मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ७ बुधबार ०७:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सशस्त्रमा अनुगमन तथा मूल्यांकन एकाइको स्थापना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ७ बुधबार ०७:०२:००

तल्लो तहसम्मका कार्यालयमाथि नियमित अनुगमन गरी गल्ती गर्नेमाथि तत्काल कारबाही गर्न सशस्त्र प्रहरी बलमा अनुगमन तथा मूल्यांकन एकाइ स्थापना गरिएको छ । महानिरीक्षकको प्रत्यक्ष मातहतमा हुने गरी यस्तो एकाइ गठन गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले मंगलबार एकाइको उद्घाटन गरेका छन् ।

एसएसपीको नेतृत्वमा रहने यस्तो एकाइले सबै खालका कामकारबाहीको नियमित अनुगमन गर्ने सशस्त्र प्रहरी बलले जनाएको छ । एकाइमा चारवटा डेस्क स्थापना गरिएको छ, जसले दुई–दुईवटा बाहिनीको अनुगमन तथा मूल्यांकन गर्नेछ । अनुगमनको संरचना विगतमा भए पनि यसलाई थप शक्तिशाली बनाएर सक्रिय बनाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले बताए । यसअघि कार्य विभागअन्तर्गत अनुगमन सेल भए पनि त्यो प्रभावकारी थिएन । 

एकाइको स्थापनाले फिल्डमा भएको काम कारबाही सोझै महानिरीक्षकमा जानकारी हुँदा निर्देशनमा स्पष्टता हुने, माथिल्लो निकायको प्रत्यक्ष सुपरभिजनले तल्लो तहमा बसेर काम गर्ने कमान्डर तथा जवानहरूलाई थप जिम्मेवार बनाई कार्यसम्पादनमा स्पष्टता र प्रभावकारिता आउने महानिरीक्षक केसीले बताए । ‘केन्द्रदेखि तल्लो तहसम्मका एकाइहरूबाट सम्पादित सांगठनिक कामकारबाहीहरूको नियमित रूपमा अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उद्देश्यका साथ यो एकाइ गठन गरिएको हो,’ केसीले भने, ‘अनुगमनका क्रममा देखिएका सुधारका पक्षहरूमा तत्कालै निर्णय लिन तथा संगठनमा भएका नियमित कार्यहरूको समयमै अद्यावधिक गर्नसमेत सहयोग पुग्नेछ ।’

नियमित अनुगमन तथा मूल्यांकनलाई कार्यसम्पादन मूल्यांकनसँग समेत जोड्न लागिएकाले यो प्रभावकारी हुने सशस्त्र प्रहरीका अधिकारीको भनाइ छ । सोही मूल्यांकनलाई वार्षिक युनिट निरीक्षणको मूल्यांकन तथा आर्थिक वर्षको अन्तिममा गरिने मूल्यांकनमा जोडिने हुँदा सरुवा–बढुवालगायतका वृत्तिविकासमा कर्मचारी स्वयंले सम्पादन गर्ने कामकारबाही निर्णायक हुने प्रणाली विकासमा आफूले जग बसाउन खोजेको महानिरीक्षक केसीको भनाइ छ ।

तीन साताका लागि महानिरीक्षकमा नियुक्त भएका केसीले छोटो अवधिमा संगठनमा केही नयाँ काम गर्ने प्रयासस्वरूप यस्तो एकाइ गठन गरेको सशस्त्र प्रहरी अधिकारी बताउँछन् । सशस्त्र प्रहरीमा अनुगमन प्रणाली कमजोर हुँदा रासनलगायतका विषयमा पटक–पटक विवाद हुने र गल्ती गर्नेलाई पनि कारबाही नहुने अवस्था छ । 

तीन ब्युरो सिआइबीमातहत 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा प्रहरी अतिरिक्त महानिरीक्षक राखिएसँगै अन्य तीन विशिष्टीकृत ब्युरोलाई सिआइबीमातहत राखिएको छ । हालै सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत यस्तो निर्णय गरेको हो । डिआइजी प्रमुख हुने साइबर ब्युरो तथा एसएसपी प्रमुख हुने लागुऔषध नियन्त्रण ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई सिआइबीमातहत राखिएको छ । पहिले नै यससम्बन्धी अध्ययन भएको र हालै सिआइबीमा एआइजीको नेतृत्व भएसँगै यसलाई कार्यान्वयनमा लगिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । गत महिना एआइजीमा बढुवा भएका धीरजप्रताप सिंह ब्युरोको प्रमुख छन् ।