उदयपुरगढी गाउँपालिका– १ शिखरपुरका ओमबहादुर मगर लालाबालासहित त्रिपालमुनि रात बिताउन थालेको १७ दिन भयो । सुरक्षित वासको अझै अत्तोपत्तो छैन । ओमबहादुरसँगै शेरबहादुर मगर, भैरवबहादुर मगर, पदमबहादुर मगर, धनमाया मगर, डिकबहादुर मगर, ओम मगर, गम्बर मगर र मनमाया मगरको परिवार पनि त्रिपालमुनि रात काट्दै आएको छ ।
गत १३ चैतमा करेन्ट सट भई लागेको आगो बढ्दै जाँदा उनीहरू सबैका घर खरानी भए । आगलागीमा परी ७५ वर्षीया वृद्धा शिवमाया मगरको ज्यान पनि गयो । त्यसयता आठ परिवार त्रिपालको ओतमा रात काट्दै आएको छ । ‘घरसँगै हाम्रा भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, घरमा पालेका खसी, बाख्रा, बंगुरलगायत चौपाया सबै जले,’ ओमबहादुरले नयाँ पत्रिकासँग भने, ‘आगलागीले झन्डै डेढ करोडको क्षति भयो । विभिन्न संघसंस्था, राजनीतिक दलका नेता, सांसदले आपत्कालीन राहत सहयोग गरे पनि घर बनाउन कतैबाट सहयोग पाइएको छैन ।’
आगलागीपीडित तिनैले राहतस्वरूप दिएका अन्नपात बिहान–बेलुकाको छाक टारिरहेका छन् । घटना भएको दुई साता बितिसकेको छ । स्थायी वासको कुनै टुंगो छैन । ‘अझै कति दिन त्रिपालमुनिको वास हुने हो साह्रै चिन्ता लागेको छ,’ पद्मबहादुरले पीडा सुनाए, ‘भएको सबै जलेर खरानी भयो । अब घर बनाउने कसरी होला ? सहयोग गर्न कोही आएको छैन ।’ शिखरपुरकै स्थानीय कमला खत्रीले आगलागीपीडितको दुःख दिनहुँ देखिरहेकी छिन् । ‘केही दिनअघिसम्म उहाँहरूको पनि हाम्रैजस्तो घर थियो । अहिले सर्वस्व गुमेको छ, तर कसैले सहयोग गरेको छैन,’ कमलाले भनिन्, ‘आफैँ बनाउन भने आर्थिक अभाव छ । सबै पीडित अति विपन्न छन् । यस्तोमा स्थानीय सरकारले हेरिदिनुपर्ने हो ।’
त्रिपालमुनिको वास असुरक्षित छ । सर्प, बिच्छीको डर छ । पानी परे रातभरि सुत्न सकिँदैन । बालबालिका, वृद्धवृद्धा र महिला सबैभन्दा बढी पीडित छन् । तैपनि स–साना लालाबाला लिएर उनीहरू त्यहीँ बसिरहेका छन् । हाम्रो त बिल्लीबाठै भयो । घर बनाउन आफैँ तातौँ भने काठ, जस्तापातालगायत सामग्री किन्ने पैसा छैन । कसो गर्ने होला,’ डिकबहादुरले दुःख सुनाए ।
उदयपुरगढी गाउँपालिका– १ का वडाध्यक्ष खेदबहादुर आलेमगरले आगलागीपीडितलाई तत्कालका लागि राहत उपलब्ध भए पनि वासको व्यवस्था गर्न नसकिएको बताए । ‘वडा कार्यालय, गाउँपालिका र विभिन्न संघसंस्थासँग घर बनाउनका लागि स्रोत खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘वडा कार्यालयले मात्र ठूलो रकम खर्च गर्न नसक्ने भएकाले समस्या भएको छ ।’