१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ६ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७९ बैशाख ६ मंगलबार o८:४५:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

महानगर र उपमहानगरमा लगभग सहमति

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ६ मंगलबार o८:४५:oo

सभापति शेरबहादुर देउवाले पोखराका कांग्रेस नेताहरूसँग छलफल गरेपछि मंगलबार औपचारिक निर्णय गरिने

पाँचदलीय सत्तागठबन्धनले महानगर र उपमहानगरहरूको बाँडफाँडमा लगभग सहमति जुटाएको छ । पोखरा महानगरपालिकामा कांग्रेस र एकीकृत समाजवादीले दाबी कायम राखेका छन् । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले पोखराका कांग्रेस नेतृत्वसँग  छलफल गरेपछि मंगलबार त्यसको पनि टुंगो लाग्ने नेताहरूले बताएका छन् । 

०७४ मा एमालेले जितेको सिट र मजबुत संगठन रहेकाले पोखरा आफूले पाउनुपर्ने एकीकृत समाजवादीको दाबी र आफ्नो जनाधार राम्रो भएकाले मेयर छाड्नै नसकिने कांग्रेसको अडानले ६ महानगर र ११ उपमहानगरका सबै सिटको बाँडफाँड सोमबार नै सक्ने गठबन्धनको प्रयास सफल भएन । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री देउवाले ‘पोखराको नेतृत्वसँग एक चरण छलफल गरेपछि मात्रै निर्णय गरौंँ’ भनेपछि मंगलबार पुनः बैठक बोलाइएको छ । त्यसअघि देउवाले पोखराका कांग्रेस नेतृत्वसँग छलफल गर्नेछन् । 

बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनले महानगर र उपमहानगरको सिट बाँडफाँडबारे एक चरण छलफल सकिएको र लगभग सहमतिनिकट पुगेको बताए । उनका अनुसार पोखरामा कांग्रेस र एकीकृत समाजवादीको दाबी रहे पनि अन्य महानगरको भने टुंगिएको छ । विराटनगर, ललितपुर र काठमाडौंमा कांग्रेस, भरतपुरमा माओवादी र वीरगन्जमा जसपा लड्ने लगभग तय भएको छ ।

नेताहरूका अनुसार ११ उपमहानगरपालिमध्ये कांग्रेसले पाँच र अन्य तीन दल (माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा) दुई–दुई सिटमा लड्ने गरी प्रस्ताव अगाडि बढेको छ । कांग्रेस धरान, कलैया, धनगढी, तुल्सीपुर, इटहरी, बुटवलमध्ये पाँच, माओवादी घोराही र जितपुर–सिमरा, एकीकृत समाजवादी हेटौँडा, तुल्सीपुर र इटहरीमध्ये दुई र जसपा जनकपुर र नेपालगन्जको प्रमुख लिने गरी छलफल अगाडि बढेको छ । तर, महानगरसँगै उपमहानगरको पनि टुंगिने भएकाले कुनै ठाउँ तलमाथि हुन सक्ने नेताहरूको भनाइ छ । 

महानगर र उपमहानगरका वडासम्मकै सिट टुंग्याउन भन्दै गठबन्धनका शीर्ष नेता र रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह तयारी र अनुगमन समितिका नेताहरूले दुई चरणमा बैठक बसे पनि निष्कर्षविहीन भएको छ । गठबन्धनका नेताहरू वडैसम्मको भागबन्डाको कोसिसमा छन् । मंगलबार पुनः बैठक बस्ने र सहमति जुटाउन प्रयास गर्ने नेताहरूको भनाइ छ । 

महानगरपालिका, उपमहानगरपालिकाका प्रमुख–उपप्रमुखको सिट बाँडफाँडको निर्णय केन्द्रीय संयन्त्रबाट टुंग्याउने निर्णय छ । कांग्रेस नेता पौडेलले पोखरामा कांग्रेसबाहेक अरूले नजित्ने भएकाले दाबी रहेको बताए । ‘पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले पनि दाबी गरिरहेको छ । तर, पोखरामा कांग्रेसबाहेक अरूले जित्दैन, त्यसैले हाम्रो दाबी कायम छ,’ उनले भने । 

कांग्रेस नेताहरूले पोखरामा एकीकृत समाजवादीको उम्मेदवार हुँदा गठबन्धनलाई जित निकाल्न कठिन हुने विश्लेषण सुनाएका छन् । तर, टिकट पाए सहजै जित्ने एकीकृत समाजवादीको भनाइ छ । पाँच दलले एकीकृत समाजवादी मुख्य शक्तिका रूपमा स्वीकार गरिसकेका छन् । 

एकीकृत समाजवादीका नेता झलनाथ खनालले जित्ने आधारसहित पोखरामा दाबी गरिएको बताए । ‘पोखरा महानगरपालिकामा हामीले जित्ने आधार रहेकाले दाबी गरेका हौँ । पहिला पनि एमाले एक्लैले जितेको थियोे । अहिले एमालेको जनाधार कमजोर छ,’ खनालले भने, ‘त्यतिवेलाका एमाले एकीकृत समाजवादीमा छन् । गठबन्धनमा पोखरा महानगरसहित अरूको विषय पनि टुंगोमा पुग्न बाँकी छ, छलफल गरेर टुंगोमा पुग्छौँ ।’

कांग्रेसको आन्तरिक छलफलपछि मंगलबारसम्म सहमति हुने माओवादी नेता पुनको दाबी छ । ‘पोखराको प्रमुखमा अलिकति सहमति जुट्न बाँकी छ । पोखरामा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ,’ उनले भने, ‘विराटनगर, वीरगन्ज, चितवन, ललितपुर र काठमाडौंमा समस्या छैन । पोखरामा पनि कांग्रेसका त्यो क्षेत्रका नेतासँग परामर्श गरेर मंगलबार टुंगो गर्ने सहमति भएको छ ।’

जनमोर्चाका महासचिव हिमाल पुरीले पोखरा विवादले सोमबार सहमति जुटाउन नसकिएको बताए । ‘मुख्य समस्या पोखरा महानगरपालिकामा देखिएको छ । पोखरामा कांग्रेस र एकीकृत समाजवादीको पनि दाबी रह्यो,’ उनले भने, ‘मेयरमा दुईवटै पार्टीको दाबीका कारण सहमति जुटेन र बैठक निष्कर्षमा पुग्न सकेन ।’

पुरीका अनुसार पोखरामा अघिल्लो निर्वाचनमा आफूले दोस्रो मत प्राप्त गरेकाले पाउनुपर्ने कांग्रेसको दाबी छ भने एकीकृत समाजवादीले एमालेले जितेको स्थान भएको र जनमत आफूहरूको पक्षमा रहेको दाबी गरेको छ । 

गठबन्धनमा रहेका दलहरूले यसअघि ‘महानगर र उपमहानगरपालिकाका प्रमुख–उपप्रमुख केन्द्रीय संयन्त्रबाट’ टुंग्याउने सहमति गरेका भए पनि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको प्रमुख–उपप्रमुखलाई लिएर दलहरूका भिन्दाभिन्दै दाबी छन् । तर, उपमहानगरपालिकामा पनि दलहरूले सहमतिको प्रस्तावमा छलफल थालेका छन् ।

सोमबारको बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले तालमेलबारे गम्भीरताका साथ छलफल भएको र सहमतिनजिक पुगेको दाबी गरेका थिए । मंगलबार साढे ११ बजे बैठक बसेर टुंगिने उनको भनाइ थियो । ‘समग्र रूपमा सबै ठाउँमा सहमतिको नजिक पुगेका छौँ । बैठक बसेर यसलाई अन्तिम रूप दिनेछौँ । धेरै ठाउँमा सहमतिनजिक पुगेका छौँ,’ उनले भने, ‘६ महानगरपालिका र ११ उपमहानगरपालिका गरी १७ वटै नगरका वडाबारे पनि छलफल भइरहेको छ । हामीले तय गरेको मापदण्डवरिपरि रहेर टुंगोमा पुर्‍याउँछौँ ।’

सोमबार सहमति जुटाउन शीर्ष नेताहरूसहित संयन्त्रमा रहेका नेताहरूबीच साढे नौ घन्टा छलफल भएको थियो । सोमबारको बैठकमा चितवनको विषयमा पनि माओवादीको दाबी कायमै थियो । माओवादी केन्द्रका नेता देव गुरुङले छलफल सहमतिनजिक पुगेको बताए । ‘हामी सहमति नजिक–नजिक पुग्दै छौँ । तर, फाइनल भइसकेको छैन । छिट्टै निर्णयमा पुग्नेछौँ,’ उनले भने ।

२९ चैतमै सत्तागठबन्धनका पाँच दलले आफूले जितेका स्थान सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका पदमा मतभारका आधारमा भागबन्डा गर्ने गरी तालमेलको आधार टुंगो लगाएका थिए । गठबन्धनमा रहेका दलहरूले १७ चैतमा सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गरेका छन् । चुनावी तालमेलसम्बन्धी काम यिनै संयन्त्र गर्नेछन् । गठबन्धनले केन्द्रमा भने पौडेल नेतृत्वमा स्थानीय तह तयारी र अनुगमन समिति बनाएको छ ।

ad
ad
ad
ad