१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १० शनिबार ०९:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साउदीमा नेवानिको उडान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १० शनिबार ०९:३२:००

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले शुक्रबारदेखि साउदी अरेबियाको राजधानी रियादमा नियमित उडान सुरु गरेको छ । नेवानिको पहिलो उडान साँझ सवा पाँच बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रियादका लागि प्रस्थान गरेको थियो । 

नेवानिले काठमाडौं–रियाद साताको दुई उडान गर्ने जनाएको छ । रियादका लागि भाडादर प्रतियात्रु ३७ हजार रुपैयाँ तोकिएको छ । नेवानिले तयार पारेको अप्रिल र मे महिनाको रियाद उडान तालिकामा हप्तापिच्छे उडान गर्ने बारहरू फरक–फरक राखिएको छ । निगमले आफ्नो उडान इतिहासमा रियादलाई आफ्नो हवाई गन्तव्यका रूपमा समेट्न पाउँदा उत्साहित भएको जनाएको छ ।

चार वर्षको प्रयासपछि नेवानिले साउदी अरेबियाका तीन सहर रियाद, दमाम र जेद्दामा व्यावसायिक उडान गर्ने अनुमति पाएको हो । साउदी अरेबियाको जनरल अथोरिटी अफ सिभिल एभिएसन (जिएसिए)का अधिकारीले २२ फागुनमा साउदी अरेबियाको रियादस्थित नेवानिको सम्पर्क कार्यालयमै पुगेर औपचारिक रूपमा उडान अनुमति दिएको थियो । अनुमति पाएका साउदीका तीन सहरमध्ये रियादमा व्यावसायिक उडान सुरु भएको हो । 

वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरेर साउदी उडान सुरु गरेको नेवानिले जनाएको छ । साउदीमा नेपालकै निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि नियमित उडान गर्दै आइरहेको छ । 

नेवानिसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी एयरबस जहाज रहेका छन् । अहिले नेवानिले भारतको दिल्ली, बैंग्लोर, मुम्बई, मलेसिया, कतार, दुबई, हङकङ, जापान र थाइल्यान्डमा उडान गर्दै आइरहेको छ ।