एमाले अध्यक्ष केपी ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतिको लागि हुने बताएका छन् । एमाले कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा ओलीले एमालेले जिते मात्र राष्ट्र समृद्ध भई शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मुलुकमा परिवर्तन आउने बताए ।
एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने पनि दाबी गरे । ओलीले बैसाखी टेकेर एमालेसँग लड्न कोही नसक्ने र गठबन्धन बैसाखी टेकेर होइन सबै मिले पनि एमालेले जित्ने दाबी गरे ।
कार्यक्रममा लामो समय आफ्नो कार्यकालमा भएका विकास निर्माणको कामबारे चर्चा गरेका ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको लहर चलेको दाबी गरे । हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, पूर्व-पश्चिम राजमार्ग चौडा गर्ने कार्य, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, देशमा तुइन विस्थापनजस्ता काम आफ्नो पालामा भएको ओलीले बताए ।
कपिलवस्तुमा उद्योग, पर्यटन, कृषिको क्षेत्रमा प्रयाप्त सम्भावना भएको उनको भनाइ छ। जातीय हिंसा भड्काउ हुने खालका गतिविधि नगर्न उनले आग्रह गरे ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेको खबरदारीकै कारण स्थानीय तहको निर्वाचनको मिति घोषण भएको दाबी गरे । उनले स्थानीय निर्वाचनमा एमालेलाई हराउने तागत कसैसँग नभएको दाबी गरे ।
एमाले महासचिव शंकर पोख्रेलले आगामी दशकहरूमा केपी ओलीको परिकल्पनाअनुसार नेपालको विकास हुने जिकिर गरे ।
एमाले सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको विश्वास बढेको बताउँदै एमालेले देशमा समृद्धिको आधारशीला खडा गरेको दाबी गरे ।