मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Thursday, 19 December, 2024
२o७८ चैत १३ आइतबार १२:११:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

उही जोसमा गायक दीप श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार १२:११:oo

म पत्थरको देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हुँ
सधैँ बाँचिरहने...

अहिलेको जीवनलाई आफ्नो पुनर्जन्म भन्ने गरेका दीप श्रेष्ठले आफ्ना स्रोताबीच कोभिडपछि गाएको यो पहिलो गीत हो। श्रेष्ठले यही गीत रेकर्ड गराएर ०२५ सालमा औपचारिक सांगीतिक यात्रा प्रारम्भ गरेका थिए।

यो गीतसँग जोडिएको एक किस्सा सुनाउँदै उनले भने, ‘०२५ साल पुस १ गते राजाको जन्मदिनको अवसरमा मैले यो गीत पहिलोपटक गाएको हुँ।’ विजय श्रेष्ठको संगीतमा सजिएको यो गीत गाउँदै शुक्रबार उनले आफैँ ‘पुनर्जन्म’ सेलिब्रेसनको सुरुवात गरे। भरतपुर– १३ देवनगरमा रहेको लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (एलटिके) हवेलीले श्रेष्ठको नवजीवनको सम्मानमा एलटिके सरगम साँझ २०७८ आयोजना गरेको थियो।

‘मेरो गीतमा शब्द, संगीत भर्ने अधिकांश सर्जकहरू संसार छाडेर जानुभयो । म भने जीवित छु,’ उनले भने, ‘म पनि कोभिड संक्रमणबाट जीवनमरणको दोसाँधमा पुगेर फर्किएको हुँ। तपाईंहरूको मायाले फेरि तपाईंसँगै रमाउन पाएँ।’ कोभिडका कारण तीन साताभन्दा बढी अस्पतालमा भर्ना भएका श्रेष्ठ मृत्युलाई जितेर फर्किएका थिए।

उनलाई पहिलेको जस्तो गाउन सक्छु कि सक्दिनँ भन्ने चिन्ता पनि थियो। तर, उनले पहिलाको जस्तै गरी लगातार दुई घन्टाभन्दा बढी तीन दर्जन गीत गाए। उनलाई महिला आवाजमा मथुरा प्रधान  श्रेष्ठ  र भावना देवानको साथ मिलेको थियो।

पत्नीसहित कार्यक्रममा पुगेका उनले ‘मेरी मायालु’ बोलको गीत गाएर कार्यक्रम समापन गर्न खोजे पनि दर्शको हुटिङ र अनुरोधमा पुनः सोही गीता दोहोर्‍याएर गायक श्रेष्ठले कार्यक्रम समापन गरे। एलटिके फार्मका सञ्चालकद्वय देवेन लोहनी र सीता गुरुङले वरिष्ठ गायक श्रेष्ठको नयाँ जीवनलाई सेलिब्रेसन गर्न कार्यक्रम आयोजना गरिएको बताए।

एलटिकेका प्रवर्द्धक राजेश शर्माका अनुसार  चितवनसहित छिमेकी जिल्लाका एक हजारभन्दा बढी दर्शक/श्राेता दीप श्रेष्ठको कार्यक्रममा सहभागी हुन आएका थिए। करिब ११ बिघा क्षेत्रफलमा फैलिएको यस रिट्रिटले एक दशकदेखि चितवन आउने पर्यटकलाई सेवा दिँदै आएको छ। रिट्रिटले खेल र संस्कृतिसँग सम्बन्धित पर्यटन विकासमा पनि भूमिका निर्वाह गर्दै आएको छ।