काठमाडौंका खाली जमिन र सडककिनार फोहोर प्लास्टिकले ढाकिएका देखिन्छन् । भारतले प्लास्टिक रिसाइकल गरेर ३३ हजार किलोमिटरभन्दा लामो सडक पिच गरिसकेको रहेछ । यस्तो पिच सामान्य पिचभन्दा तीनगुणा बढी टिकाउ हुँदोरहेछ । के नेपालले पनि यसरी जताततै फालिएका प्लास्टिक रिसाइकल गर्न सक्दैन ? कालो प्लास्टिकलाई वातावरण प्रदूषणको मुख्यकारक मानिन्छ । काठमाडौंजस्ता ठूला सहरमा कालो प्लास्टिक बन्द गरिएको भए पनि सुदूरपश्चिमका धेरैजसो जिल्लामा यसको अत्यधिक प्रयोग हुँदै आएको देखिन्छ । हामी आफू मात्र सफा भएर पुग्दैन । निरोगी बन्न वरिपरिको वातावरणसमेत सफा हुनुपर्छ ।
बाटामा थरीथरीका मानिस भेटिन्छन् । कोही आफ्नो घरको कम्पाउन्डसँगै सडक पनि बढारिरहेका हुन्छन् । कोही भने आफ्नो घरलाई धुलाम्मे हुनबाट जोगाउन सडकमा पानी छ्यापिरहेका हुन्छन् । कोही भने घर बढारेर निस्केको फोहोर सडकमै मिल्काइरहेका पनि भेटिन्छन् । कोही भने आफ्नो घरको छतबाट नजिकै रहेको खाली जमिनमा फोहोरका प्लास्टिक फालिरहेका समेत भेटिन्छन् । खाली जमिन देख्नासाथ फोहोर फालिहाल्ने, नजिकका खोलीनालामा फोहोर फाल्ने र सडककिनारमा जथाभावी फोहोर थुपार्ने सहरवासीका कारण राजधानी काठमाडौं कुरूप हुँदै गएको छ । यहाँको वातावरण दूषित हुँदै गएको छ ।
जथाभावी फोहोर फाल्नेहरूका कारणले मात्र सहरको सुन्दरतामा ह्रास आएको होइन । लामो समयसम्म सडक खनेर अलपत्र छोड्दा त्यस्ता ठाउँमा हिँड्न र बस्नै नसकिने गरी उड्ने धुलोले वृद्ध, बालबालिकालगायत सबैलाई गम्भीर असर पुर्याइरहेको छ । केही समययता काठमाडौंजस्ता ठूला सहरका सडकको अवस्थामा केही सुधार आए पनि कच्ची सडक लामो समयसम्म पिच हुन सकेका छैनन् । दिनहुँ हजारौँ गाडी गुड्ने, सयौँ मानिस हिँड्ने पशुपति क्षेत्रनजिकैको गौरीघाटदेखि नयाँपुलसम्मको सडकखण्ड बनाउन सुरु गरिएको लामो समय भइसकेको छ ।
बागमती नदीको वारिपारि दुईतिरकै करिडोर दिउँसो हेर्दा बादल लागेजस्तै धुलाम्मे भएका देखिन्छन् । पुलमाथि एक मिनेट पनि मास्कविना उभिन सकिँदैन, सास फेर्नै कठिन हुन्छ । बौद्ध घुम्न आउने पर्यटक पशुपति हुँदै गोठाटारस्थित कृष्णमन्दिर जान रुचाउँछन् । तर, धेरैजसो पैदल हिँड्न खोज्ने पर्यटक प्रदूषणकै कारण रोकिने गरेका छन् । साँघुरा कच्ची, खाल्टाखुल्टी भएका सडकबाट निस्केको धुलो, धुवाँले सडकमा हिँड्ने मान्छेलगायत घरभित्रै बस्ने बालबालिका र वृद्धवृद्धासमेत सुरक्षित छैनन् ।
प्रदूषणका कारण राजधानीमा मात्र नभई देशैभरि फोक्सो तथा मुटुरोगी बढ्दै गएको डाक्टरहरूको भनाइ रहेको छ । यसै पनि सहरमा रूखहरू कम र यातायातका साधन र कलकारखाना बढी हुने हुँदा सास फेर्न स्वच्छ हावाको कमी हुन्छ । यस्तोमा वेलावेलामा घरभित्रबाट निस्कने फोहोर कैयौँ दिनसम्म नउठ्दा हावामा झनै प्रदूषण बढ्ने गरेको छ । अहिले पनि घरबाट निस्केको फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा काठमाडौं महानगरपालिकाले घरबाट निस्केको फोहोरलाई कुहिने र नकुहिने छुट्याई कुहिने फोहोरलाई आफैँले प्रयोग गर्न आह्वान गरेको छ । सानो जमिनमा बनेका कतिपय घरका ढोकाहरू सडकमै खुल्ने गर्छन् । यस्ता घरमा थोरै जमिन पनि खाली हुँदैन । यस्तोमा कुन ठाउँमा बगैँचा बनाउने र घरबाट निस्केको फोहोर कता प्रयोग गर्ने ?
सडकमा जताततै थुक्ने, चकलेट, गुट्खाका खोल, चुरोटका ठुटा, प्लास्टिक पेपर आदि फोहोरजन्य वस्तु जताततै फाल्दै हिँड्ने बानीलाई सबैले सुधार्न जरुरी छ । यति गर्न सकियो भने
मात्र हाम्रो सहरबजार सफा हुन सक्छ । बढ्दो प्रदूषण नियन्त्रणमा आउन सक्छ ।