उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले साना घरेलु उद्योगहरू आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् । घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँगको भेटवार्तामा उनले उद्योगहरूको विकास तथा प्रवद्र्धनमा सरकारले पूर्ण सहयोग गर्ने बताए ।
‘यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्छ’ उनले भने, ‘यो क्षेत्रमा के–के समस्या छन्, समाधानका लागि के गर्नुपर्छ छलफल गर्न तयार छौँ ।’ देश संघीयतामा गएपछि औद्योगिक क्षेत्रको प्रवद्र्घनमा समस्या देखिएको महसुस गरेको बताउँदै उनले ऐनमा सम्बोधन गरेर भए पनि समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘स्थानीय तहमा प्राथमिकतामा नपरेको सत्य हो, त्यसलाई सुधार गर्न जरुरी छ, यो क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मूल आधार बनाउन सकिन्छ’ उनले भने ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्वदेशी वस्तु उत्पादन गर्ने उद्योगले विदेशबाट आयात हुने वस्तुसँग प्रतिस्पर्धा गर्न नसकी उद्योग धराशायी हुँदै गइरहेको बताए । उनले स्वदेशी वस्तुको प्रवद्र्धन र विकासका लागि सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका–२०७१ को प्रभावकारी कार्यान्वयनको व्यवस्था गर्न आग्रह गरे ।
सरकारले महिला उद्यमी, कृषि उद्योगलगायतका उद्यमीहरूलाई दिँदै आएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई यथावत् राख्नुपर्ने अध्यक्ष सिंहको भनाइ छ । साना उद्यमीहरूलाई बैंकहरूले कर्जा प्रवाहमा गर्ने भेदभावपूर्ण व्यवहारको अन्त्य गर्दै यस्ता उद्यमीहरूलाई सहज तरिकाले कर्जा उपलब्ध गराउन सहजीकरणका लागि पनि उनले मन्त्रीसँग अनुरोध गरे । महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले सरकार र उद्योगीको निकटता अहिले टाढिएको स्थिति रहेको बताए ।