१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Thursday, 03 July, 2025
२o७८ चैत २४ बिहीबार १४:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजी क्षेत्रका जहाज पूर्वमा केन्द्रित भएपछि मनलाग्दी भाडा असुल्दै निगम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १४:४९:oo

राष्ट्रिय सडक सञ्जालको पहुँचमा नरहेको देशको एक मात्रै जिल्ला हुम्ला हो। यहाँ नागरिकहरूको यातायातको साधन भनेकै हवाई सेवा हो। केही दिनयता हुम्ला, मुगु, जुम्ला, डोल्पा, बाजुरालगायतका हिमाली जिल्लामा हवाई उडान नभएपछि नेपालगन्ज–हुम्ला, सुर्खेत–हुम्लाका यात्रु अलपत्र परेका छन्।

निजी क्षेत्रका तारा, समिट, सीता एयरलाइन्सहरू पर्यटक बोक्न पूर्वतिर केन्द्रित रहेपछि हुम्ली नागरिक सास्ती भोग्न बाध्य छन्। शिक्षक सेवाको परीक्षा दिन नेपालगन्ज र सुर्खेत झरेकाहरू जिल्ला फर्किन नपाउँदा होटेलमै बस्न बाध्य छन्।

निजी क्षेत्रका एयरलायन्सहरु पूर्वी जिल्लामा केन्द्रित भएसँगै एयरलाइन्सले यात्रुसँग चरम भाडा असुल्दै आएको छ। सरकारी स्वामित्व रहेको नेपाल वायुसेवा निगमको जहाजले नेपालगन्जबाट हुम्ला, मुगु, डोल्पा, जुम्ला र बाजुरालगायतका जिल्लामा उडान भर्दै आएको छ।

नेपालगन्ज–सिमकोट भाडा साढे १६ हजारदेखि साढे २१ हजारसम्म
सिमकोट गाउँपालिका– ३ तोर्पाका शेरबहादुर लामाले नेपालगन्जबाट हुम्ला जाने भाडा १६ हजार पाँच सय रुपैयाँ तिरेको बताए। होटेलमै बस्दा–खाँदा झनै बढी खर्च हुने भएकाले साढे १६ हजार तिरेरै भए पनि १५ जना निगमको जहाजबाट हुम्ला पुगेको उनले गुनासो गरे। नेपालगन्जबाट नेपाल वायुसेवा निगमको सहुलियत फ्लाइटको भाडादर सात हजार तीन सय रुपैयाँ हो भने चार्टर उडानको आठ हजार तीन सय रुपैयाँ हो। तर, हुम्ली नागरिक १६ हजार पाँच सयदेखि २१ हजार पाँच सयसम्म भाडा तिर्न बाध्य छन्।

हुम्लामा दैनिक उडान भर्दै आएका निजी एयरलाइन्स कम्पनीका जहाज पर्यटक बोक्न पूर्वतिर केन्द्रित भएका छन्। शिक्षक सेवा आयोगको परीक्षा दिन नेपालगन्ज र सुर्खेत झरेका शिक्षकहरू गाउँ फर्किन नपाएपछि हुम्लाका अधिकांश विद्यालय बन्द अवस्थामै रहेका छन्। सरकारी स्वामित्वको निगमको जहाजले चार्टरमा साढे १६ हजारदेखि साढे २१ हजारसम्म असुल्दासमेत सरोकारवाला निकाय मौन देखिएका छन्।