मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्र गौरव विभूषण ग्रहण गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल । तस्बिर : रासस
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २ शुक्रबार ०६:०७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निलम्बित प्रधानन्यायाधीश जबरालाई दिइएन विभूषण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २ शुक्रबार ०६:०७:००

नौ सयजनालाई १८ करोडको विभूषण वितरण

निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विभूषण सरकारले रोकेको छ । पदीय दुरुपयोगको आरोपमा निलम्बनमा रहेकाले उनलाई सरकारले विभूषण नदिएको हो । बिहीबार अन्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण दिइए पनि जबरालाई भने कार्यक्रममा नै बोलाइएन । 

जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप दिने निर्णय गत असोजमा सरकारले गरेको थियो । संविधान दिवसमा घोषणा भएका विभूषण १ वैशाखमा प्रदान गरिने प्रचलन छ । जबराविरुद्ध १ फागुनमा संसद्मा महाभियोग दर्ता भएसँगै उनी निलम्बनमा छन् । निलम्बनमा भएसम्मका लागि उनको विभूषण स्थगन गर्ने निर्णय गत साता गृह मन्त्रालयले गरेको थियो । ‘राष्ट्रपतिज्यूबाट पनि त्यसमा चासो व्यक्त भएपछि स्थगितको निर्णय भएको हो,’ गृहका एक अधिकारीले भने, ‘अब महाभियोगको टुंगो नलागेसम्म विभूषण नदिने निर्णय भएको छ ।’ उनलाई विभूषण कार्यक्रममा जाने पास नै नदिने निर्णय गृहले गरेको थियो । 

पदको दुरुपयोग गरेको आरोपमा गत १ फागुनमा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा परेका थिए । आगामी मंसिरमा अवकाश पाउन लागेका जबरामाथि छानबिन गर्न सिफारिस समितिसमेत बनिसकेको छ । तर, समितिको बैठक भने बस्न सकेको छैन । विभूषण दिने निर्णय गरेका व्यक्तिमाथि फौजदारी अभियोग लागेमा त्यस्तो विभूषण रद्द गर्न सकिने विभूषण नियमावलीमा प्रावधान छ । 

नौ सयजनालाई १८ करोडको विभूषण वितरण
यो वर्ष नौ सय ६ जनालाई विभूषण (मानपदवी, अलंकार र पदक) दिने निर्णय सरकारले गरेको थियो । त्यसमध्ये विभूषण राष्ट्रपतिबाट दिने प्रचलन छ । तर, कतिपयले विभूषणको छनोटमाथि प्रश्न उठाउँदै अस्वीकार गर्ने निर्णय गरेका छन् । यस वर्ष विभूषणमा राज्यकोषबाट करिब १८ करोड रुपैयाँ खर्च भएको छ ।

यस वर्ष सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई दिइएको छ । त्यस्तै, दोस्रो ठूलो विभूषण राष्ट्र गौरव सुवर्णशमशेर राणा (मरणोपरान्त) र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन् ।

त्यस्तै, तेस्रो ठूलो महाउज्ज्वल राष्ट्रदीप चोलेन्द्रशमशेरसहित मोहनचन्द्र अधिकारी, मंगलादेवी सिंह (मरणोपरान्त), तुल्सीलाल अमात्य (मरणोपरान्त), दुर्गानन्द झा (मरणोपरान्त), नारायणगोपाल गुरुवाचार्य (मरणोपरान्त)लाई दिने निर्णय भएको थियो । अमात्यको हकमा विभूषण लिन कोही नगएको गृह मन्त्रालय स्रोत बताउँछ ।