विभाजन थिएन ? के निगम (कर्पोरेसन्स) व्यवस्था पनि अर्को खाले श्रम विभाजन थिएन ? र बृहत्स्तरको आधुनिक उद्योगमा श्रम विभाजनभन्दा पूर्णतः भिन्न इंग्ल्यान्डमा सत्रौँ शताब्दीमा सुरु भएर अठारौँ शताब्दीमा अन्ततिर पुगेको उत्पादन व्यवस्था श्रम विभाजन होइन ?’ 

आहुति र उनको पार्टीका नेता र कार्यकर्ताको इमानदारीमा अहिले नै प्रश्न उठाउने वेला नभए पनि उनीहरूको विचार नवमार्क्सवादी विचलनमा छ भन्नु अनुपयुक्त हुँदैन

‘दर्शनको दरिद्रता’मै मार्क्सले लेखे, ‘पितृ व्यवस्थाअन्तर्गत, जात व्यवस्थाअन्तर्गत, सामन्त र निगम व्यवस्थाअन्तर्गत, एउटा निश्चित शासनबमोजिम सम्पूर्ण समाजमा श्रम व्यवस्था लागू थियो । के यी नियम कुनै विधायकबाट स्थापित थिए ? होइन । यिनीहरू भौतिक उत्पादनका अवस्थाबाट जन्मेका थिए, यिनीहरू कानुनको हैसियतमा धेरै पछि ग्रहण गरिए । यसरी श्रम विभाजनका सबै रूप सामाजिक संगठनका विभिन्न आधार भए ।’ यसरी नै सन् १८५९ मा ‘ए कन्ट्रिब्युसन टु द क्रिटिक अफ पोलिटिकल इकोनोमी’मा जातबारे उनका विचार अत्यन्त महत्‍वका छन् : ‘....अथवा, विधिले निश्चित परिवारभित्र भूमि स्वामित्व अथवा श्रमलाई वंशाणुगत विशेषाधिकारका रूपमा कायम गर्न चाहन्थे, त्यसैकारण यसलाई (श्रम विभाजनलाई) जात व्यवस्था (कास्ट सिस्टम) मा सुदृढ गरे ।’ मार्क्सको यस धारणाले जातको जन्मजातपना र भूमि–स्वामी तथा श्रमिक जातबीचको असमान श्रेणी तथा यसैकारण सामाजिक विभेदको तन्तुलाई प्रस्टसँग पक्रेको छ । मार्क्सका रचनामा यस्ता अनेकौँ उदाहरण छन्, जसले दक्षिण एसियाली समाजमा जात व्यवस्था र यसका शोषणमूलक प्रभावबाट उनि परिचित थिए भन्ने जनाउँछ । 

नेपाली समाजको व्याख्या र यसमाथि जात व्यवस्थाको विस्तारित प्रभावको व्याख्या गर्दा आहुति जब उत्पीडित जातको समस्या र मुक्तिका निम्ति, वर्गको समानान्तर जातिलाई उभ्याउन खोज्छन्, उनी जात पनि श्रमविभाजनको परिणाम हो र जुन अनुपातमा श्रमशोषणको अन्त्य हुँदै जान्छ, जातीय शोषण पनि त्यही अनुपातमा अन्त्य हुँदै जाने मार्क्सवादी मान्यतालाई उपेक्षित गरिरहेका हुन्छन् र नयाँ गर्ने नाममा जानी–नजानी पछाडि फर्कन्छन् । आहुतिको पार्टीले अन्य कम्युनिस्ट पार्टीभन्दा भिन्न, एउटा हँसिया–हथौडा भएको पारम्परिक झन्डा र अर्को हँसिया–हथौडा भएको हातमा रिमोट भएको गरी दुईवटा झन्डा प्रयोग गर्छ । यसले मार्क्सवाद केही अपुरो छ, जसलाई आहुतिको पार्टी पूरा गर्न चाहन्छ भन्ने देखाउँछ । 

यस ‘नयाँ’मध्ये एउटा वर्गको समानान्तर जातको प्रतिस्थापन, अर्को वैज्ञानिक आविष्कारलाई साधनबाट उत्पादन शक्तिमा प्रतिस्थापन र तेस्रो साम्राज्यवादबारे लेनिनको व्याख्यामा अपूरोपना हो । भन्नु परेन, यो मालेमावादको वर्गधारणा र क्रान्तिबारे फरक धारणा हो । आहुतिको नयाँ स्थापना भनेको वैज्ञानिक आविष्कारहरूलाई उत्पादनको शक्ति मान्नु हो । उत्पादन प्रक्रियामा मूल धारमा रहेको उत्पादन सम्बन्धको कुलयोग (स्वामित्व, श्रम र उत्पादन) मध्ये उत्पादक शक्ति (श्रमजीवी, श्रमशक्ति–मानिस) प्रमुख हो । आहुतिको यस व्याख्याले समग्र उत्पादन प्रणालीमा सर्वहारा श्रमिकको ठाउँमा वैज्ञानिक आविष्कार अर्थात् मेसिन अर्थात् उत्पादनको साधनलाई स्थापित गरिदिएपछि गडबडी उत्पन्न हुन्छ । यसले उत्पादन प्रणालीमा उत्पादन सम्बन्धलाई विस्थापित गर्नु अर्थात् उत्पादन सम्बन्धको कुल योग र उत्पादक शक्तिबीचको अन्तर्विरोधलाई गायब गर्नु वा निषेध गर्नु हो । यसपछिको संघर्ष सामाजिक समुदायबीचको संघर्षमा अभिव्यक्त हुन्छ । यसले वर्गसंघर्ष र उत्पादन प्रक्रियाको मूलाधारमा उभिएको सर्वहारा वर्ग वा श्रमिकको ठाउँमा ऊजस्तै उत्पीडित र दमित सामाजिक समुदाय ‘जाति’ (उत्पीडित र उत्पीडित सांस्कृतिक समुदाय) लाई प्रतिस्थापित गर्छ, र सामाजिक आन्दोलनलाई नै वर्गसंघर्षको रूप भन्न सहज हुन जान्छ ।

जहाँसम्म मार्क्सवादको कुरा छ, यसले प्रत्येक सामाजिक संघर्षमा वर्गीय अन्तर्वस्तु उपस्थित हुन्छ र सामाजिक आन्दोलनहरू, समाज विशेषको सामाजिक अन्तर्विरोधबाट जन्मिने वर्गसंंघर्षकै विरुपित वा परोक्ष रूप हो भन्ने स्वीकार गर्छ । कम्युनिस्टहरूले यस्तो आन्दोलनमा भाग लिनुको उद्देश्य यसलाई मूल अन्तर्विरोध अधीनस्थ ल्याउनु हो । किनभने मूल अन्तर्विरोधको हल हुनुसँगै सहायक अन्तर्विरोधहरू पनि हल हँुदै जान्छन् । 

सन् १९९० मा सोभियत संघको विघटनपछि विश्वव्यापी मार्क्सवादी आन्दोलनमा एकखाले नैराश्य तथा पलायनको स्थिति सिर्जना भयो । नेपालमा जनयुद्धको विघटनपछि स्थिति यस्तै देखिन थालेको छ । गैरमार्क्सवादीले नकारात्मक प्रपोगान्डा मच्चाउनु त स्वाभाविकै हो, मार्क्सवादीहरूसमेत यस नकारात्मक प्रवाहमा बग्दै गइरहेको देखिन्छ । थरीथरीका मार्क्सवादी विचारहरू यसैका परिणाम हुन् । हुँदाहुँदा त ‘नयाँ’ गर्ने ध्याउन्नमा मार्क्सवादभन्दा पर पुगिसकेको हेक्कासमेत गुमेको स्थिति छ । 

विश्व मार्क्सवादी आन्दोलनमा नवमार्क्सवादको नाममा उस्तै–उस्तै लाग्ने तर भिन्न एउटा सम्पूर्ण विचारधारा नै विकसित भएको पाइन्छ, जसले वर्ग–विश्लेषण, पार्टी, राज्य र क्रान्तिका प्रश्नहरूमा मूल प्रस्थापनाबाट बच्न वा हट्नका निम्ति पहिचान र अस्मिता (अस्तित्व)को राजनीतिजस्तो शब्दावलीको प्रयोग गर्छ । मार्क्सवादी आन्दोलनभित्र यस्तो समूहले मार्क्सवादी आन्दोलनको विफलताका निम्ति जानी–नजानी विचारधारालाई नै कारणको रूपमा व्याख्या गर्न चाहन्छ । तर, यसको मूल कारण विचारधाराको आत्मसातीकरण अर्थात् वैचारिक स्खलनमा निहित छ । आहुति र उनको पार्टीका नेता र कार्यकर्ताको इमानदारीमा अहिले नै प्रश्न उठाउने वेला भएको छैन, तर उनीहरूको विचार नवमार्क्सवादी विचलनमा छ भन्नु अनुपयुुक्त हुँदैन ।