मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १० शनिबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काडमाडौं
२o७९ बैशाख १० शनिबार १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चन्द्रागिरि नगरपालिकाले सच्यायो साडी वितरणसम्बन्धी सूचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काडमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १० शनिबार १७:१५:oo

चन्द्रागिरि नगरपालिकाको वडा नं ८ को कार्यालयमा साडी बाँड्ने सूचनाले सामाजिक सन्जालमा तरंग फैलाएको छ। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नगरपालिकाले साडी बाँड्ने कार्यक्रम राखेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सामाजिक सन्जालमा निकै आलोचना भइरहेको छ।

सूचनाबारे निर्वाचन आयोगले समेत चासो देखाएपछि वडा कार्यालयले साडी वितरण कार्यक्रमको सूचना भ्रामक रहेको भन्दै खण्डन गरेको छ। वडा कार्यालयले महिलाहरूलाई तालिम तथा साडी वितरण कार्यक्रम यसअघि नै वडाकोे कार्यक्रममा समावेश गरिएको र निर्वाचन लक्षित नभएको भन्दै खण्डन गरेको हो।

‘शनिबार दिउँसो २ बजे साडी वितरण गर्ने भनिएको भ्रामक सूचना प्रकाशित भएकोमा त्यस्ता प्रकारका कुनै कार्यक्रम नभएको व्यहोरा यो सूचनामार्फत जानकारी गराइएको छ,’ वडा कार्यालयको सूचनामा भनिएको छ। तर, साडी वितरण गर्ने यसअघिको सूचना वडा कार्यालयमा कार्यरत सचिव जमुना सुवेदीले नै जारी गरीकी थिइन्। उनले सूचना जारी गर्नु आफ्नो गल्ती भएको बताएकी छिन्।

वडाध्यक्ष सन्तोष खड्काले साडी वितरणसम्बन्धी कार्यक्रमको सूचना गलत भएको बताए। ‘महिलाको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गतका विभिन्न शीर्षकहरूमा साडी वितरणको कार्यक्रम पनि थियो। निर्वाचनअगाडि यो कार्यक्रम राख्न मिल्ने-नमिल्नेबारे पनि हामीले सल्लाह गरिरहेका थियौँ। मलाई यो सूचनाबारे जानकारीसमेत थिएन,’ वडाध्यक्ष खड्का भन्छन्,  ‘सचिवज्यूले लेटर हेड प्रयोग गरेर सूचना जारी गर्नुभएछ। अहिले सोध्दा गल्ती भयो भन्नुहुन्छ।’

वडा कार्यालयले ‘महिलाहरूलाई तालिम तथा सामान वितरण’ कार्यक्रमअन्तर्गत साडी वितरणका लागि एक लाख ५० हजारबराबरका १५० वटा साडी खरिद गरेको छ। आलोचनापछि वडा कार्यालयलये साडी वितरण भने गरेको छैन।