![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/bimestek2022-04-15-06-45-24.jpeg)
भू-राजनीतिक मामिलाविज्ञ एवं परराष्ट्र मामिला जानकारहरूले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)लाई थप गतिशील बनाउनुपर्ने तर त्यसले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई प्रतिस्थापित गर्न नहुने धारणा राखेका छन् । श्रीलंकामा १६ चैतमा सम्पन्न पाँचौँ शिखर सम्मेलन सकिएको दुई सातापछि काठमाडौंमा दक्षिण एसियाली ‘थिंकट्यांक’हरूको छाता संस्था कोसाटद्वारा आयोजित कार्यक्रममा विज्ञहरूले हिमालयदेखि बंगालको खाडीसम्म प्रभावकारी कनेक्टिभिटीमा जोड दिएका छन् ।
कोनार्ड एजेनाउर स्टिफटु्ङको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजदूत डा दिनेश भट्टराईले सार्कको अस्तित्व मृतप्रायजस्तो भए पनि त्यसले बिमस्टेकलाई विस्थापित गर्न नहुने बताए । उनले दुवै क्षेत्रीय संगठनलाई एकअर्काको परिपूरक बनाउनुपर्नेमा जोड दिए । उनले क्षेत्रीयतावादलाई अघि बढाउनुपर्ने पनि बताए । ‘सार्क मृतप्राय छ, तर यसको अस्तित्व यहाँको यथार्थ हो,’ भट्टराईले भने । पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले सन् २००४ मा हस्ताक्षर भएको बिमस्टेक फ्रेमवर्क एग्रिमेन्ट अझै पनि कार्यान्वयनमा नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले बिमस्टेक क्षेत्रभित्र भौतिक कनेक्टिभिटी अपरिहार्य रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक डा खड्ग केसीले सार्कलाई अवमूल्यन गरेर बिमस्टेक अघि बढ्न नसक्ने टिप्पणी गरे । ‘हामीले बिमस्टेक अघि बढाइरहँदा क्षेत्रीय सहकार्यको एसियाली इतिहासलाई बिर्सनुहुँदैन। सार्क प्रभावकारी भएन भनिरहँदा कोभिड १९ को महामारीमा बिमस्टेक कहाँ थियो भनेर प्रश्न किन नगर्ने ?,’ केसीले भने । महामारीमा सार्क र बिमस्टेक दुवै कामयावी नभएको तर क्षेत्रीय संगठन अपरिहार्य रहेको उनको भनाइ थियो ।
काशी हिन्दु विश्वविद्यालय वाराणसीकी सहायक प्राध्यापक वैशाली रघुवंशीले बिमस्टेक क्षेत्रका हिमालयदेखि बंगालको खाडीसम्म रहेका प्राकृतिक स्रोतको क्षेत्रीय हितमा उपयोग गर्नुपर्ने बताइन् । भारतको छिमेक प्रथम नीति र ‘एक्ट इस्ट’ पोलिसीमा बिमस्टेकको स्थान महत्वपूर्ण रहेको भन्दै उनले यो क्षेत्रका सम्भावित अवसरको खोजी गर्नुपर्ने पनि बताइन् । बिमस्टेकको संरचनागत स्तरोन्नति, सचिवालयको सुदृढीकण र आर्थिक स्रोतको व्यवस्थापनमा ध्यान दिइनुपर्ने उनको सुझाब थियो। ‘हिमालयदेखि बंगालको खाडीसम्म जोड्ने ‘मल्टिमोडल’ परियोजनाहरू आवश्यक छन्,’ रघुवंशीले भनिन् । सार्कले चमक गुमाएको भन्दै यसबाट पाठ सिकेर बिमस्टेकलाई अघि बढाउनुपर्ने उनको सुझाब थियो ।
सामरिक मामिलाविज्ञ पूर्वउपरथी विनोज बस्न्यातले बिमस्टेक क्षेत्रको कनेक्टिभिटी र सुरक्षा एकैसाथ अघि बढ्नुपर्ने बताए । यो क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिनुपर्ने उनको सुझाब थियो । ‘अहिले भूमध्य सागर क्षेत्रमा भन्दा बंगालको खाडी क्षेत्रमा शरणार्थीहरूको संख्या बढिरहेको छ, त्यसकारण यो क्षेत्रको भू-राजनीतिक संवदेनशीलतालाई सम्बोधन गर्ने सुरक्षा संयन्त्रमा पनि ध्यान दिनुपर्छ,’ बस्न्यातले भने ।
कोसाट नेपाल प्रमुख एवं अन्तर्राष्ट्रिय मामिलाविज्ञ डा निश्चलनाथ पाण्डेले १६ चैतमा सार्कको पाँचौँ शिखर सम्मेलनबाट सार्कको बडापत्रमा हस्ताक्षर हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । उनले दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई बिमस्टेकले जोडेको उल्लेख गर्दै क्षेत्रीय हितमा बिमस्टेकलाई अघि बढाउनुपर्ने सुझाब दिए । बडापत्रमा हस्ताक्षर भएपछि बिमस्टेकले अन्तर्राष्ट्रिय मान्यता पाएको पनि उनको भनाइ थियो । कार्यक्रममा भारतकी अध्येता हरिनी मधुसुधन र बंगलादेशका महबुबुर रिसद भुइमानले पनि बिमस्टेक क्षेत्रलाई थप गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
बिमस्टेकको पाँचौँ शिखर सम्मेलनमा १८ बुँदे घोषणापत्र जारी भएको थियो भने तीनवटा विषयमा हस्ताक्षर भएको थियो । आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी महासन्धि, बिमस्टेक प्रविधि हस्तान्तरण सुविधा स्थापनासम्बन्धी समझदारी-पत्र तथा बिमस्टेक सदस्य मुलुकका कूटनीतिक÷प्राज्ञिक तालिमसँग सम्बन्धित निकायहरूबीच आपसी सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।