टोनी उराले विस्फोटक ब्याटिङ गरेपछि शुक्रबार पपुवा न्युगिनीले मलेसियालाई त्रिकोणात्मक टी–२० सिरिजमा आठ विकेटको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसियाले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा पपुवा न्युगिनीले १७.५ ओभरमा दुई विकेट मात्र गुमाएर एक सय ९९ रन जोड्दै मलेसियाविरुद्ध उत्कृष्ट जित निकाल्यो ।
पपुवा न्युगिनीको टी–२० इतिहासमा यो अहिलेसम्मकै ठूलो जित हो । लक्ष्य पछ्याएको इनिङ्सको पहिलो बलमै पपुवा न्युगिनीले लेगा सिआकाको विकेट गुमाएको थियो । कप्तान असाद भाला र चार्लेस भालाले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । अमिनीले २२ बलमा पाँच चौकाको सहयोगमा २८ रनको योगदान दिए ।
त्यसपछि क्रिजमा आएका टोनीले मैदानमा छक्काको वर्षा गर्दै पपुवा न्युगिनीलाई जित दिलाए । टोनीले कप्तान भालासँग तेस्रो विकेटका लागि नटआउट एक सय ३७ रनको साझेदारी गरे । टोनीले ३४ बल सामना गरी १० छक्का र दुई चौकाको सहयोगमा सर्वाधिक ८६ रनको योगदान दिए । कप्तान भालाले ५१ बलमा ५४ रन बटुल्दा आठ चौका र एक छक्का प्रहार गरेका थिए । यसअघि ब्याटिङ गरेको मलेसियाका लागि तीन ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरे ।
मलेसियाका लागि सेयद अजिजले सर्वाधिक ६४ रन तथा कप्तान अहमेद फैजले ६३ रनको योगदान दिए । सेयद र फैजले दोस्रो विकेटका लागि एक सय १५ रनको साझेदारी गरेका थिए । दुवैले मलेसियालाई ६२–२ बाट १७७–३ को बलियो स्थितिमा पुर्याएका हुन् । सेयदले ३५ बलमा आठ चौका र तीन छक्का हिर्काए । फैजले ४३ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे । जुवैदीले २२ बलमा समान चार चौका र छक्काको मद्दतमा ४६ रन बनाए ।
बलिङमा काबुआ मोरेएले २९ रन खर्चेर चार विकेट लिए । जितसँगै पपुवा न्युगिनीले चार खेलबाट दुई अंक बटुलेको छ । मलेसियाले तीन खेलबाट दुई अंक हात पारेको छ । आयोजक नेपालले तीन खेलमा जित निकाली सर्वाधिक ६ अंक जोड्दै फाइनल स्थान पक्का गरिसकेको छ ।