
गृहमन्त्री बालकृष्ण खाणले बेरुजु फर्स्याेटमा उत्कृष्टता हासिल हुने गरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन् । मन्त्री खाणले बेरुजु फर्स्याेटमा गम्भीर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न सम्बन्धित सबै निकायसँग आग्रह पनि गरेका छन् । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको बिदाइमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘नेपाल सरकारका समग्र विभागहरूलाई बेरुजु फर्स्याेटमा गम्भीर हुन, बजेटलाई नियमसम्मत रूपमा खर्च गर्न र हरहिसाब दुरुस्त राख्नका साथै बेरुजु फर्स्याेटमा उत्कृष्टता हासिल गर्न मिहिनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु,’ गृहमन्त्री खाणले भने, ‘हामीकहाँ बजेट बनाउँदाखेरि पहिलो त्यो घाटाको बजेट बनाएकै हुन्छौँ । चालू खर्चचाहिँ बढेर जान्छ । पुँजीगत खर्चचाहिँ हामीले गर्न सक्दैनौँ । अब त्यसमाथि झन् बेरुजु आएर अर्को वर्ष त्यसको निरन्तरतामा पनि कठिनाइ आउँछ । त्यसकारण पुँजीगत खर्चतर्फ पनि हामी जिम्मेवार हुन जरुरी छ ।’
गृहमन्त्री खाणले पुँजीगत खर्च गर्न नसकेर बजेट नै ल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गरे । पुँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिने गरी विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको उनको भनाइ छ । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले बेरुजु फर्स्याेट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंसासमेत गरे ।