१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २३ बुधबार
  • Saturday, 06 July, 2024
कविताको हत्या भएको स्थान
२o७८ चैत २३ बुधबार o६:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

ट्युसन पढ्न विद्यालय हिँडेकी बालिकाको हत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २३ बुधबार o६:२१:oo

दाइसँग मिलेर सहपाठीले नै हत्या गरेको प्रहरी भनाइ, दुवै पक्राउ

उदयपुरमा मंगलबार बिहान ट्युसन पढ्न घरबाट विद्यालय हिँडेकी बालिकाको बाटैमा हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सहपाठी र उनका दाइलाई पक्राउ गरेको छ । बेलका नगरपालिका– ३ की १६ वर्षीया कविता सुनुवारको हत्या भएको हो । प्रहरीले कवितासँगै विद्यालय जाउआउ गर्ने सहपाठी १६ वर्षकै सरिता ढकाल खत्री र उनका दाइ १९ वर्षीय विनोद ढकाल (ठूलो बुबाका छोरा)लाई पक्राउ गरेको छ । विनोदसँग मिलेर सरिताले हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

कविता र सरिता स्थानीय कोसी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययन गर्थे । एक किलोमिटर दूरीभित्रै घर भएका उनीहरू सधैँझैँ मंगलबार बिहान पनि प्रवेशिका परीक्षाको ट्युसन पढ्न सँगै विद्यालय गएका थिए । प्रहरीका अनुसार विनोद पनि बहिनी सरितालाई विद्यालय पुर्‍याउन भन्दै घरबाट निस्किएका थिए । बाटोमा विवाद भएपछि सरिताले दाइसँग मिलेर कविताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताए । 

‘कविता प्रवेशिका परीक्षाका लागि ट्युसन पढ्न मंगलबार बिहान साथी सरितासँगै घरबाट निस्केकी र विनोद पनि सरितालाई स्कुलसम्म पुर्‍याउन भन्दै सँगै गएको खुलेको छ,’ उनले भने, ‘जाँदाजाँदै बाटैमा विवाद भएपछि रक्सीको बोतल र ढुंगाले हानेर हत्या गरेको विनोदले स्विकारेका छन् ।’ हत्यामा प्रयोग भएको बियरको बोतलका टुक्रा र ढुंगा पनि बरामद गरिएको र मृतकको शव पोस्टमार्टमका लागि पठाएको एसपी बोहराले बताए । प्रहरीले उनीहरूबीचको मनमुटावको कारण भने खुलाएको छैन । ‘आरोपीसँग बयान लिन बाँकी छ । झगडाको कारण के थियो बयान लिएपछि मात्रै खुल्छ । थप अनुसन्धान जारी छ,’ एसपी बोहराले भने । 

बिहान ६ बजेतिर घरबाट निस्किएकी कवितालाई स्थानीयले ७ बजेतिर मृत अवस्थामा देखेका थिए । घरभन्दा करिब दुई किलोमिटर टाढा बाटोनजिकै खोल्साकिनारमा शव भेटिएको थियो । ‘टाउकोभरि बोतल र ढुंगा प्रहार गरिएको थियो । सुरुमा त हामीलाई शव पहिचान गर्नै गाह्रो भयो, पछि स्कुलको ब्याग फेला पारेपछि कविता नै भएको पुष्टि गरेर प्रहरीलाई खबर गर्‍यौँ,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बस्नेतले भने । 

कविताका पिता कृष्ण सुनुवार भन्छन्–‘डाक्टर बनाउँछु भनेको छोरी गुमाएँ’
कृष्णका दुई छोरी र एक छोरा थिए । अब कान्छी छोरी कविता रहिनन् । जेठी छोरीको विवाह भइसकेको छ, छोरा सानै छन् । कवितालाई डाक्टर बनाउने उनको रहर थियो । ‘खेती–किसानी गरेर ८ कक्षासम्म गाउँकै बोर्डिङ स्कुलमा पढाएको थिएँ । ९ कक्षामा पुगेपछि सरकारीमा राखेँ । उनको पढाइ राम्रो भएकाले डाक्टर बनाउने मेरो सपना थियो । जग्गा बेचेर भए पनि पढाउने सोच थियो । अब सबै सपना टुट्यो,’ कृष्णले भने । साथीभाइसँग झर्कोफर्को नगर्ने, पढाइमा चलाख र अनुशासित भएकाले शिक्षक–शिक्षिकाले पनि मन पराउने छोरीको झगडा भएर साथीले नै हत्या गरेको सुन्दा कृष्ण पनि आश्चर्यमा परेका छन् । ‘छोरी त झगडा गर्ने स्वभावकी थिइन । तर, आज झगडाकै कारण हत्या भयो भन्ने छ । झगडाको विषय के हो भन्ने खुलाएका छैनन्,’ उनले भने, ‘आरोपीलाई पक्राउ गरेको छ, अनुसन्धान गरेर भन्ला नि !’

शिक्षकहरू भन्छन्– कविता र सरिताबीच मनमुटाव भएको थाहा छैन 
मनमुटावकै कारण कविताको हत्या सहपाठी सरिताले गरेको प्रहरी भनाइपछि शिक्षकहरू आश्चर्यमा परेका छन् । उनीहरू निकै मिल्ने साथी भएको र कहिल्यै मनमुटाव भएको थाहा नपाएको शिक्षक अशोक माझीले बताए । ‘मृतक कविता, पक्राउ परेकी सरिता र अर्की विद्यार्थी अनिता कटुवाल निकै मिल्ने साथी हुन् । सधैँ तीनजना सँगै विद्यालय आउँथे, एउटै बेन्चमा बस्थे,’ उनले भने, ‘आज कसरी त्यस्तो घटना भयो ! अनिता पनि सँगै रहिनछिन् ।’ प्रधानाध्यापक सूर्यनारायण साहले पनि दुई छात्राबीच झगडा भएको कहिल्यै नसुनेको बताए । 

ad
ad
ad
ad