मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
२o८१ मङ्सिर २७ बिहीबार १३:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १३:o५:oo

कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार (सान) लगाउने कार्य गर्छन् । ४० किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो ।

यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए । साइकलको डन्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बन्चरो, तरबारलाई घोटेर उनले धारिलो बनाउँछन् । तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगाएबापत रानाले दैनिक करिब रु. एक हजारजति आम्दानी हुने गरेको सुनाए ।

‘बिहानको नास्ता गरेर घरबाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु,’ उनले भने । रानाले कहिलेकाहीँ धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताए । खाना खर्च कटाएर दैनिक रु. सात सयजति बचत हुने गरेको उनी बताउँछन् । सान लगाउने कार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आएका हुन् । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेकोसमेत बताए ।

स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ । ‘घरखर्च यसैबाट आएको कमाइले धानिँदै आएको छ । मुक्तकमैया पुनर्स्थापना कार्यक्रमअन्तर्गत पाइएको घरवासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु,’ उनले भने, ‘पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन् । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।’

०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैँले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताए । ‘कमाइ गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु,’ उनी भन्छन्, ‘अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ। बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्दैनन् । बरु बुढेसकालमा पनि मिहिनेत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन ।’

रानाले चक्कु, चुलेसीलगायतमा धार लगाएबाफत २०, खुकुरी, बन्चरोमा धार लगाएबापत ५० र तरबारको सय रुपैयाँ ज्याला लिने गरेका छन् । पहिला महिनाको रु. ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले रु. १५ हजारदेखि २० हजारसम्म कमाइ हुने गरेको उनले जानकारी दिए । ‘बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ । छोराबुहारीसँग हात फैलाएर माग्नुपरेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु,’ रानाले खुसी हुँदै भने ।