सरकारले लिएको आयात निरुत्साहनको नीतिविपरीत फागुनमा पनि आयात बढेको छ । उच्च आयातका कारण मुलुकको भुक्तानी सन्तुलन ऋणात्मक बन्दै गएपछि सरकारले आयात निरुत्साहनको नीति लिएको हो । तर, निरुत्साहन गर्ने सरकारी नीतिविपरीत आयात साढे ३८ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा कुल १३ खर्ब आठ अर्ब ७३ करोड रुपैयाँबराबरको मालवस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.६४ प्रतिशतले बढी हो । गत वर्षको आठ महिनामा नेपालमा नौ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँबराबरका मालवस्तु आयात भएका थिए ।
अन्तर्राष्ट्रिय बजारमा सबैजसो कच्चा पदार्थ तथा तयारी वस्तुको मूल्य उच्चदरमा बढेको र त्यसको प्रभाव आयात मूल्यमा देखिएको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए । नेपालमै आर्थिक गतिविधि र उपभोग–खपत बढेका कारण पनि आयात उच्चदरमा बढेको उनको भनाइ छ । ‘आयातको परिमाण र मूल्य दुवै बढेको देखिन्छ,’ उनले भने, ‘खासगरी अन्तर्राष्ट्रिय बजारमा इन्धन, मेसिनरी तथा उपभोग्य वस्तुकै भाउ बढेको देखिन्छ, जसले आयात मूल्य बढी देखिन्छ, अर्कोतर्फ नेपालमै कोभिड संक्रमणपछि अहिले औद्योगिक प्रयोजन तथा व्यक्तिगत खपतका लागि आयात परिमाण उच्चदरमा बढेको देखिन्छ ।’
आयात निरुत्साहन नीतिको प्रभाव देखिएन
सरकारले आयातको उच्च वृद्धिलाई निरुत्साहित गर्न सुन आयातको कोटा घटाउने, कतिपय वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउने, एलसी खोलेर मात्रै आयात गर्नुपर्ने, आयातमा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्नेलगायत व्यवस्था गर्दै आएको छ । राष्ट्र बैंकले पहिलोपटक ५ पुसमा सूचना निकालेर मार्जिन राख्नुपर्ने वस्तुको सूची सार्वजनिक गरेको थियो । त्यसपछि पुनः सूचीमा थप वस्तु थप्दै २६ माघमा सूचना जारी गरेको थियो ।
जसअनुसार ४७ वटा वस्तुको आयातमा मार्जिन राख्नुपर्ने, यस्ता वस्तुहरूको आयात गर्दा अग्रिम भुक्तानी गर्न नपाइने र प्रतीतपत्र खोल्दा नै मार्जिन रकम जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो । यसबाट आयात घट्ने अनुमान गरिएको थियो । तर, फागुन महिनामा माघको तुलनामा १३ अर्ब १२ करोड रुपैयाँले आयात बढेको छ । नीति कार्यान्वयनमा आउनुअघि नै प्रक्रिया अघि बढेको आयात अहिले भइरहेका कारण आयात मूल्य बढी देखिएको प्रवक्ता खड्का बताउँछन् । ‘एलसी खोलेपछि ४०–४५ दिनदेखि ९० दिनसम्ममा मालवस्तु नेपाल आइपुग्छ,’ उनले भने, ‘पुस र माघमा गरिएको निरुत्साहनको नीतिले अब बिस्तारै काम गर्छ, चैतमा त्यसको प्रभाव बढी देखिनेछ ।’
नेपालको निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । भन्सार विभागका अनुसार आठ महिनामा नेपालले एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँबराबरको मालवस्तु निर्यात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८२.९० प्रतिशतले बढी हो । गएको वर्षको फागुन मसान्तसम्ममा ८० अर्ब ७७ करोड रुपैयाँबराबरको निर्यात भएको थियो ।
निर्यातमा सबैभन्दा बढी हिस्सा सोयाबिन, पाम र सूर्यमूखी तेलको देखिन्छ । यस अवधिमा करिब ८० अर्ब रुपैयाँबराबरको पाम, सोयाबिन र सूर्यमुखी आयलको निर्यात भएको विभागको तथ्यांकले देखाउँछ । आठ महिनामा नेपालको वैदेशिक व्यापार ४२.१३ प्रतिशतले बढेर १४ खर्ब ५६ अर्ब रुपैयाँबराबर पुगेको छ । नेपालको आयात र निर्यात दुवै उच्चदरमा बढेका कारण कुल व्यापारमा बढोत्तरी भएको हो । अघिल्लो वर्षको आठ महिनामा नेपालले १० खर्ब २४ अर्ब रुपैयाँबराबरको व्यापार गरेको थियो । यो आठ महिनामा नेपालले वैदेशिक व्यापारमा ११ खर्ब ६० अर्बको व्यापार घाटा व्यहोरेको छ ।
आयात मूल्य र परिमाण दुवै बढेको छ
पुण्यविक्रम खड्का,प्रवक्ता, भन्सार विभाग
नेपालमा सबैभन्दा बढी आयात हुने वस्तु इन्धन हो । अन्य तयारी तथा कच्चा वस्तुको भाउ पनि बढेको छ, जसको प्रभाव आयातमा देखिएकै छ । अर्को कुरा, नेपालमा आर्थिक तथा औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थको आयात पनि बढेको छ । खपत तथा उपभोग हुने तयारी वस्तुको आयात पनि उच्चदरमै बढेको छ । हामीले जुन–जुन वस्तुमा आयात निरुत्साहनको नीति लिएका छौँ, तिनको आयातमा खास बढेको देखिँदैन । अझ आयात निरुत्साहन नीतिको प्रभाव चैत महिनादेखि देखिनेवाला छ