१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ चैत २९ मंगलबार २१:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिदाइ हुँदै भारतीय विदेशसचिव क्वात्राले भने– नेपाल सधैँ प्राथमिकतामा रहनेछ 

Read Time : > 1 मिनेट
२०७८ चैत २९ मंगलबार २१:३८:००

बिदाइ समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले उपाध्यक्ष सुवास नेम्वाङलगायत भारतीय दूतावास पुगेका थिए

भारतका नवनियुक्त विदेशसचिव एवं नेपालका लागि राजदूत विनयमोहन क्वात्राले नेपाल सधैँ आफ्नो प्राथमिकतामा रहने बताएका छन् । विदेशसचिव नियुक्त भएपछि कार्यभार सम्हाल्न दिल्ली जानुअघि आफ्नै निवासमा मंगलबार आयोजित जलपान समारोहलाई सम्बोधन गर्दै क्वात्राले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न थप भूमिका खेल्ने पनि वचन दिएका छन् । 

विगतमा सार्क सचिवालयमा निर्देशकका रूपमा र अहिले राजदूतका रूपमा दुई वर्ष नेपालमा व्यतित गरेका क्षण आफ्ना लागि सधैँ यादगार रहने क्वात्राको भनाइ थियो । उनले दुई देशबीच आर्थिक एजेन्डा, कनेक्टिभिटी र सांस्कृतिक क्षेत्रमा सहकार्यको थप सम्भावना खोजी गर्नुपर्ने पनि बताए । उनको बिदाइ समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले उपाध्यक्ष सुवास नेम्वाङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत भारतीय राजदूतावास पुगेका थिए । नेपालस्थित विदेशी राजदूत एवं कूटनीतिक प्रतिनिधि, विभिन्न दलका नेता, मन्त्रीहरू पनि विदाइ समारोहमा सहभागी थिए । 

प्रधानमन्त्री र शीर्ष नेतालाई सँगै राखेर विदेश सचिव क्वात्राले विदेश सचिव रहे पनि आफूलाई विगतकै मित्रका रूपमा बुझ्न र दुई देशबीचका कुनै पनि विषयमा छलफल गर्नुपरेमा सम्पर्क गर्न आग्रह गरे । ‘म १५ वर्षअघि नेपाल आउँदा जे थिएँ, अहिले पनि उही छु, र नयाँ भूमिकामा पनि उही रहनेछु । नेपालका मित्रहरू ‘नेपालसँग मेरो र मेरो परिवारको गहिरो सम्बन्ध रहिरहनेछ । म फरक भूमिकामा जाँदै छु जहाँ नेपाल मेरो प्राथमिकतामा रहनेछ, मेरो हृदयमा रहनेछ,’ भावुक हुँदै क्वात्रबाले भने, ‘नेपालबाट विदाइ हुँदै गरेकोमा मेरो हृदय भारी भएको छ । मेरो घर नेपालका मेरा मित्रहरूका लागि सधैँ खुला हुनेछ ।’ राजदूतका रूपमा दुई वर्ष रहँदा नेपाली शीर्ष नेताले दिएको सद्भावबाट आफू प्रभावित भएको पनि उनको भनाइ थियो । राजदूत क्वात्राले प्रधानमन्त्री देउवाको चैत १८ देखि २० सम्मको भारत भ्रमण विशेष भएको पनि उल्लेख गरे । देउवाको वाराणसी भ्रमण दुई देशको सम्बन्धमा थप महत्वपूर्ण भएको भन्दै उनले प्रशंसा गरे । 

विदेशसचिव क्वात्राले मंगलबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग विदाइ भेट गरेका थिए । राजदूतको कार्यकालका रूपमा क्वात्राले नेपाल - भारत सम्बन्ध थप सुदृढ गर्न भूमिका निर्वाह गरेको भन्दै खड्काले उनको प्रशंसा गरेका थिए । 

विदेशसचिव क्वात्राले १८ दिनपछि दिल्लीस्थित विदेश मन्त्रालयमा कार्यभार सम्हाल्दै छन् । उनी यही साता दिल्ली जाने तयारीमा छन् । नेपालमा राजदूत रहेकै बेला विदेश सचिव भएका उनी दोस्रा भारतीय कूटनीतिज्ञ हुन् । क्वात्राभन्दा अघि श्यामशरण नेपालका लागि राजदूत रहेकै बेला भारतीय विदेश सचिव नियुक्त भएका थिए । नेपालमा राजदूत भएका महाराजकृष्ण रसगोत्रा पनि विदेश सचिव भएका थिए । तर, उनी नेपालबाट दिल्ली फर्केर विभिन्न भूमिका निर्वाह गरेपछि राजदूत भएका थिए ।