१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १५:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नवौँपटक जिब्रो छेड्दै बुद्धकृष्ण, पहिले रहरले छेडे, अहिले पालो पाएनन्

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:३४:oo

आठौँपकटसम्म जिब्रो छेडेका भक्तपुर मध्यपुरथिमि नगरपालिका– ८, बोडेका बुद्धकृष्ण वाग श्रेष्ठले दुई वर्षअघि नै जिब्रो छेड्न छाेड्ने सोच बनाएका थिए।सातौँपटकसम्म जिब्रो छेडेपछि विश्राम लिन खोजेका उनलाई पालो दिन भने कोही आएनन्। आफूले जिब्रो छेड्न छाडेपछि परम्परा नै लोप हुने डरमा उनले गत वर्ष आठौँपल्ट जिब्रो छेडेका थिए । यो वर्षदेखि उनले जिब्रो छेड्न छाड्ने योजना बनाएका थिए। तर, औठौँपल्ट जिब्रो छेडेर विश्राम लिन नहुने बुढापाकाले बताएपछि उनी यसपटक अर्थात् नवौँपटक जिब्रो छेड्ने तयारीमा छन्। नेवारी परम्पराअनुसार पनि जोडा संख्यालाई त्यति शुभ मानिँदैन। 

पालो नपाउँदा उनले धेरै वर्षदेखि जिब्रो छेड्दै आएका हुन्। अरू कसैले इच्छा नदेखाएकाले लामो समयदेखि आफूले जिब्रो छेड्दै आएको उनको भनाइ छ। ‘तीन वर्षअघि नै मैले जिब्रो छेड्न छाड्ने सोच बनाएको थिएँ, सुरुमा रहर पनि लाग्थ्यो । यो रहरले मात्रै गरिने होइन । यसमा पुस्तान्तरण पनि हुनुपर्छ । तर, अहिले जिब्रो छेड्न अरू तम्तयार भएको देखेको छैन,’ उनले भने, ‘यसपटक छेडेर छाड्ने सोचमा छु।’ उनका अनुसार समाजमा नयाँ पुस्ताबाट जिब्रो छेड्ने इच्छा कसैले देखाएका छैनन्। बुढापाकाले नसक्ने भएकाले पनि एउटै व्यक्तिले धेरैपटक जिब्रो छेड्नुपरेको बुद्धकृष्णले बताए।  ‘यो कुनै एक परिवारले मात्रै धानेको संस्कृति होइन । बोडेमा बसोवास गर्ने सबै नेवार समुदाय मिलेर यस्तो किसिमको संस्कृति जीवित रहेको हो,’ बुद्धकृष्णले भने, ‘तर, भोलिका दिनका जिब्रो छेड्न को आउने हो भन्ने चिन्ता अहिलेदेखि नै छ।’ 

उनका अनुसार जिब्रो छेड्ने परम्परा निकै पुरानो हो। लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको मानिन्छ। बुद्धकृष्णको पालाअघि उनका दाजु कृष्णचन्द्र वाग श्रेष्ठले जिब्रो छेड्दै आएका थिए। दाजुले जिब्रा छेड्न छाडेपछि अन्य कोही व्यक्ति अघि नसरेका कारण बुद्धकृष्णले जिब्रो छेड्न सुरु गरेका थिए। धेरैपटक जिब्रो छेड्दा जिब्रोमा समेत समस्या देखिने डरमा बुद्धकृष्णले नवौँपटक जिब्रो छेडेर विश्राम लिने योजना बनाएका छन्।   
यसपटक वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइँदै छ। त्यसका लागि बुद्धकृष्णले आजदेखि व्रत बस्न सुरु गरेका छन्। जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि अन्न खान नहुने परम्परा छ। सोहीअनुसार पानी मात्रै पिएर जात्राको व्रतमा बसेको बुद्धकृष्णले बताए। 

यसरी छेडिन्छ जिब्रो

चैत मसान्तको दिन बोडेस्थित महालक्ष्मी मन्दिरमा लिंगाे उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बस्नुपर्छ। वैशाख २ गते मध्याह्नमा कर्मीनाइकेले विभिन्न देवगणको पूजा गर्छन्। त्यसको साथै बोडेस्थित एक महिनाअघिदेखि नै बाँडेको पाँचो गणेशको पार्टीमा नकर्मीले १० इन्च लामो सुइरो बनाएर राख्छन्। उक्त सुइँरो तेलमा डुबाएर राखिन्छ। उक्त सुइँरोले जिब्रो छेडिन्छ। उक्त समय त्यहाँ हजारौँ मानिसको उपस्थिति रहन्छ। जिब्रो छेडेपछि चन्द्राकारकोे महाद्वीप बोकेर बोडेको टोल–टोल घुम्ने चलन छन्। त्यसपछि पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोक्याएपछि जात्रा सकिने मान्यता रहँदै आएको छ। सुइरो निकालेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाइन्छ। 

यो जात्रा बोडेका श्रेष्ठ समुदायले मनाउँछन्। जिब्रो छेड्न पनि श्रेष्ठ नै चाहिन्छ। जिब्रो छेड्दा टोलमा अशुभ नहुने, अनिकाल नलाग्ने, देशमा सुख शान्ति हुनेलगायत मान्यता रहँदै आएको छ। 
 

ad
ad