मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मञ्जु भट्ट
२०७९ बैशाख ८ बिहीबार ०८:२८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बालबालिकाको सुरक्षा : सबैको दायित्व

Read Time : > 2 मिनेट
मञ्जु भट्ट
२०७९ बैशाख ८ बिहीबार ०८:२८:००

संसार देख्ने र चिन्ने कोसिस गर्दागर्दैका कलिला बालबालिका विभिन्न अपराधको सिकार हुनु गम्भीर चिन्ताको विषय हो 

अहिले देशभरिका धेरैजसो विद्यालयले विद्यार्थीको अन्तिम परीक्षा लिइरहेका छन् । ०७८ वैशाखदेखि नै अनलाइन कक्षा सुरु गरेका कतिपय विद्यालयले अन्तिम परीक्षा लिइसकेका छन् । विद्यालयलाई अन्तिम परीक्षाफल प्रकाशित हुँदासम्म विद्यार्थीबाट शुल्क उठाइसक्ने चिन्ता छ भने अभिभावकलाई कसरी बाँकी शुल्क तिर्ने भन्ने चिन्ताले सताइरहेको छ । ९ वैशाखदेखि कक्षा १० को एसइई पनि सुरु हुन लागेको छ । कक्षा १ देखि कक्षा ९ सम्मका विद्यार्थी झन्डै एक महिना घरमै हुनेछन् । यस्तोमा उनीहरू मोबाइललगायत विद्युतीय ग्याजेटमा भुल्नेछन् । अभिभावकलाई आफ्नो काममा जानुपर्ने नै छ । घरमा बालबालिका एक्लै हुने सम्भावना धेरै हुन्छ । यस्तो समयमा घरमै भए पनि उनीहरू असुरक्षित पनि हुन सक्छन् ।

आजभोलि बालबालिकामाथि अप्रिय घटना घटेका समाचार थुप्रै आइरहेका छन् । केही दिनअघि २० चैतमा सर्लाहीको मलंगवा नगरपालिका–१२ का ८ वर्षीय बालक खाना खाएर आफ्नै घरको दैलोमा खेलिरहेको अवस्थामा अपहरणमा परे । त्यसको केही दिनपछि छिमेकीको शौचालयको सेफ्टी ट्यांकीमा उनको शव भेटियो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ का नर्सरी र कक्षा २ मा पढ्ने दुईजना दिदीबहिनीले टिपरको ठक्करबाट ज्यान गुमाए । केही दिनअघि रामेछाप मन्थली नगरपालिका–१२ की १२ वर्षीया एक दलित बालिकालाई एउटा परिवारले दही चोरेको आरोपमा २० घन्टासम्म बाँधेर यातना दियो ।

वार्षिक परीक्षा सकिएको फुर्सदिलो समयमा बालबालिका घरमा एक्लै हुने सम्भावना धेरै हुन्छ । यस्तोमा घरमै भए पनि उनीहरू असुरक्षित हुन सक्छन् ।

खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा बाह्रबिसे नगरपालिकामा तीन बालबालिकाको घटनास्थलमै मृत्यु भयो । त्यसैगरी, उदयपुरमा १६ वर्षीया किशोरीलाई ट्युसन पढ्न जाँदै गर्दा उनकै सहपाठीले कुटपिट गरेर हत्या गरे । यी बालबालिकासँग चैत महिनामा घटेका केही प्रतिनिधि घटना मात्र हुन् । दोषी जोसुकै हुन्, कारण जेसुकै होस्, तर निर्दोष बालबालिका नै दुव्र्यवहार या मृत्युको सिकार हुनु दु:खद छ ।

धेरैजसो यस्ता आङ सिरिंग पार्ने घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेका छन् । पैसाको प्रलोभनमा परेर अपहरण गर्ने वा एकतर्फी मायाजालमा फसेर हुने दुर्घटनाले अरूभन्दा पनि बालबालिका बढी प्रभावित भइरहेका छन् । कलिला बालबालिकाले राम्रोसँग आफन्तसमेत चिन्न सकेका हुँदैनन् । संसार देख्ने र चिन्ने कोसिस गर्दागर्दै उनीहरू विभिन्न अपराधको सिकार हुने गरेका छन् । 

अपहरणमा पर्ने, हराउने, एसिड आक्रमणमा पर्ने, बलात्कारको सिकार हुने, घरेलु कामदारका रूपमा काम गर्नुपर्ने, दुर्घटनाको सिकार हुने, बेचिने, लागुपदार्थको लतमा फस्ने, सामाजिक सञ्जालका कारण यौन दुर्व्यवहारमा पर्नेजस्ता क्रियाकलापका कारण हाम्रा बालबालिका दिनदिनै असुरक्षित भइरहेका छन् ।

बिदाको समयमा अभिभावकहरूले आफ्नो काममा घरबाहिर हुँदा घरमा एक्लै बस्ने आफ्ना बालबालिकाको सुरक्षामा ध्यान दिनु जरुरी देखिन्छ । आवेगमा आएर आफन्तबाटै पनि कहिलेकाहीँ दुर्घटना हुन सक्ने हुँदा अभिभावक सधैँ चनाखो भएर बस्नुपर्छ । घरबाहिर खेल्न गएको वेला होस् या साथीसँग घुम्न वा साथीको जन्मदिन मनाउन गएको भए पनि वेलावेलामा सम्पर्कमा रहिरहनु आवश्यक हुन्छ । आफूसँगै भए पनि घरबाहिर वा घरभित्रै पनि आगलागी, करेन्ट लाग्ने, तातो पानीले पोल्ने, छतबाट खस्ने, कुवा, नहरमा डुब्न सक्ने, गाईवस्तु चराउन जाँदा भिरबाट लड्ने, सडक दुर्घटनामा पर्न सक्नेजस्ता जुनसुकै अप्रिय घटना हुन सक्ने हुँदा सकेसम्म चनाखो भएर आफ्ना बालबालिकाको सुरक्षाको पूर्ण ख्याल राख्नुपर्छ ।

आजका निर्दोष बालबालिका भोलिका कर्णधार हुन् । देशका भविष्य हुन् । आमाबुबाको बुढेसकालका सहारा हुन् । संसार चलाउने कडी हुन् । घरमा बालबालिका नहुनु भनेको पुस्ताको अन्त्य हुनु हो । संसार मानवविहीन हुँदै जानु हो । यसकारण आफ्ना मात्रै नभएर जुनसुकै, जोसुकैका बालबालिका भए पनि उनीहरूको रक्षा गर्नु सबैको कर्तव्य हो । कलिला निष्पाप बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्नु, उनीहरूको अधिकारको रक्षा गर्नु, उनीहरूलाई हानि हुने काम नगर्नु नै सबैभन्दा ठूलो धर्म हो । भगवान् खोज्न मन्दिर गइरहनुपर्दैन । साना बालबालिकाका आँखामा हेर्‍यो भने भगवान् त्यतै भेटिन्छन् । उनीहरूलाई माया र सुरक्षा प्रदान गर्नु नै मानव कर्तव्य हो ।