१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोरोना प्रभावित विपन्न परिवारलाई दिने अनुदान रसुवामा वितरण हुन सकेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४१:oo

कोरोना महामारीका कारण प्रभावित विपन्न परिवारलाई सरकारले दिने १० हजार रसुवामा वितरण हुन सकेको छैन । संघीय सरकारले बजेट निकासा गरेको अढाई महिना बितिसक्दासमेत कोरोनाका कारण प्रभावित विपन्न परिवारलाई दिने अनुदान जिल्लामा वितरण हुन नसकेको हो । जिल्लाको पाँचवटा गाउँपालिकामध्ये दुई गाउँपालिकाले कोरोनाका कारण प्रभावित विपन्न परिवारको विवरण संकलन गरी आवश्यक प्रक्रिया सुरु गरेको बताएका छन् । अन्य तीनवटा गाउँपालिकामा भने वडास्तरमा सूचना पठाएको भए पनि कसैले निवेदन दिन नआएको बताएका छन् । 

जिल्लाको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार गाउँपालिकाभरिका ८७ जनाले कोरोनाबाट प्रभावित विपन्न परिवार भन्दै सरकारले दिने १० हजारका लागि निवेदन दिएका छन् । कोरोनाका कारण प्रभावित भएका विपन्न परिवारलाई रकम प्रदान गर्न अर्थ मन्त्रालयमा बजेटका लागि गाउँपालिकाले माग गरेको उनले बताए । ‘सुरुमा हामीले गाउँपालिकाको सबै वडामा सूचना प्रकाशित गरी निवेदन संकलन गर्‍याैँ, दाबी–विरोधको सूचना पनि निकालेका थियौँ, कसैको पनि दाबी–विरोध आएन,’ उनले भने, ‘सबैको बैंकमा खाता खोलिदिएका छौँ । ८७ जनाको नाम लेखेर सिफारिससहित अर्थ मन्त्रालयमा बजेटका लागि पठाएका छौँ।’

जिल्लाको कालिका गाउँपालिकाका वन, वातावरण तथा विपत् व्यवस्थापन शाखा प्रमुख नारायण देवकोटाका अनुसार गाउँपालिकाको पाँचवटै वडाबाट चार सय ८५ जनाको निवेदन सिफारिस भएर आएको छ । कोरोनाका कारण विपन्न परिवारलाई १० हजारको दरले रकम वितरणका लागि २० लाख बजेट गाउँपालिकामा आएको छ । 

गाउँपालिकाले दुई सयजना कोरोना प्रभावित विपन्न परिवारलाई सरकारले दिने १० हजार रकम उपलब्ध गराउने तयारी गरिरहेको उनले बताए । वडाबाट आएका सिफारिसलाई प्राथमिकीकरण गरी टुंग्याउने तयारी भइरहेको उनले बताए । ‘धेरैको निवेदन आएको छ, अहिले हामीले वडाहरूलाई पुनः प्राथमिकीकरण गरेर पठाउनु भनेर फाइल पुनः वडामा पठाएका छौँ,’ उनले भने, ‘दुई सयजनाको टुंगो लगाएपछि दाबी–विरोधको सूचना वडावडामा टाँस हुन्छ, दाबी–विरोध भयो भने किन, के कारणले भयो भनेर हेरिन्छ, र वास्तविक प्रभावितहरूलाई पैसा खातामा हालिदिन्छौँ।’ 

कोरोना महामारीका कारण प्रभावित विपन्न परिवारलाई सरकारले दिने रकम वितरणका लागि नौकुण्ड गाउँपालिकामा ३४ लाख ७० हजार बजेट विनियोजन भएर आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले बताए । प्रभावित विपन्न परिवारलाई निवेदनका लागि वडावडामा सूचना टाँस गरी जानकारी गराउँदासमेत हालसम्म कसैको सिफारिससहितको निवेदन नआएको उनले बताए । 

त्यसैगरी आमाछोदिङमाे गाउँपालिकामा कोरोना महामारीका कारण प्रभावित विपन्न परिवारलाई दिन भनी आएको रकमबारे जानकारी नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर जिसीले बताए ।  शाखाको कार्यक्रम शाखालाई दिने गरेको र यसबारे आफूलाई जानकारी नभएको उनले बताए । त्यसैगरी, गोसाइँकुण्ड गाउँपालिकामा पनि कोरोना महामारीका कारण प्रभावित विपन्न परिवारलाई रकम वितरणका लागि करिब १८ लाख बजेट विनियोजन भएर आएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख विमल घिमिरेले बताए । हालसम्म गाउँपालिकामा यो रकम लिनका लागि कोही पनि नआएको उनले बताए ।  

सरकारले चालू आवको बजेटमै कोरोना महामारीका कारण प्रभावित विपन्न परिवारलाई अनुदान कार्यक्रम समावेश गरेको थियो । कोरोनाका कारण रोजगारी पूर्ण रूपमा गुमाएका वा अर्को अवसर नपाएका असंगठित क्षेत्रका मजदुर र श्रमिकहरू, खुला सडक वा फुटपाथमा व्यापार गर्ने, महामारीबाट आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भएका परिवारलाई लाभग्राही सूचीको प्राथमिकतामा राखिएको छ । सम्भावित लाभग्राहीको अधिकतम संख्या कार्यविधिले नै तोकिदिएको छ । १५ कात्तिकमा अनुदानसम्बन्धी कार्यविधि राजपत्रमा प्रकाशित भएको थियो भने २५ कात्तिकमा महालेखा नियन्त्रकको कार्यालयले वडाहरूलाई सम्भावित परिवारहरूबाट निवेदन लिन सूचना सार्वजनिक गरेको थियो ।


 

ad
ad