१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ चैत ७ सोमबार १६:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेस आन्दोलनका नेता राजेशमान सिंह जसपा प्रवेश

Read Time : < 1 मिनेट
२०७८ चैत ७ सोमबार १६:५१:००

मधेस आन्दोलनका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। सोमबार वीरगन्जमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा नेता सिंह जसपा प्रवेश गरेका हुन्। उनलाई जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।

नेता सिंहलाई पार्टीमा प्रवेश गराउन जसपा सांसद प्रदीप यादवले पहिलो चरणको वार्ता वीरगन्जको कफीसपमा गरेका थिए। त्यसको भालिपल्ट मुख्यमन्त्री लालबाबु राउत, सांसद यादवसहितका नेताहरू सिंहको घरमा नै पुगेर अन्तिम टुंगो लगाएका थिए।

नेता सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले जाने तयारी गरेका थिए। तर, एमालेले आफूभन्दा पहिले नै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उनी असन्तुष्ट भएका थिए।

को हुन् नेता सिंह ?
०४३ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति सुरु गरेका नेता सिंह ०५४ सालमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय मधेस समाजवादी पार्टीको तर्फबाट संविधानसभा सदस्यमा उठेका उनी पराजित भएका थिए।

०७४ सालको स्थानीय तहको निर्वाचनमा राजपाबाट मेयरका लागि उम्मेदवारी दिएका नेता सिंह १२ हजार एक सय ६५ मतसहित तेस्रो भए। मेयरमा निर्वाचित तत्कालीन संघीय समाजवादी फोरमका सरावगीले १९ हजार तीन सय ९३ मत ल्याएका थिए।