१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ७ सोमबार
  • Saturday, 28 September, 2024
२o७८ चैत ७ सोमबार १३:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको आरोप– निर्वाचन आयोगले सत्तागठबन्धनसँग साँठगाँठ गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ७ सोमबार १३:२१:oo

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिह्नको रङसमेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। नेपाली कांग्रेसको निर्वाचन चिह्न रूख हरियो हुने भएकाले आयोगले उनीहरूसँगै परामर्श गरेर निर्वाचन चिह्न हरियो रङको बनाउने निर्णय गरेको आरोप लगाए।  

सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष ओलीले हरियो रङ रूखअनुकूल हुने गरी किन निर्वाचन चिह्नको रङ रोज्नुपरेको भनी निर्वाचन आयोगसँग प्रश्न गरे। उनले निर्वाचन आयोगसँग आफ्नो पार्टीका लागि रातो सूर्यअनुकूलको रङ राख्न पनि माग गरे। 

दलहरूसँग परामर्शसमेत नगरी निर्वाचन आयोगले सत्तारुढ गठबन्धनसँग भित्री साँठगाँठ गरेर निर्वाचनसम्बन्धी तयारीको कामलाई अघि बढाएको अध्यक्ष ओलीको आरोप थियो। उनले दलहरूको निर्वाचन चिह्नको रङ ब्लाक एन्ड ह्वाइट भएको भए मान्य हुने धारणा पनि राखे। 

निर्वाचन आयोगको क्रियाकलापले आगामी निर्वाचनमा भरतपुर काण्ड, सिराहा काण्ड दोहोरिन सक्ने भन्दै मतपेटिकाको सुरक्षा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। 

अध्यक्ष ओलीले दलहरूसँग परामर्श नगरी निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि अघि नबढाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए। उनले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर तीनवटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै सोहीअनुसारको तयारी गर्न पनि सिंगो पार्टीपंक्तिलाई आह्वान गरे।