१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ बैशाख ५ सोमबार १८:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रन्चुला साउद मृत्यु प्रकरण : विज्ञबाट शव परीक्षण, पाँच दिनमा अन्त्येष्टि 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ बैशाख ५ सोमबार १८:१८:००

धामीझाँक्रीको कुटपिटबाट मृत्यु भएकी कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीय एकल महिला रन्चुला साउदको शव परीक्षण भएको छ । महाकाली प्रादेशिक अस्पताल ल्याएको दुई दिनपछि साउदको शव परीक्षण गरिएको हो । 

शव कुहिएकाले (फरेन्सिक) विज्ञबाट मात्रै परीक्षण गर्नुपर्ने भन्दै महाकाली प्रादेशिक अस्पतालले सेती प्रादेशिक अस्पताल कैलालीबाट विज्ञ माग गरिएको थियो । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसु डा. अर्जुनकुमार भट्टले मृत्यु भएको तीन–चार दिन भइसकेपछि अस्पतालमा शव ल्याएकाले गर्मीका कारण पनि कुहिएकाले विज्ञबाटै परीक्षण गरिएको बताए । 

सेती प्रादेशिक अस्पतालमा कार्यरत फरेन्सिक विज्ञ डा. टेक चटौत नेतृत्वको चिकित्सक स्वास्थ्यकर्मीको टोलीले सोमबार शव परीक्षण गरेको हो । ‘विज्ञसहितको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेका छौँ’ महाकाली अस्पतालका निमित्त मेसु डा. भट्टले भने, ‘रिपोर्ट आउन बाँकी छ ।’ 

विज्ञबाट पोस्टमार्टम भएलगत्तै महाकालीमा अन्त्येष्टि गरिएको छ । मृतक साउदका दाजु करन घटालले पोस्टमार्टम भएलगत्तै महाकाली नदीमा अन्त्येष्टि गरिएको बताए । ‘विज्ञबाट पोस्टमार्टम भयो, शव बुझेँ, त्यसपछि महाकाली नदीमा धार्मिक परम्पराअनुरूप दाहसंस्कार गरेका छौँ ।’ 

मृतक पक्षले कर्तव्य ज्यान अन्तर्गत धामीझाँक्रीसहित सातजनाका नामका किटानी जोहरी दिएको छ । पीडित पक्षले आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुई धामीझाँक्री सहित सातजनाका नामका किटानी जोहरी दिएको छ । 

कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले रन्जुला पक्षले दिएको किटानी दर्ता भएको बताए । साउदलाई कुटपिट गरेर हत्या गरेको भन्दै भीमदत्त नगरका धामीझाँक्री धर्मानन्द भट्ट, नारायण भट्टसहित रन्जुलालाई झारफुर गर्ने कमला साउदसहित जानकी घटाल, गौरी साउद, कुवेर साउद र चक्र साउदविरुद्ध किटानी जाहेरी परेको छ । 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत दैनिक ज्यालादारीमा वडामा काम गर्दै आएकी रन्जुलालाई उपचार गर्ने भन्दै धामीझाँक्री समुहले कुटपिट गर्दा १ वैशाखमा मृत्यु भएको थियो । 

मृतक साउदका आफन्तले रन्जुलाका दुई सन्तानको लालनपालनको माग अघि सारेका छन् । मृतकका आफन्त सुरेन्द्र साउदले रन्जुलाको हत्या भएकाले उनका दुई नाबालक छोरीको उपचार हुनुपर्ने बताए ।